राधेश्याम पटेल, परवानीपुर, ७ फागुन/
पर्सा–बारासम्म फैलिएको गण्डक नहरको सर्भिस लेनमा दुई लेनको कालोपत्रे सडक निर्माणको काममा ठेकेदार कम्पनीले चरम लापरवाही गरेको छ। आयोजना सकाउन २४ महीनाको समयावधि तोकिए पनि सो समयावधि बितिसक्दा पनि एकदमै थोरै काम भएको छ। दुई वर्षमा ठेकेदार कम्पनी दिवा निर्माण सेवा काठमाडौंले जम्मा २३ प्रतिशत भौतिक प्रगति गरेको बताइएको छ।
सडक विभाग अन्तर्गत सडक सुधार तथा विकास आयोजना (आरआइडिपी) अन्तर्गत भारत सरकारको रु १ अर्ब ३ करोडको ऋण सहयोगमा निर्माण भइरहेको उक्त सडकको लम्बाइ ६२ किलोमिटर छ। सो सडकखण्डको पर्सामा २६ किलोमिटर र बारामा ३६ किलोमिटर सडक परेको छ। गण्डक नहरको सर्भिस लेनको सडक कटान गरेर खेत बनाएको र नहर मर्मतको लागि बनाइएको सडकमा सवारीसाधन गुड्न थालेपछि नारायणी सिंचाइलाई नहरको दक्षिणी तटबन्ध जोगाउन समस्या भएको थियो। सर्भिस लेनमा कालोपत्रे भयो भने दुई जिल्लाबीच आवतजावत पनि सहज हुने र नहरको तटबन्ध पनि जोगिने सरकारको भनाइ छ।
पर्साको इनर्वा (जानकीटोला)देखि बाराको पूर्वी सिमाना अरुवा खोलासम्म ७ मिटर चौडाइको दुई लेनको कालोपत्रे (डिबिएसटी) सडक निर्माण भइरहेको छ। सडक निर्माणमा आयोजना कार्यालयको नियमनको कमी तथा ठेकेदारको सुस्त गतिको काम गराइले सडक निर्माणमा ढिलाइ भइरहेको छ। गाउँलेहरूले सडक निर्माणको काम एकदमै सुस्त भएको र ठेकेदारले लापरवाही गरिरहेको बताएका छन्।
२०१९ जनवरीमा ठेक्का सम्झौता भई सोही वर्ष फरवरीमा काम शुरू भएको र अन्तिम म्याद २०२१ फरवरी मसान्तसम्म रहेकोमा काम हुन नसक्दा ठेकेदार पक्ष्Fले म्याद थपका लागि सडक विभागको आयोजना कार्यालयमा निवेदन दिएको थियो। कोरोना महामारीलाई ध्यानमा राख्दै आयोजना कार्यालयले थप ६ महीना अवधि थपेको छ। तर उक्त अवधिमा काम सम्पन्न नहुने छाँटकाँट देखिएको छ। ठेकेदार कम्पनी दिवा निर्माण सेवा प्रालि काठमाडौंका सञ्चालक उत्तम उप्रेतीले कोरोनाको कारण काम प्रभावित भएकोले अहिले काम तीव्र गतिमा भइरहेको बताए। दिवा निर्माण सेवाले आन्तरिकरूपमा सर्लाही धनकौलको रवि कन्स्ट्रक्शनलाई पेटी कन्ट्रयाक्टमा काम दिएर पनि काममा ढिलाइ भएको सडक विभागको आयोजना कार्यालयका एक इन्जिनीयरले बताए।
यो आयोजनाको परामर्शदाता सिल्ट म्याटेरियल टेस्ट जेभी नेपाल हो। भारतीय ऋण अनुदानमा भारतको एक्सिस बैंकको लगानी गरेको बताइएको छ। यसको भुक्तानी पनि भारतीय एक्सिस बैंकबाट नै हुने गरेको छ।
२२ वटा पुल नबने सडकको काम छैन
पर्सा–बारासम्म फैलिएको गण्डक नहरको ६२ किलोमिटर लम्बाइसम्मको सडकखण्डमा करीब २२ वटा पुल जीर्ण अवस्थामा पुगेका छन्। ठेकेदारले सडक बनाएपनि पुल निर्माण नभए उक्त एक अर्बको सडकको काम निष्प्रभावी हुने बताइएको छ।
गाउँलेहरूका अनुसार साना/ठूला गरी २२ वटा जीर्ण पुलको बारेमा सिंचाइ मन्त्रालय वा नेपाल सरकार उदासीन भएकोले उक्त पुल मर्मतसम्भार वा नयाँ निर्माणको बारेमा पनि भारत सरकारसँग छलफल गर्नुपर्छ। तर सरकारले सडक कालोपत्रेको आयोजना ल्याए पनि पुल निर्माणको योजना पनि अति आवश्यक भएको गाउँलेहरू बताउँछन्। २२ वटा पुलमध्ये करीब आधा दर्जन पुलबाट सवारीसाधन ओहोरदोहोर गर्दा हल्लिने गरेको र केही पुलको स्ल्याब पनि भासिएकोले कुन बेला पुल क्षतिग्रस्त हुने हो भन्नेबारेमा स्थानीयवासी चिन्तित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here