प्रस, सर्लाही, २६ माघ/
सिंचाइको लागि सर्लाही र रौतहटका किसान डीप बोरिङतर्फ आकर्षित भएका छन्। आकाशे पानीको भर पर्नुपर्ने तथा सिंचाइ सुविधा हुन नसक्ने ठाउँमा सिंचाइ पु–याउन किसानहरूले धमाधम डीप ट्युबवेल र स्यालो ट्युबवेल जडान गरिरहेका छन्।
भूमिगत जलस्रोत तथा सिंचाइ विकास कार्यालयले सर्लाही र रौतहटका सिंचाइविहीन क्षेत्रमा स्यालो ट्युबवेल र डीप ट्युबवेल जडानलाई तीव्रता दिएको छ। कार्यालयका अनुसार हालसम्म सर्लाहीमा ४६ सय हेक्टर क्षेत्रफलमा सिंचाइ पुग्ने गरी ३७ वटा डीप ट्युबवेल र १५ सयभन्दा बढी स्यालो ट्युबवेल निर्माण गरिसकिएको छ। सो कार्यालयले रौतहटमा २६ सय हेक्टर क्षेत्र सिंचाइ हुने गरी एक हजार थान स्यालो ट्युबवेल र ४१ थान डीप ट्युबवेल निर्माण भइसकेको हाइड्रोलोजिस्ट मनोज खतिवडाले जानकारी दिए।
जमीनमा पानीको लेयर निकै तल गइसकेकोले धेरै तल पुगेर पानी निकाल्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। सामान्यतः एउटा डीप ट्युबवेल स्थापना गर्न रु सवा करोड र एक थान स्यालो ट्युबवेल निर्माण गर्न रु एक लाखको हाराहारीमा लगानी लाग्ने गरेको कार्यालयले जनाएको छ।
यसै क्रममा सर्लाहीको लालबन्दी नगरपालिकास्थित हीरापुरमा डीप बोरिङ जडान गरिने तयारी भएको छ। वाग्मतीस्थित भूमिगत जलस्रोत तथा सिंचाइ विकास कार्यालयले लालबन्दी नगरपालिका–११, हीरापुरमा डीप बोरिङ जडान गर्न लागेको हो। रु एक करोडभन्दा बढीको लागतमा डीप बोरिङ जडान गर्न लागेको कार्यालयका हाइड्रोलोजिस्ट खतिवडाले जानकारी दिए।