राजेश मिश्र
वरपक्षः सुनीं, मोटरसाइकल नायाँ चाहीं (सुन्नुस्, मोटरसाइकल नयाँ चाहिन्छ) ।
वधूपक्षः (दुलहीको मामा अनुनयविनय गर्दै) सुनिना, जाथापाथा बहुत कम बा बहनोई साहेब लगे, तनी रहम करल जाँव (सुन्नुस् न, सम्पत्ति थोरै छ भिनाजुसँग, अलि विचार गर्नुहोस्) ।
वरपक्षः (वरका फुफाजु चुरोटको धूवाँ मुख र नाकबाट फाल्दै) अपने के पाता बा ? (कन्याको बुबालाई औंला देखाउँदै, रूखो स्वरमा) ऐथी वाला आइल रहलन त का–का देत रलन, ओतना त कह दियाई त अपने सकबे ना करेम (तपाईंलाई थाहा छ ? फलानो आएका थिए त के–के दिन भनेका थिए, त्यति बताइदियो भने त तपाईं सक्दै सक्नुहुन्न) ।
वधूपक्षः (दुलहीका बुबा गम्छाले अनुहार पुच्छ्दै) सम्धीजी । (लवज अवरूद्ध हुन थालेपछि, भुइँतिर हेर्दै) बच्ची हमर शिक्षित हिं ना सुशील भी बिया । अपने के घर के लायक बिया । कृपा कर के स्वीकार करीं । खातिरदारी में कौनो कमी ना होखे देहेम । (छोरी मेरो शिक्षित मात्र होइन सुशील पनि छिन् । तपाईंको घरको लायक छिन् । कृपया स्वीकार गर्नुहोस् । स्वागतमा कुनै कमी हुन दिने छैन ।)
माथि उल्लिखित संवादजस्तै देहातमा दहेजको विषयमा वाद प्रतिवाद हुने गर्दछ । शिक्षित वर्गका पक्की घरहरूको बन्द कोठाभित्र हुने संवाद झन् अकल्पनीय नै भन्नुपर्छ । आफूलाई देशको नीति निर्माताको लाममा उभ्याइरहने पात्रहरूको दहेज, विवाह र भव्य भोजभतेरको सवालमा कानून मिचाइलाई वर्णन गर्नु वा शब्दमा कोर्नु असाध्य छ । पहिलो विडम्बना, जो दहेज माग गर्ने कार्यमा बढी उद्यत छन्, उनीहरू स्वयम् आफ्नी बहिनी/छोरीको विवाहमा भ्याएसम्म दहेज प्रथाको विरोध गर्छन् । दोस्रो, बहिनी/छोरीको विवाहमा दिएको दहेजभन्दा दोब्बर/तेब्बर दहेज भाइ/छोराको विवाहमा माग गर्ने मानसिकता बढ्दो छ । तेस्रो, छिमेकीभन्दा आफूलाई अब्बल देखाउने प्रवृत्तिले पनि दहेजप्रथा झाङ्गिदै गइरहेको छ ।
मोटरसाइकल कहिया ले कसाई ? नगदी पैसा कबले देहेम ? लडका के कपडा आ सिलाई के पैसा अभी तक काहे ना देनी ? बियाह कैसे होइ ? लगायतका प्रश्नहरू वैवाहिक लगन शुरू भएसँगै केटीपक्षलाई तारम्तार केटापक्षबाट ताकेता गर्नु नौलो विषय होइन । सामाजिक विकृतिहरूमध्ये दहेज (दाइजो) प्रथा पनि एक हो । दहेजप्रथा सामाजिक रोग मात्र होइन, यो महारोग हो । यो वा त्यो बहानामा दहेजप्रथाले कोरोना भाइरसजस्तै अदृश्यरूपमा समाजलाई क्षतविक्षत पारिरहेको छ ।
पिताको पीडा
एक कन्याका पिताले पोखेको दुःखेसो यहाँ प्रस्तुत गर्न उपयुक्त हुन्छ । संवेदनशीलतालाई मध्यनजर गरी ती पिताको नाम र वतन उल्लेख गरिएको छैन । ६ सय बनिहारी (ज्याला)मा परिवार पालिरहेका ती मजदूर पिताको भनाइ अत्यन्तै मर्मस्पर्शी छ । उनी पर्साको ग्रामीण क्षेत्रका बासिन्दा हुन् । उनी भन्छन्, “जेठी छोरीको विवाह गर्न लागेको छु । दाइजोमा एक नयाँ मोटरसाइकल र नगदीसमेत गरी करीब आठ लाख खर्च हुुने अनुमान छ ।” उनी तीन छोरी र एक छोराका बुबा हुन् । सम्पत्तिको सवालमा उनीसँग ७ कट्ठा खेत, एक खपडाको घरसहित ५ धुर घडेरी छ । ७ कट्ठा खेतको अन्नले ६ जनाको परिवार पाल्न सम्भव छैन । विवाहको समग्र खर्च बेहोर्ने क्रममा कम्तीमा पनि उनले दुई कट्ठा खेत बिक्री गर्नुको विकल्प छैन । यसरी तीन छोरीको विवाह गर्दासम्म उनीसँग भएको खेत दहेजमा स्वाहा हुन्छ । अब उनीसँग ६ धुर घडेरी र ओत लाग्ने एक घरबाहेक केही पनि रहँदैन । दुई छाकको भोजन, औषधि, लत्ताकपडा आदिको पूर्ति ६ सय रूपैयाँको बनिहारीले सम्भव देखिंदैन। यद्यपि छाक टार्नको लागि उनले वर्षको ३६५ दिन मरीमरी काम गर्नुपर्छ । बिरामी परेमा परिवार भोकै बस्नुको विकल्प छैन ।
यो त प्रतिनिधि उदाहरण मात्र हो । मालवस्तु सरह मोलमोलाइ गरी अत्यधिक दहेज लिएर छोरा बिक्री गर्ने प्रवृत्ति नै ‘दहेजप्रथा’ हो । वधुपक्षमाथि बज्रपात हुनेगरी दहेज लिएर वरपक्ष कसरी खुशियाली मनाउँदो होला ? आश्चर्यलाग्दो छ । यो सामाजिक कुरीतिले पिताहरूमा चिन्ता बढ्ने, मानसिक तनाव हुने, दीर्घ रोगी हुने र अल्पायुमैं दिवङ्गत हुने अदृश्य अवस्था विद्यमान छन् । दहेजप्रथाले कोरोना भाइरसजस्तै समग्र समाजलाई सङ्क्रमित तुल्याइरहेको छ ।
पुरातनकालमा ‘कोसेली’
परापूर्वकालमा दहेजलाई सकारात्मक मान्यतासहित सुरूआत गरिएको पुरनियाँहरू बताउँछन् । त्यति बेला दहेज तय गरी विवाह गर्ने चलन थिएन । माइती पक्षले आफूखुशी छोरीलाई ‘बाएन’ (कोसेली) दिने परम्परा थियो । माइतीपक्षको लागि छोरी जहिल्यै पनि मान्यवर हुन् । माइतीबाट छोरी बिदाइ हुँदाका बखत बाएनसहित बिदाइ गर्ने चलन पहिले पनि थियो र अहिले पनि छ । र यो सदीयौंदेखिको स्थापित चलन हो। मानव सभ्यताको विकाससँगै ‘कोसेली’ नै ‘दहेज’को स्वरूपमा विकसित भएको पुरनियाँहरू बताउँछन् । अहिले दहेजले विकृतिको रूपमा जरा मात्र गाडेको छैन, झाङ्गिदै गइरहेको छ ।
पुरातनकालमा अपवादबाहेक प्रायः बालविवाह नै हुन्थ्यो । विवाहका बेला बेहुला–बेहुली सानो उमेरको भएकाले नयाँ जीवन शुभारम्भ गर्ने हेतुले केटीपक्षले उपहार स्वरूप गरगहना, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर, अन्न आदि दिएर छोरीलाई बिदाइ गर्ने प्रचलन थियो । गरगहना दिनुको मुख्य उद्देश्य भनेकोे आर्थिक सङ्कट परेको बेला दम्पतीले गरगहना बन्धकी राखेर वा बेचेर समस्या समाधान गर्ने अभिप्राय थियो । यही सोचका कारण मातापिताले छोरीको जीवन आरम्भको अभिप्रायले गच्छे अनुसारका सामग्रीसहित ‘कन्यादान’ गर्दथे । अहिले बालविवाह कानूनतः निरूत्साहित छ । शिक्षा, नोकरी र परिपक्व उमेरमा केटाकेटीको बिहे हुन थालेको छ । तसर्थ दहेजप्रथा आजको परिवेशमा लाजमर्दो कुरा हो । विगतका सकारात्मक सुरूआत अहिले विकृतिको रूपमा पैmलिइरहेको छ । सूर्यलाई बादलले ढाकेजस्तै हाम्रो मूल संस्कृति आधुनिकताको परतमुनि विलुप्त हुने क्रममा छ । ‘कन्यादान’ किन ‘दहेजदान’मा आधारित हुन थालेको छ ? दोषी कसलाई मान्ने ? हामीहरू आपैंmसँग प्रश्न गरौं ।
दहेजप्रथाबारे विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग गरिएको कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ ।
रामनारायण कुर्मी (अधिवक्ता)
दहेज, विवाह र जन्ती नियन्त्रणसम्बन्धी कानून छ । सामाजिक व्यवहारमा सुधार गर्न ‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३’ बनेको छ । सामाजिक व्यवहार भन्नाले विवाह, व्रतबन्ध, चूडाकर्म, पास्नी, न्वारन, जन्मदिवस, छैठी (छठियार), बूढो–पास्नी र पितृ–कार्य समेतलाई जनाउँछ ।
यो ऐन सकारात्मकरूपमा कार्यान्वयन गर्ने होे भने दहेजप्रथा र विवाहसँग सम्बन्धित कुरीतिहरू निर्मूल गर्न सकिन्छ । तर यसको लागि राज्यपक्षबाट उत्तरदायित्वसहित तदारूकता आवश्यक छ । यदि राजनीतिक दल सही अर्थमा समाजको भलोका निम्ति तत्पर छन् भने कानून पालनाको सवालमा सबैभन्दा पहिले उनीहरूले आपैंmबाट सुरूआत गरेर देखाउनुपर्छ ।
सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ मा अङ्कित कानूनी प्रावधानहरूमध्ये केही बुँदाहरू प्रस्तुत छन् ।
सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ को दफा ३ को तिलकमा नियन्त्रण को उपदफा ‘(१) विवाह हुँदा तिलक लिन दिन हुँदैन ।’ उल्लेख छ ।
त्यस्तै, ऐ. ऐनको दफा ५ दाइजोमा नियन्त्रणको उपदफा (१) ‘विवाह हुँदा वा विवाहपछि दुलहीपक्षबाट दुलही वा दुलहालाई यति नगद, जिन्सी, दाइजो, दान, बकस, भेंटी, बिदाइ उपहारसमेत जुनसुकै रूपमा दिनुपर्छ भनी दुलहापक्षले कर लगाउन वा यति लिने दिने भनी दुवै पक्षले अगावै तय गर्नुहुँदैन र दाइजो दिएन भनी दुलहापक्षले टन्टा गर्न वा विवाह गर्न इन्कार गर्न वा विवाह भइसकेको भए दुलही बिदाइ गराइ साथ नलग्न वा दुलही पछि मात्र बिदाइ गराइ लग्ने प्रथा भएकाहरूले पछि बिदाइ गराइ लग्न इन्कार गर्नुहुँदैन ।’ उपदफा (२) मा ‘विवाह हुँदा जीउमा लगाएको एकसरो गहनाबाहेक आफ्नो कुल परम्परा अनुसार राजीखुशीले दिनेले पनि बढीमा दश हजार रूपैयाँसम्मको मात्र दाइजो दिन हुन्छ ।’
त्यस्तै, ऐ. ऐनको दफा ७ जन्तसम्बन्धी नियन्त्रणको उपदफा (१) ‘बाजावालालगायत ५१ जनाभन्दा बढी बरियात लान हुँदैन’, उपदफा (२) ‘जन्तमा कुनै प्रकारको भाडावाल नाच लग्न हुँदैन’, उपदफा (३) ‘जन्तमा आतिसबाजी गर्न हुँदैन’, उपदफा (४) ‘जन्तमा एघारजनाभन्दा बढी बाजावाला राख्न हुँदैन’, उपदफा (५) ‘यस दफा उल्लङ्घन गर्नेलाई दश हजार रूपैयाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुनेछ’, भनी उल्लेख छ ।
त्यस्तै ऐ. ऐनको दफा ८ विवाह भोजमा नियन्त्रणको उपदफा (१) ‘दुलहा र दुलही पक्षबाट आयोजित भोजमा नजीकका नातेदारबाहेक अरू छरछिमेकी इष्टमित्रहरूमध्येबाट एकाउन्नजनाभन्दा बढी व्यक्तिलाई आमन्त्रण गर्नुहुँदैन ।’
ऐ. ऐनको दफा १३ स्थानीय तहको दायित्वको उपदफा ‘(१) यो ऐनबमोजिम गर्न नहुने काम कुनै व्यक्तिबाट हुन वा गर्न लागेको बुझिएमा सो कार्य नगर्नु भनी स्थानीय गाउँ वा नगरपालिकाले सम्बन्धित व्यक्तिलाई सम्झाउनु बुझाउनु पर्नेछ’, उपदफा (२) ‘उपदफा (१) बमोजिम सम्झाउँदा बुझाउँदा पनि सम्बन्धित व्यक्तिले अटेर गरी गर्न नहुने काम गरेमा वा गर्न लागेमा त्यस्तो व्यक्ति उपर कानूनी कारबाई हुन जिल्ला कार्यालयमा जनाउ दिनुपर्नेछ ।’
दीपेन्द्र चौहान (प्रदेश अध्यक्ष, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २)
दहेजप्रथाको विरूद्धमा सञ्चारमाध्यमहरूले पहिलेदेखि नै आवाज उठाउँदै आइरहेका छन् । दहेज निर्मूल गर्ने सन्दर्भमा कुनै एक पक्षको क्रियाशीलताले मात्र सम्भव हुँदैन । यसको लागि समग्र समाजले आआफ्नो उत्तरदायित्व बुझ्नुपर्छ । वैवाहिक सम्बन्ध भनेको नितान्तरूपमा दुलहा–दुलहीसँगै दुई परिवारको अन्तर्घुलन पनि हो । दहेज लेनदेनको प्रक्रियामा कुनै एक पक्ष मात्र दोषी छ भन्ने लाग्दैन । छोरी जन्मिनासाथ अभिभावकमा अब दहेज दिएर छोरीको बिहे गर्नुपर्छ भन्ने मानसिकता पलाउनु दुर्भाग्यपूर्ण हो । गरीबी र अशिक्षा पनि कारण हो । छोरीले आफ्नो खुट्टामा उभिन सक्ने क्षमताको विकासको लागि अभिभावकवर्गले छोरीको शिक्षामा बढी जोड दिनुपर्छ । वर–वधू पक्षले एकअर्काको पीरमर्का बुझ्नुपर्छ । समाजमा उदाहरणीय बन्न सक्ने प्रकृतिको वैवाहिक क्रियाकलाप अपेक्षित छ । यसको विरूद्धमा सञ्चारमाध्यमहरूले अझ सशक्तरूपमा आवाज उठाउनु आवश्यक छ । जागरूकता पैmलाउने कार्य निरन्तर गर्नुपर्छ ।
तबरेज अहमद (जसपा नेता)
दहेजजस्तो सामाजिक कुप्रथाको विषय उठान गर्नुभएकोमा तपाईंलाई धन्यवाद छ । हामी सबैलाई थाहा छ, यो सामाजिक विकृति हो । निर्मूल हुनुपर्छ । कानूनी पक्ष लागू गर्ने सवालमा नीतिनिर्माता तहबाट सक्रियतासहितको सुरूआत हुन जरूरी छ । कानूनविरोधी कार्य गर्ने जोकोही किन नहोस्, प्रचलित कानूनबमोजिम दण्डित गर्नुपर्छ । यसो गर्दा कानून लाग्छ भन्ने सचेतना समाजमा पैmलिन्छ । नियामक निकायको कामकारबाही पनि उत्तिकै महŒवपूर्ण छ । समाजलाई कानूनको मूल्य–मान्यता अनुभूति गराउने सवालमा जिम्मेवारी वहन गर्नुपर्छ । ‘सानालाई ऐन र ठूलालाई चैन’ जस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ । ठूलाबडाहरूको उपस्थितिमा कानूनको उल्लङ्घन गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। धेरैलाई यो नराम्रो लाग्न सक्छ । तर यो कटु सत्य हो । राजनीतिक दलहरू सामाजिक भलोका काममा इमानदार हुन जरूरी छ ।
बृजेश्वरप्रसाद चौधरी (सामाजिक अभियन्ता)
‘मोछ के सवाल बा’ यो मानसिकताले पनि सामाजिक कुरीतिमा मलजल गरिरहेको पाइन्छ । निर्मूल हुन सकिरहेको छैन । छिमेकीले गरेको खर्चभन्दा आफूले बढी खर्च गरी दुनियाँलाई देखाउने प्रवृत्ति दुर्भाग्यपूर्ण भन्नुपर्छ । कतिपय केटापक्षले केटीपक्षलाई बिहेको लागि प्रस्ताव गर्दा नानाथरीका शङ्का उपशङ्का गर्ने प्रवृत्ति पनि देखिन्छ । केटापक्षले किन पहल गरेको होला ? केटामा केही समस्या छ कि ? भन्ने खालका सशङ्कित मानसिकताले परिवर्तन कसरी हुन्छ ? यसले के सिद्ध हुन्छ भन्ने छोरीपक्षले मात्र बिहेको लागि पहल गर्नुपर्छ । यो पुरातन मानसिकता परिवर्तन हुन जरूरी छ । समय बदलिंदो छ । केटापक्षले बिहेको लागि प्रस्ताव राख्नु समयसापेक्ष परिवर्तन हो भनेर बुझ्नुपर्छ । सराहनीय भन्नुपर्छ । छोरीको विवाह गर्दा दहेज दिनु अपराधझैं लाग्ने अभिभावकलाई छोराको विवाह गर्दा मनग्ये दहेज लिने मनोविज्ञानले पनि दहेजप्रथा उन्मूलन हुन सकिरहेको छैन । दहेजप्रथा निर्मूल गर्ने सवालमा कानूनी दण्डसहित सामाजिक सचेतना आवश्यक छ ।