ओमप्रकाश चौधरी, सेढवा, १९ माघ/
    आलुखेतीका लागि यो वर्ष मौसम अनुकूल भएपनि किसानहरूले लागत अनुसारको आम्दानी नहुने भएकोले आलुखेती कम गरेको बताएका छन्। गत वर्षको तुलनामा यस वर्ष आलुखेती कम भएको छ। यस वर्ष कमसल बीउका बावजूद पनि गत वर्षको तुलनामा आलुको उत्पादन केही बढेको छ।  
    जीराभवानी गाउँपालिका–१ सेढवाका किसान प्रदीप चौधरीले आलुखेतीका लागि बीउ महँगोमा खरीद गरेको बताए। उनले नेपाली आलुको बीउ स्थानीय पालिकाले उपलब्ध नगराएको कारण भारतबाट खरीद गरेर ल्याएकोमा कमसल परेको बताए। उनले मौसम आलुखेतीको लागि यो वर्ष अनुकूल रहेको तर बीउको कारण उत्पादन आशाप्रदरूपमा नभएको बताए। आलुखेतीबाट किसानहरूले लगानी अनुसारको प्रतिफल नपाएपछि आलुखेती गर्ने क्रम घट्दो छ। बर्सेनि यही समस्या झेल्नुपरेकाले किसानहरूको आलुखेतीतर्फ आकर्षण घटेको उनले बताए।
    स्थानीय पालिका गठनपूर्व कृषि विकास कार्यालयबाट उपलब्ध हुने बीउ गुणस्तरीय भएकोले उत्पादन बढेको थियो । पालिका गठनपश्चात् पालिकामा कृषि गाभिएपछि कृषि विकास कार्यालय प्रदेशमा गाभिएर कृषि ज्ञान केन्द्र भएको छ। केन्द्रले किसान लक्षित कार्यक्रमहरू ल्याउन छाडेको छ। केन्द्रबाट किसानहरूले आलुको बीउ नपाएकाले छिमेकी भारतीय बजारमा आश्रित हुनुपरेको हो। भारतीय बजारमा कमसल आलुको बीउ पाउने गरेको किसानहरूको गुनासो छ। गुणस्तरीय बीउ भएको भए यसपटक मौसम अनुकूलताले आलुखेतीमा व्यापक वुद्धि हुने किसानहरूले बताए। मौसमको अनुकूलताले यस वर्ष गत वर्षको तुलनामा आलुखेती कम भएपनि उत्पादन भने वृद्धि भएको छ। गत वर्ष १ हजार हेक्टर क्षेत्रफलमा आलुखेती गर्दा १२ हजार ५ सय मेट्रिकटन आलु उत्पादन भएको थियो । तर यो वर्ष ९ सय हेक्टर क्षेत्रफलमा खेती भएपनि १३ हजार ५ सय मेट्रिकटन आलु उत्पादन भएको छ । गुणस्तरीय बीउ भएको भए आलुको उत्पादन अझै बढ्ने किसानहरूले बताए।  
    भारतीय बजारबाट साठा र लाल गुलाब प्रजातिका आलुको बीउ प्रतिकिलो रु ४० देखि ६० सम्ममा किसानहरूले खरीद गरेका थिए। यसैगरी,  देसिला
( स्थानीय) प्रजातिको आलुको बीउ २–३ सय रुपैयाँ प्रतिकिलोका दरले खरीद गर्नुपरेको किसानहरूले बताएका छन्।
    बीउ महँगो भएको र उत्पादनको पनि प्रत्याभूति नभएकोले किसानहरूले आलुखेती कम गरेको बताइएको छ।  कृषि ज्ञान केन्द्र पर्साका बागवानी अधिकृत श्यामकिशोरप्रसाद कुर्मीले किसानहरूले गुणस्तरहीन आलुको बीउ रोपेका कारण आलु उत्पादन आशाप्रदरूपमा बढ्न नसकेको बताए। उनले आलुको बीउ महँगो हुँदा धेरैजसो किसान अन्य खेतीतर्फ आकर्षित भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here