महोत्तरी,  १९ भदौ/रासस
    कोभिड–१९ महामारी नियन्त्रण गर्न महोत्तरीका गाउँ/नगर बस्तीमा जडीबुटीको प्रयोग ह्वात्तै बढेको छ।
    विशेषगरी सामाजिक सञ्जालमा कोभिड–१९ विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउन बेसार, अदुवा, गुर्जाे, तुलसी, सिनकौली र पारिजातजस्ता वनस्पतीय जडीबुटी निकै प्रभावकारी हुने सन्देश बाक्लै देखिन थालेपछि पछिल्लो समय यहाँ त्यस्ता जडीबुटीको प्रयोग ह्वात्तै बढेको हो। यसबाहेक कोरोना सङ्क्रमण पुष्टि भएर दुर्ई साता होम आइसोलेशनको बसाइपछि निको भएर बाहिर आएकाहरूले पनि आफूहरू यिनै वनस्पतिको प्रयोगले कोरोना सङ्क्रमणलाई परास्त गर्न सफल भएको बताएपछि यी जडीबुटीको महत्व झनै चुलिएको छ।
    अहिले नेपाली काङग्रेसका महासमिति सदस्य तथा बर्दिवास नगरपालिका–१४ का बासिन्दा चिरञ्जीवी हमालको बिहान एक घण्टाको दैनिकी नै घरनजीकको बगैंचामा गुर्जाेको लहरा खोज्ने र सङ्कलन गर्नमा बित्छ। तुलसी, सिनकौली र पारिजातका पात सङ्कलन यसै अवधिमा गर्ने गरेको हमालले बताए। उनले भने, “बिहान नित्यक्रिया सक्ने बित्तिक्कै पानीमा उमालिएको गुर्जाेको रस एक गिलास खाएपछि घरभित्रका अन्य दैनिकीमा लाग्छौं।”
    बिहान/बेलुका गुर्जाेको रस एक/एक गिलास, दिनमा तीन/चार पटक तुलसी र पारिजातका पात तथा अदुवा र बेसार हालेर पकाएको पानी खाने दैनिकी नै बनिसकेको उनको भनाइ छ। गत असारदेखिको आफ्नो यो दैनिकीले उच्च रक्तचाप, मधुमेह र लगातार पेट कराइरहने समस्या हराएको हमालले बताए।
    जिल्लाकै भङ्गाहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतोले होम आइसोलेशनको बसाइका क्रममा गुर्जाेको तातो झोल, तुलसी, पारिजात, बेसार, अदुवा र सख्खर मिसाएर पकाइएको तातो पानी तथा दैनिक तीन/चार पटक हरियो पत्तीको चिया खाएरै उनले १५ दिनभित्र कोभिड–१९ लाई परास्त गरेको बताए। अहिले आफ्नो घरपरिवार र भेटेजति सबैलाई घरमैं बसेर यी वनस्पतीय जडीबुटी प्रयोग गर्न उनी सल्लाह दिन्छन्।
    जताततै यी वनस्पतिको प्रयोगबारे सकारात्मक चर्चा बढेपछि घरघरै यसको प्रयोग बढ्दो छ। पछिल्लो समय त जताततै हुर्केका रूख र झाडीहरूमा बाक्लै देखिने गुर्जाेको लहरा अब सङ्कलन गरेर दुर्ई/चार पैसा आर्जन गर्ने पनि भेटिन थालेका छन्। कोभिड–१९ सन्त्रासबीच यी वनस्पतिबारे जताततै सकारात्मक चासो बढेको छ। नेपालीको भान्सामा प्रयोग हुने मसलाहरू बेसार, अदुवा, सिनकौलीबारे शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोगी हुने कुरा राजनीतिक क्षेत्रका उपल्लो तहबाट व्यक्त हुनु, छिमेकी मुलुक भारतका प्रतिष्ठित अस्पतालहरूले पनि यी वनस्पतिको गुणबारे लगातार सामग्री पस्कनु र कोभिड–१९ सङ्क्रमण परास्त गरेकाहरूको अनुभवले यस्ता वनस्पतिको महत्व र चासो बढाएको छ।
    घरघरै मसलामा प्रयोग हुँदै आएका बेसार, मरिच, अदुवा, सिनकौली, जीरा, मेथी र ज्वानोजस्ता वनस्पतिको औषधीय गुणको प्रचार भएर प्रयोगसमेत बढ्नु स्वास्थ्य सचेतनाका दृष्टिले उत्तम मानिएको स्वास्थ्यकर्मीहरू बताउँछन्। योसँगै जटिलभन्दा जटिल रोगको उपचारमा आयुर्वेदले सुझाउँदै आएको गुर्जाे, पारिजात र तुलसीले कोभिड–१९ मात्र नभएर थुप्रै स्वास्थ्य समस्याबाट जोगाउन सकिने वरिष्ठ स्वास्थ्यकर्मी जयवीरलाल कर्णको भनाइ छ।
    पछिल्लो समय यी औषधीय गुणका वनस्पतिको प्रचार र प्रयोग बढेसँगै अब यसको व्यावसायिक खेती नै बढाउनुपर्ने आवश्यकतामाथि विज्ञहरूले जोड दिएका छन्। डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले यी र यस्ता औषधीय गुण भएका जडीबुटीको व्यावसायिक खेती गर्ने किसानलाई विशेष सहयोग गर्ने आफ्नो कार्यालयको नीति नै रहेको स्पष्ट पारे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here