सिराहाका होटल तथा रेस्टुरेन्टहरूमा खाद्य प्रविधि तथा गुणस्तर मापन कार्यालयले अनुगमन शुरू गरेको छ। अनुगमनको क्रममा अङ्क दिने र सोही आधारमा स्तरोन्नतिको स्टिकर पनि टाँस गरिंदै छ। मुख्यतः सरसफाइ, खाद्य स्वच्छता र स्वस्थता एवं भान्साघर सरसफाइको आधारमा मूल्याङ्कन गरिन्छ। कुल पूर्णाङ्ग १०० मा सम्बन्धित होटल तथा रेस्टुरेन्टले हासिल गर्ने अङ्कको आधारमा क, ख, ग र घ गरी चारवटा वर्ग तथा स्तर निर्धारण गरिएको छ। ५० अङ्कभन्दा माथि अङ्क हासिल गर्नेलाई पास भएको मानिन्छ। ५० अङ्कभन्दा कम अङ्क हासिल गरेमा असफल मानिने हुँदा त्यस्ता होटल, रेस्टुरेन्टलाई सुधारको लागि ६ महीनाको समय दिने र दिएको समयसम्म सुधार नभए स्तरोन्नतिका लागि दिइएको लोगो खोसिनुका साथै थप कारबाई गरिनेछ।
होटल तथा रेस्टुरेन्टको सम्पर्कमा नपुग्ने व्यक्ति कमै हुन्छन्। सम्पन्न व्यक्तिहरू खर्चिलो होटल तथा रेस्टुराँमा पुग्छन् भने अन्य वर्गकाहरू आफ्नो हैसियत अनुसारको स्थानमा पुगिरहेका हुन्छन्। बिहानैको तातो चिया पाउने स्थान होस वा साँझको रमझम, त्यो पनि कुनै न कुनै प्रकारका होटल, रेस्टुरेन्ट नै हुन्। घर बाहिर काम गर्नेहरूको कतिपयको खाजा, नास्ता र खानासमेत होटलमा हुन्छ। दिनहुँ सवारीसाधनमा यात्रा गर्ने यात्रुहरू होटलबाट विमुख हुन सक्दैनन्। यसरी अधिकांश मानवको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको होटल, रेस्टुरेन्टको स्वच्छता एवं स्वस्थताप्रति भने सम्बन्धित र सरोकारवालाहरूको ध्यान गएको हुँदैन। अस्वस्थ, मिसावटयुक्त, उपभोग्य अवधि समाप्त भइसकेका र दूषित खाद्य पदार्थको उपयोग उपभोक्ताका लागि विष सरह हो। त्यस्ता खाद्यवस्तुले तत्काललाई पेट भरिए वा तृप्ति जस्तो लागे पनि शरीरलाई भने पोषण दिनुपर्नेमा विष दिइरहेको र नोक्सान पु–याइरहेको हुन्छ। अतः उपभोक्ताहरू आफ्नो पैसा खर्च गरेर आफ्नै स्वास्थ्यका लागि हानिकारक पदार्थ खरीद गरिरहेका हुन्छन्। कुनै पनि मुलुकमा नागरिक स्वास्थ्यको जिम्मेवार त्यहाँको सरकार हो। अमेरिकालगायतका सचेत मुलुकमा खाद्यवस्तुमा पौष्टिकताको अनुपात राज्यले निर्धारण गरेभन्दा एक अंश पनि तल–माथि प–यो भने कारबाईको भागीदार ठहर्छ। त्यसैले त सरकारले जारी गर्ने हरेक स्वास्थ्य सूचना त्यहाँका नागरिकले अक्षरसः पालन गरिरहेका हुन्छन्। हाम्रो मुलुकको सरकार अहिलेसम्म यस मामिलामा कहिल्यै जवाफदेही भएन। सरकार गैरजिम्मेवार छ नै, यहाँका उपभोक्ता पनि अचेत र लापरवाह छ।
सिराहामा शुरू गरिएको अभियानले केही नगरे पनि होटल सञ्चालक र उपभोक्तामा चेतना जगाउन सघाउ पुग्छ। थरीथरीको स्टिकर टाँसिनुको अर्थ सबै होटल, रेस्टुराँ एकै स्तरका छैनन् भन्ने हो। उपभोक्ताले बिस्तारै कुरा बुझ्नेछन्। सरसफाइ र शुद्धता एवं स्वस्थताको आधारमा स्तरोन्नति तथा वर्गीकरण भएको हो भन्ने थाहा भएपछि उपभोक्ता स्वस्थता एवं उच्च वर्गका होटल, रेस्टुराँतर्फ आकर्षित हुनेछन्। यसो हुँदा अन्य रेस्टुराँहरूलाई पनि सोही आधारमा प्रतिस्पर्धा गर्न बाध्य हुनेछन्। जब होटल, रेस्टुरेन्टमा स्वच्छता, स्वस्थता सरसफाइ एवं शुद्धताको आधारमा प्रतिस्पर्धा हुन्छ, तब नागरिकको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउनेछ। सुरुआत ठूलो कुरा होइन। लक्ष्यमा पु–याउन खाद्य प्रविधि तथा गुणस्तरका अधिकारीहरूले विचलित नभई दृढ सङ्कल्पका साथ अगाडि बढ्न सक्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here