इकोनोमिक रिपोर्टर्स एशोसिएशन (एरा) वीरगंजले वीरगंजमा आफ्नो कार्यकालको तीन वर्ष सम्पन्न गरेको छ । यस अवधिको सम्पन्नताको उपलक्ष्यमा राखिएको कार्यक्रममा अर्थसम्बन्धी बहस पनि भएको थियो । बहस जहिले पनि सार्थक हुन्छ, ग्रहण कसरी गरिन्छ, त्यसमाथि बहसको औचित्य प्रकट हुन्छ । अर्थतन्त्र मात्र व्यापारी, उद्योगीले गर्दा चलायमान हुने होइन । अर्थतन्त्र केही व्यक्ति धनी हुनु, ठूलो कर्पोरेट हाउसको मालिक हुनु वा बहुराष्ट्रिय लगानीकर्ता हुनु मात्र होइन, अर्थतन्त्रले सम्पूर्ण समाजलाई आर्थिकरूपले चलायमान बनाइरहेको छ कि छैन, त्यसमा अर्थतन्त्रको सफलता निहित छ । आर्थिक पत्रकारिता त्यही चलायमानतालाई तीव्रता दिने एउटा पाटो हो । सामान्यतया अर्थतन्त्र भनेपछि पैसाको ठूलो रास, धनीमानी व्यक्तिहरूको बढोत्तरी, आर्थिक गतिविधिका रोचक कथाहरू मात्र होइन, समाज सम्पूर्णरूपले यस क्रियाकलापमा, बहुआयामिक आर्थिक चलखेलमा कति भागीदार छ भन्ने कुरा बुझ्नुपर्छ । समाजको एउटा वर्ग आर्थिक गतिविधिमा अतिशय सक्रिय छ, अर्को वर्ग निष्क्रिय छ भने त्यसले आर्थिक विषमतामात्र निम्त्याउँछ ।
    समाजमा अस्तित्ववान् प्रत्येक वर्गले निम्न मात्रामा पनि आफ्नो गतिविधि सञ्चालन गर्न सकेको छ/छैन भन्ने कुराले समग्र अर्थतन्त्रलाई पोषण दिन्छ । हामी अर्थतन्त्र भन्नेबित्तिकै रुपियाँ–पैसा मात्र बुझ्दछौं । रुपियाँ–पैसा उत्पादन गर्न समाजको कुनै एक खास मात्र सक्रिय छ कि समग्र समाजले त्यसमा योगदान दिइरहेको छ भन्ने कुराको खोजी गर्दैनौं । त्यसले गर्दा एउटा वर्ग जसले प्रशस्त धन कमाइरहेको हुन्छ, समाजका लागि सबै दायित्व उसैको हो भन्ठान्न पुग्दछौं । वीरगंज भन्सारबाट धेरै राजस्व सङ्कलन हुन्छ भन्ने कुरा यस्ता अवसरमा उठाइन्छ, तर भन्सारबाट उठति भएको राजस्व सबै वीरगंजमैं खपत हुने सामानबाट आएको राजस्व होइन भन्ने कुरा बिर्सन्छौं । त्यसमध्ये धेरै सामान यही खपत हुन्छ भने यहाँको अर्थतन्त्र अझ चलायमान हुन्छ, त्यसतिर हाम्रो ध्यान जाँदैन । जोसँग धन छ, उसले कुनै रीतिले दोब्बर–तेब्बर पार्न खोज्छ, जोसँग छैन वा थोरै छ, ऊ आफ्नो प्रयास गर्नुको साटो हुनेसँग आस गर्छ । यो कुरा बुझ्न पनि हामीलाई गा¥हो लाग्छ कि आज जोसँग असीम धन छ, हिजो ऊ पनि सामान्य आर्थिक अवस्थाको मानिस थियो ।
    वीरगंजमा कि आर्थिक उच्चता छ कि निम्नता, मध्यम खालको कुनै चेष्टा गरिएको छैन । जबकि समाजको अर्थतन्त्रलाई चलायमान राख्ने मध्यम वर्ग नै हो । आज खेलकूद, साहित्य, संस्कृति, परम्परागत पेशा, कृषिलगायत समाजका अन्य अवयव शिथिल छन् । के यसले आर्थिक गतिविधिलाई चलायमान राख्दैन ? आज खेल पनि पेशा बनेको छ, साहित्य, संस्कृति आदि सबै आर्थिक गतिविधिका केन्द्र बनेका छन् । खोइ ती कुराको खोजीनीति ? यसले धेरै मानिसलाई आर्थिक गतिविधिमा सघाउन मदत गर्छ । यहाँ, कि सामान्य मानिसले दालभात–रोटी खाने होटल छ कि उच्च पैसावालले आँट गर्न सक्ने तारे होटलहरू छन्, खोइ मध्यमवर्गले चोखोमीठो खान सक्ने थलो ? खोइ थिएटर जहाँ मनोरञ्जनका साथै आर्थिक गतिविधि सम्पन्न हुन्छन्, खोइ खेलकूदका आकर्षक आयोजनहरू जसले अर्थतन्त्रलाई गति दिन्छ । समाजलाई माथि उकास्ने हो भने लगानीकर्ताले, स्थानीय सरकारले, पेशाकर्मीहरूले र नागरिकले हातेमालो गर्नुपर्छ । पत्रकारहरूले, विशेषगरी आर्थिक पत्रकारितामा संलग्नले यस क्ष्Fेत्रमा अहर्निश काम गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here