पर्साका किसानहरू मर्कामा परेका छन्। यसपालि बेमौसममा परेको पानीले तरकारीखेतीलाई क्षति पु¥याएको छ। लकडाउनले तरकारीको मूल्य खस्केको बेला तरकारी किसानहरूलाई बेमौसमी पानीले मर्कामा पारेको हो। एकजना तरकारी कृषकले सामान्य अवस्था भएको भए अहिलेको मूल्यभन्दा दोब्बर मूल्यमा तरकारी बिक्री हुने बताए। अहिले रामतोरई, घिरौंला, बोडी, करैला, काँक्रो, खुर्सानीलगायतका तरकारीको मूल्य निकै घटेको छ।
१० देखि ३० रुपैयाँ किलोमा ती तरकारीहरू बिक्री गर्नुपरिरहेको कृषकहरूले बताए। पर्सा जिल्लामा सबैभन्दा बढी तरकारीखेती बहुदरमाई नगरपालिकामा हुन्छ। बहुदरमाई नपाको गम्हरिया, विश्रामपुर, भौराटार, पटनी तरकारीखेतीको उर्वर ठाउँ हो। यहाँ उत्पादित हरियो तरकारी जिल्लाका विभिन्न स्थानमा जाने गरेको छ। तर लकडाउनको कारण अधिकांश स्थानीय तहमा जानमा रोक लगाइएको, सवारीसाधन सञ्चालनमा अवरोधलगायतका समस्याले तरकारी किसानहरू मर्कामा परेका छन्।
एकजना किसानले अहिले हाटबजारमा तरकारी बिक्री गर्न रोक लगाइएको कारण झनै समस्या भएको बताए। आफ्नै गाउँटोलमा साइकल, मोटरसाइकलबाट तरकारी बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए। हाटबजार हुँदा एउटै व्यापारीले सबै तरकारी खरीद गर्ने र उनैबाट खुद्रा व्यापारीहरूले किन्ने गरेका थिए। तर अहिले तरकारी उत्पादन पनि गर्नुपर्ने र बिक्री पनि गर्नुपर्ने अवस्था भएकोले थप समस्या झेलिरहेको किसानहरूले बताएका छन्। समस्याका बावजूद लगानी अनुसारको आम्दानी नभएको उनीहरूले गुनासो गरे। लगानी पनि निस्किने सम्भावना नरहेको एकजना किसानले बताएका छन्। प्रतिकट्ठा जग्गामा खनजोत, बीउबिजनलगायतमा कम्तीमा रु २० हजार खर्च हुने तर लगानी अनुसार तरकारीखेतीबाट आम्दानी नभएको उनले बताए। आफूले लगाएको हरियो तरकारी वैशाखको सुरुआतदेखि असार मसान्तसम्म बिक्री हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here