माधव तिमल्सिना, ठोरी, १२ जेठ/
आइतवार राति भारतको सीमावर्ती गाउँबाट ठोरी प्रवेश गरेका ठोरीवासीहरूलाई ठोरी गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ।
गत जेठ १० गते शनिवार ३ दिनको कष्टकर यात्रापछि ठोरीसँग सिमाना जोडिएको भिखनाठोरी आइपुगेका उनीहरूलाई भारतीय पक्षले धमौरास्थित एक विद्यालयको क्वारेन्टाइनमा राखेको थियो। धमौरास्थित क्वारेन्टाइनमा सामाजिक दूरी कायम गरेर नराखेको, शौचालयको समस्या भएको, सुत्न समस्या भएकोलगायतका समस्याहरू भोग्नुपरेपछि उनीहरू राति भागेर नेपाल प्रवेश गरेका थिए।
एउटै क्वारेन्टाइनमा करीब ३ सयभन्दा धेरै मानिस रहेको र सामाजिक दूरी कायम नहँुदा सङ्क्रमणको जोखिम झनै बढ्ने हुँदा बाध्य भएर नेपाल प्रवेश गरेको उनीहरूको भनाइ छ।
धमौराबाट ठोरी आएका ५ जनामध्ये ३ जनालाई वडा नं ४ को ज्ञानज्योति माविको क्वारेन्टाइनमा र २ जनालाई वडा नं ३ को रामनगरस्थित गृष्म आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ। जुन वडामा स्थायी घर छ, त्यही वडाको क्वारेन्टाइनमा राख्ने गापाको निर्णय अनुसार उनीहरूलाई राखिएको ठोरी–३ का अध्यक्ष सूर्यबहादुर लामाले बताए।
क्वारेन्टाइनमा राखिएका सबैलाई गाउँपालिकाले खाना र बसोबासको व्यवस्था गर्ने र वडा कार्यालयले व्यवस्थापनको जिम्मा लिने वडाध्यक्ष लामाले बताए।
कृष्णनगर आइपुगेका युवक अलपत्र
आइतवार राति करीब १ बजे कपिलवस्तुको कृष्णनगर आइपुगेका ठोरी–४ का एक युवक अलपत्र परेका छन्।
भारतको चेन्नईको एक होटेलमा काम गर्दै आइरहेका उनी प्युठानका आफ्ना सहकर्मीहरूसँगै ४ दिनको बसयात्रा गरेर कपिलवस्तुको कृष्णनगर आइपुगेका थिए। प्युठानका सबै सहकर्मीलाई उनीहरूको स्थानीय तहले उद्धार गरेको तर आफूलाई कसैले पनि सहयोग नगर्दा बिचल्ली भएको भन्दै उनले प्रतीकसँग दुःखेसो पोखे।
खानसमेत नपाएको र टन्टलापुर घाममा समेत चौरमा बसेर दिन काट्नुपरेको उनले बताए। आफूले साथमा ल्याएको केही पकेट चाउचाउ खाएर भोक मेटिरहेको भन्दै युवकले उद्धारका लागि सहयोगको याचना गरेका छन्। एक्लै चौरमा बसिरहेका उनी रोगले भन्दा पनि भोकले मर्ने हो कि भन्ने चिन्ता लागेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here