राजेश मिश्र
राम खेले होरी, लक्षुमन खेले होरी,
लङ्गा में राजा, रावण खेले होरी,
फागु पर्वको प्रसिद्ध लोकगीतहरू थुप्रै छन्। जसमध्ये उपरोक्त गीत उनलाई असाध्यै मनपर्छ। उपरोक्त लोकगीतले राम–लक्ष्मण तथा लङ्काधिपति रावणले होली खेलेको प्रसङ्ग व्यक्त गर्दछ। अर्थात् अयोध्यादेखि लङ्कासम्म फागु पर्व मनाइन्थ्यो भन्ने कुरा ज्ञात हुन्छ। उपरोक्त लोकगीत पौराणिककालदेखि नै अस्तित्वमा आएको मान्यता छ। फागु पर्वलाई देहातमा होली, होरी, फगुवा आदि भनिन्छ।
‘फगुवा कहिया बा (होली कहिले हो ?) ?’ जनमानस जान्न आतुर रहन्छ। देहातीजन गाउँका पुरोहितसँग सोध्दछन्। परदेशीजन घरमा फोन गरेर बाआमासँग सोध्छन्। दिन यकीन भइसकेपछि हर्ष यति हुन्छ कि घर जाने मनोकाङ्क्षा तीव्र हुन्छ। उल्टोक्रममा दिन गिन्ती शुरू गर्न थाल्छन्। फागुन मासमा मौसम शान्तिप्रिय महसूस हुन्छ। खेतमा लहलहाउँदो अन्नका बालाहरूले आफूतिर आकर्षित गरिरहेको आभास हुन्छ। नयाँ लताले वृक्षहरू सुशोभित हुन्छन्। ह्दयमा तीक्ष्ण खुशीको भाव उत्पन्न हुन्छ। रङ्गोत्सवको पावन अवसरमा मन प्रफुल्लित हुन्छ।
पर्साको पोखरिया–४ का उनी हुन् मदन मिश्र। ७० वर्षीय अवकाशप्राप्त शिक्षक उनी स्तम्भकारका बुबा हुन्। फागु पर्वको अवसरमा विगतका देहाती माहोल, परदेशीजनहरूको घर आगमन, देहातको संस्कार र संस्कृतिलगायतका विषयवस्तुबारे गरिएको संवादको संक्षिप्त अंश प्रस्तुत छ।विगतमा गाउँ सानो थियो। सीमित घरधुरी थिए। गाउँमा अपवादबाहेक फुस र खपडाको घर मात्र थियो। गाउँमा घरहरू एकापसमा टाँसिएका हुन्छन्। कसको घरको को, कहाँ र के काम गर्दछ ? को र कहाँका पाहुना आएका छन् ? के पाकिरहेको छ ? भन्ने कुराहरू एकअर्कालाई थाहा हुनु नै गाउँको विशेषता हो। विगतमा शिक्षा र रोजगारको लागि अन्यत्र जानेको सङ्ख्या अति न्यून थियो। त्यति बेला काम वा पढाइको सिलसिलामा परदेश जानु आजको जस्तो सहज थिएन। धेरै कठिन थियो। जो जान्थे, उनीहरूलाई आश्चर्यजनक दृष्टिले हेरिन्थ्यो। गाउँमा खूब वाहवाही हुन्थ्यो। पर्वको बेला घरपरिवारको आँखा ‘सरेह’तर्फ हुन्थ्यो। आँखाले सन्तानको आगमनलाई पर्खिरहेको हुन्थ्यो।
वृद्ध ः बबुवा, देख ब, हउ के आवता (बाबु, हेर त, को आइरहेको छ) ?
युवक ः के जाने, काहाँ चिन्हाता जे, के ह (खोई, चिन्न सकिन्न, को हो) ?
वृद्धः जवान आँख से भी नैइखे चिन्हात (युवा आँखाले पनि चिन्न सकिरहेको छैनौ) ?
युवकः नइखीं देखत, होदे केतना दूर सरेह में ऊ बाँड्न (देख्नुभएन, ऊ कति टाढा खेतमा छन्)।
वृद्धः जो ना दउर के, देख ना, बुझाता हमर नतिया ह, कह के गइल रहे होली में आएम (जाऊ न दौडेर, हेर न, लाग्छ मेरो नाति होला, भनेर गएको थियो कि फागु पर्वमा आउँछु)।
खेतको आली हुँदै घर आउने मानिसलाई नियालेर हेरिन्थ्यो। टाढा भएपनि चिन्ने प्रयास गरिन्थ्यो। कालान्तरमा खेतका आलीहरू आवागमनको लागि प्रयोग गरिन्थ्यो। उनले भने, “एक गाउँदेखि अर्को गाउँ जानुपर्दा ‘खुडपेडिया’ बाटो अर्थात् खेतको आली नै माध्यम थियोे। किनभने पैदल जानुपर्दा जति दूरी कम हुन्थ्यो त्यति नै कम समय र श्रम लाग्थ्यो।”
वीरगंजमा ओर्लेपछि गाउँको यात्रा पैदल जानुको विकल्प थिएन। पर्साको वीरगंजस्थित चिनी कारखानाको सिजनमा ट्यक्टरको सवारी गर्न पाइन्थ्यो। केही महीना मात्र भएपनि आवागमन सहज हुन्थ्यो। मधेसको भौगोलिक अवस्था समतल भएपनि सुविधाको सवालमा गाउँहरू शहरदेखि अति सुदूर नै थियो भन्नुपर्छ। सडक, सवारी र सञ्चार विहीन देहाती जीवन स्वभरोसामा बाँचिरहेको थियो।
एक प्रसण्ंमा उनले भने, “आजको जस्तो सञ्चारको सुविधा थिएन। पर्वमा घर आउँदै छु भन्दै परिवारलाई सूचित गर्ने द्रुत र विविध प्रविधि थिएन। एकमात्र साधन उपलब्ध थियो, हुलाक सेवा।” प्रेषकले चिठी पठाएको महीनौंपछि प्रापकले पाउँथ्यो। यस्तोमा ताजा सामाचार बासी बन्न पुग्थ्यो। यद्यपि पत्र ढिलै प्राप्त भएपनि त्यो क्षण अत्यन्तै खुशीको हुन्थ्यो। कतिपय बेला प्रेषक नै प्रापक बन्न पुग्थ्यो। परदेशबाट चिठी पठाउने व्यक्ति महीनौंपछि घर आउँदा चिठी आफ्नै हातमा परेका कुराहरू आजको पुस्तालाई आश्चर्यजनक लाग्न सक्छ। त्यसैले पर्व त्योहारहरूमा परदेशीजनहरू घर नआइपुग्दासम्म आउने/नआउनेबारे अग्रिम जानकारी पाउन मुश्किल थियो। विगतमा फागु पर्वको अवसरमा हप्तौंअघिदेखि परदेशीजनहरूको गाउँ आगमन शुरू हुन्थ्यो।
पिठयूँमा झोला बोकेको मानिस खेतको आली हुँदै गाउँ पस्थे। गाउँ पसे पनि नजीकैको घर पुग्न घण्टौं लाग्थ्यो। तपाईंलाई लाग्दो होला, किन ? ट्राफिक जामको कारण कदापि होइन। संस्कार र संस्कृतिको कारण घर पुग्न ढिलो हुन्थ्यो। आफन्तजन, श्रेष्ठजन र साथीसङ्गीहरूसँग हालखबर सोध्दै र सुनाउँदै घर पुग्न ढिलो हुन्थ्यो। गाउँको हावापानी मात्र शुद्ध र सफा हुँदैन थियो। अपितु देहातजीवन नैतिकता, संस्कार र संस्कृतिले पनि भरिपूर्ण थियो। अहिले अशुद्ध हावापानीसँगै देहातका मूलभूत संस्कारहरू विस्थापित हुने क्रमले चिन्ता बढ्नु अस्वाभाविक होइन।
यता परदेशीजन गफिइरहन्थे। उता उसको घरमा खबर पुगिसकेको हुन्थ्यो। घरमा खबर पु–याउने को हुन्थ्यो ? यसको उत्तर सजिलो छ, ससाना केटाकेटीहरू। गाउँमा कोही आएको देख्ने बित्तिकै हस्याङ–फस्याङ गर्दै केटाकेटीहरू दौडी हाल्थे। स्याँ–स्याँ गर्दै परदेशीको घरमा पुग्थे र भन्थे, “काकी हो, काका आ गइलन (काकी, काका हजुर आउनुभयो)।” बच्चाहरूले घरमा खबर दिंदै आफू पहिलो भएको स्वघोषणा गर्नसमेत भ्याउँथे। बच्चाहरूमा पहिलो हुने होडबाजी किन हुने गर्दथ्यो ? किनभने, जो बच्चा खबर पु–याउने कार्यमा पहिलो हुन्थ्यो, उसले परदेशीबाट चकलेट/बिस्कुट आदि पाउँथ्यो। गर्व त हुन्थ्यो नै। यसो त अघिपछि रहेका सबै बच्चाले केही न केही अवश्य पाउँथे।
फागुपर्वको लागि पूर्वतैयारी गर्नुपर्छ। फागु पर्वको पूर्वसन्ध्यामा हुने होलिका दहनको लागि दाउरा, गोबरको गुइँठा, खर र पूजन सामग्री अग्रिम प्रबन्ध गर्नुपर्छ। त्यस्तै, भोलिपल्ट होली खेल्नको लागि रङ्ग, अबिर, पिचकारी र खाद्य सामग्री आदि चाहिन्छ। शाकाहारीहरूबाहेक फागु पर्वमा मांसाहारी भोजन भक्ष्य हुनाले शुद्धाशुद्धी अनिवार्य आवश्यकतामा पर्दैन। हिन्दूहरूको यही एकमात्र पर्व हो, जसमा मांस–मदिरा वर्जित छैन। आफूलाई मनपर्ने भोज्य पदार्थ खान पाइन्छ।
विगतमा मानिसको जनसङ्ख्या कम थियो। ससाना गाउँहरू थिए। नोकरी, पढाइ र ज्याला मजदूरीलगायतका सवालमा प्रवासनमा जानेहरूको सङ्ख्या यति विघ्न थिएन। झन्डै पाँच दशकअघिको तुलनामा अहिलेको जनघनत्व आश्चर्यलाग्दोे छ। बढ्दोे छ। परिवार सङ्ख्या बढ्दा घर सङ्ख्या थपिंदो छ। गाउँको आकार बढ्दो छ। विगतका खेतहरू अहिले गाउँमा परिणत हुन थालेका छन्। गाउँमा रोजगार छैन। ठाउँमा काम पाइँदैन। व्यवसाय छैन। अवसर छैन। आधुनिक प्रणालीको उच्चतम शिक्षा पायक छैन। त्यसैले अहिले शिक्षा, नोकरी र मजदूरीको सवालमा पलायन हुने क्रम बढ्दो छ। जुन क्रममा जनसङ्ख्या बाहिरिंदै छ, फर्किने क्रम पनि सोही अनुपातमा छ। पर्व त्योहारको कारण पारिवारिक जमघट सम्भव हुने गर्दछ।
फागु पर्व बहुआयामी पर्व हो। यसले समाजबाट विभाजक भावना विलुप्त भई सौहार्दपूर्ण वातावरण कायम होस् भन्ने सन्देश दिन्छ। यो पर्व खेती–किसानीसँग पनि जोडिएको पाइन्छ। त्यसैले होलिका दहनको आगोमा गहुँको बाला भुट्ने परम्परा सदियौंदेखि निरन्तर छ। मानवजीवनमा रङ्गको धेरै महत्व छ। फागु पर्वको मूल मर्मलाई आत्मसात् गर्नुपर्दछ। पर्व आत्मीय र सुसंस्कृत भावनासहित मनाउनुपर्दछ। संस्कृतिलाई जोगाउनु नितान्त आवश्यक छ।