उमाशङ्कर द्विवेदी
मेरा भुजाहरूले जसको रक्षा गर्दछ, त्यसमाथि देउताहरूको पनि जोड चल्दैन। म यस्तो व्यूह रचना गर्नेछु, जहाँ अर्जुन छिर्नै सक्दैन। त्यसैले न तर्स, उत्साहले युद्ध गर। तिमी जस्तो वीरलाई त मृत्युको भय हुनु नै हुँदैन, किनकि तपस्वीहरूले तप गरेर जुन लोक प्राप्त गर्दछन्, क्षत्रिय धर्मको आश्रय लिने वीर पुरुषले त्यसलाई अनायास नै प्राप्त गरिहाल्दछ। यस प्रकार आश्वासन पाएपछि जयद्रथको भय हरायो र उसले युद्ध गर्ने विचार ग–यो। त्यति बेला तपाईंको सेनामाझ पनि हर्ष–ध्वनि हुन थाल्यो।
अर्जुनले जयद्रथको वध गर्ने प्रतिज्ञा गरेपछि भगवान् श्रीकृष्णले अर्जुनसित भने– धनञ्जय, तिमीले न त भाइहरूसित सम्मति लियौ, न मसित नै सल्लाह गरेर नै मानिसहरूलाई सुनाएर जयद्रथलाई मार्ने प्रतिज्ञा गरिहाल्यौ–यो तिम्रो दुस्साहस हो, यसबाट मान्छेहरूले हाम्रो उपहास गर्नेछन्। मैले कौरवहरूको छाउनीमा आफ्नो गुप्तचरहरूलाई पठाएको थिए। उनीहरू फर्केर त्यहाँको सबै समाचार बताएका छन्। तिमीले सिन्धुराज जयद्रथको वध गर्ने प्रतिज्ञा गर्ने बित्तिकै यहाँ रणभेरी बजेको तथा सिंहनाद गरिएको थियो। त्यसको तुमुल आवाज कौरवहरूले सुनेका थिए, उनीहरूले तिम्रो प्रतिज्ञाबारेमा थाहा पाइसकेका थिए। यसबाट दुर्योधनका मन्त्रीहरू उदास तथा भयभीत भइहालेका थिए। जयद्रथ पनि अत्यन्त दुःखी भएर राजसभामा गई दुर्योधनसित भनेको थियो– राजन्, अर्जुनले मलाई नै आफ्नो पुत्रको घातक ठानेको छ, त्यसै कारण उसले सेनाको माझमा उभिएर मलाई मार्ने प्रतिज्ञा गरेको छ। यो सव्यसाचीको प्रतिज्ञा हो, यसलाई देउता, गन्धर्व, असुर, नाग र राक्षसहरूले पनि अन्यथा गर्न सक्दैनन्। तिम्रो सेनामा मैले कुनै पनि यस्तो योद्धा देख्दिनँ, जसले महायुद्धमा आफ्नो अस्त्रबाट अर्जुनका अस्त्रहरूको निवारण गर्न सकोस्। मलाई त यस्तो विश्वास छ कि श्रीकृष्णको सहायता पाएर अर्जुनले देउताहरूसहित तीनै लोकलाई नष्ट पार्न सक्दछ। त्यसैले म यहाँबाट गइहाल्ने आज्ञा चाहन्छु, अथवा यदि तिमीलाई राम्रो लाग्दछ भने अश्वत्थामा र द्रोणाचार्यबाट मेरो रक्षाको आश्वासन दिलाऊ। जयद्रथको कुरा सुनेर दुर्योधन स्वयम् गएर द्रोणाचार्यसित अनेक विधि प्रार्थना ग–यो। जयद्रथको रक्षा गर्नको लागि सम्पूर्ण प्रबन्ध गरिसकिएको छ, रथहरूलाई सुसज्जित पारिएको छ। भोलिको युद्धमा कर्ण, भूरिश्रवा, अश्वत्थामा, वृषसेन, कृपाचार्य र शल्य–यी छजना महारथी अग्रपङ्क्तिमा रहनेछन्। द्रोणाचार्यले एउटा यस्तो व्यूह बनाएका छन्, जसको आधा भाग शकटको आकारको छ तथा पछिल्लो आधा भाग कमलको आकारको छ। कमल व्यूहको कर्णिकाको बीच सूची–व्यूहको छेउमा जयद्रथ रहनेछ र बाँकीका वीरहरूले चारैतिरबाट उसको रक्षा गर्नेछन्।
यी माथि भनिएका छजनै महारथी धनुष, बाण, पराक्रम र शारीरिक बलमा दुस्सह छन्। यिनीहरूमध्ये एक/एकको पराक्रमको विचार गर। यिनीहरू एकसाथ युद्धमा डटेपछि यिनीहरूलाई जित्न सहज हुनेछैन। अब आफ्नो हितको बारेमा विचार गरेर कार्यसिद्धि गर्नको लागि म राजनीतिज्ञ, मन्त्रीहरू र हितैषीहरूसित सल्लाह गर्नेछु।
अर्जुनले भने– मधुसूदन, कौरवहरूको जुन महारथीहरूलाई तपाईंले बलमा अधिक मान्दै हुनुहुन्छ, उनीहरूको पराक्रम म आफ्नो पराक्रमभन्दा आधा पनि रहेको ठान्दिनँ। साध्य, रुद्र, वसु, अश्विनीकुमार, इन्द्र, वायु, विश्वेदेव, गन्धर्व, पितर, गरुड, समुद्र, यो पृथ्वी, दिशाहरू, दिक्पाल, गाउँका मानिसहरू, जङ्गली जनावरहरू तथा सम्पूर्ण चराचर प्राणी सिन्धुराज जयद्रथको रक्षाको लागि आइलागे म सत्य र आयुधहरूको शपथ लिएर भन्दैछु कि भोलि तपाईंले जयद्रथलाई मेरो बाणबाट मृत्यु भएको हेर्नुहुनेछ। मैले यम, कुबेर, वरुण, इन्द्र र रुद्रबाट जुन भयङ्कर अस्त्र प्राप्त गरेको छु, तिनीहरूको वेगलाई भोलि मानिसहरूले युद्धभूमिमा हेर्नेछन्। जयद्रथका रक्षकहरूले युद्धभूमिमा जुन जुन अस्त्रहरू हान्नेछन्, तिनीहरूलाई म ब्रह्मास्त्रबाट काटी खसाल्नेछु। केशव, भोलि यस पृथ्वीमाथि मेरा बाणहरूबाट काटिएका राजाहरूको टाउको सोत्तर हुनेछन्, जसलाई तपाईंले पनि हेर्नु नै हुनेछ। ऋषिकेश, गाण्डीव जस्तो दिव्य धनुष मसँग छ, म योद्धा हुँ र तपाईं सारथि हुनुहुन्छ, यतिका भएर पनि म कसलाई जित्न सक्दिनँ त ? भगवन्, तपाईंको कृपाले यस युद्धमा मेरोलागि के नै दुर्लभ छ र ? तपाईंलाई थाहै छ मेरो वेग यस युद्धभूमिमा कसैले पनि सहन गर्न सक्दैन र पनि मलाई किन लज्जित पारिरहनुभएको छ ? ब्राह्मणमा सत्य, साधुहरूमा नम्रता र यज्ञमा लक्ष्मीको हुनु जसरी निश्चित छ, त्यसै प्रकार जहाँ नारायण छन्, त्यहाँ विजय पनि निश्चित छ। भोलि बिहान हुँदैमा मेरो रथ तयार रहोस्, यस प्रकारको प्रबन्ध मिलाउनुहोस्, किनभने हामीमाथि ठूलो काम आइपरेको छ। क्रमशः…