प्रस, परवानीपुर, ४ फागुन/
नेपाल जडीबुटीमा धनी भए तापनि नेपालमा आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगको लगानी धरापमा पर्दै गएको छ।
आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगीहरूका अनुसार नेपालकै जडीबुटी प्रशोधन गरेर गुणस्तरीय औषधि उत्पादन तथा बिक्री वितरणका लागि सरकारले वातावरण नबनाएकोले करीब १० अर्ब रुपैयाँभन्दा बढीको लगानी धरापमा परेको उद्योगीहरूको भनाइ छ।
पर्साको पोखरिया–८ गर्दौलमा सञ्चालित सीता आयुर्वेद प्रालिका प्रबन्ध निर्देशक सञ्जीव रायले नेपालमा ६० भन्दा बढी आयुर्वेदिक उद्योग सञ्चालनमा रहे तापनि सरकारले राजस्व मात्र लिएको तर आयुर्वेदिक औषधि उत्पादन, बिक्री वितरण तथा उद्योगी–व्यवसायीको समस्याबारेमा सम्बोधन गर्न नसकेको उनले गुनासो गरे।
उनका अनुसार वीरगंज, विराटनगर, भरतपुर, हेटौंडा, काठमाडौं, भैरहवालगायतका ठाउँमा आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगहरू सञ्चालित छन्।
कोरोनाकालमा आयुर्वेदिक औषधिप्रति सर्वसाधारणको ध्यान तानिएको तर सरकारले हालसम्म उद्योग फस्टाउनको लागि नीति अगाडि नबढाएको उनले आरोप लगाए।
आयुर्वेदिक औषधि उद्योगहरूको समस्यामध्ये एलोपेथिक चिकित्सकहरूले आयुर्वेदिक औषधिलाई रोग निको पार्ने औषधिको दर्जा नदिनु हो भने नेपाल सरकारले आयुर्वेदिक औषधि अनुसन्धान केन्द्र स्थापना गरे तापनि कुनै प्रकारको अनुसन्धान नगरेको आरोप छ।
सरकारले नेपालमा आयुर्वेदिक बिफर्मा अध्ययनको लागि पनि पर्याप्त मात्रामा कलेज नखोल्दा दक्ष जनशक्तिको अभाव छ भने भारतबाट पढेर आएका आयुर्वेदिक बि फर्मासिस्टहरूको लागि नेपालको काउन्सिलमा दर्ता गरी काम गर्ने वातावरण बनोस् भनेर मेडिकल काउन्सिलजस्तै आयुर्वेदिक काउन्सिल नरहेको उद्योगीहरूको भनाइ छ।
नेपालको जडीबुटी नेपाली उद्योगीहरूले सहजरूपमा प्राप्त गर्ने वातावरण नरहेको तर त्यही औषधिको कच्चा पदार्थ भारत तथा तेस्रो मुलुकबाट महँगो मूल्यमा खरीद गरी औषधि उत्पादन गर्नुपर्ने समस्याका कारण औषधि उद्योगतर्फ लगानीकर्ताको पनि विश्वास घट्दै गएको र लगानी भविष्यमा डुब्ने चिन्ता पनि बढ्दै गएको बताइएको छ।
नेपालमा भास्कर, गोर्खा, ग्रेस, सिंहदरबार वैद्यखाना जस्ता दर्जनौं आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्योगहरू सञ्चालित छन्।