मिति २०७७ माघ १५ गते बृहस्पतिवारको प्रतीक दैनिकमा “पृथ्वीनारायण शाह — आजको सन्दर्भमा” शीर्षकमा प्रकाशित मेरो लेखबारे मिति २०७७ माघ १७ गते शनिवारको प्रतीक दैनिकमा पाठक प्रतिक्रिया स्तम्भ अन्तर्गत छपकैया, वीरगंजका डा. शिवशङ्कर यादवद्वारा व्यक्त विचारको प्रत्युत्तर–
प्रस्तुति ः– बासुदेवलाल दास, पीएच.डी.
प्राध्यापक तथा विभागीय प्रमुख, इतिहास शिक्षण विभाग,
ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंज (नेपाल) ।
    आदरणीय डा. शिवशङ्कर यादवद्वारा “कसैको मूल्याङ्कन उसको गुण–दोष दुवैबाट हुन्छ, केवल गुणबाट होइन” एकदम ठीक र सार्थक रहेको छ । परन्तु, मेरो लेखको विषय पृथ्वीनारायण शाहको मूल्याङ्कन गर्नु थिएन । सबै व्यक्तिमा गुण र दोष दुवै हुन्छ । हामीले कसैको मूल्याङ्कन गर्दा निश्चितरूपमा दुवैबारे समालोचना गर्नुपर्दछ । परन्तु, मेरो लेखको विषय भनेको पृथ्वीनारायण शाहमा रहेका गुणहरू आज हाम्रालागि सान्दर्भिक छन् भन्ने थियो । भनिन्छ, कसैको दोषको अन्वेषण गर्नुभन्दा पनि उसमा रहेका गुणहरूलाई ग्रहण गर्नुपर्दछ । रावणलाई उसका दोषका कारण मृत्युको मुखमा पु¥याएर पनि रामले भाइ लक्ष्मणलाई रावणसित नीतिज्ञान प्राप्त गर्न पठाएका थिए भन्ने आख्यान रामायणबाट थाहा पाइन्छ ।
    डा. शिवशङ्कर यादव लेख्नुहुन्छ– “आजको जमानामा हाम्रा अकाट्य धर्मग्रन्थ र वेदशास्त्रको पनि आलोचना आजकै सन्दर्भमा गरिन्छ ।” यस सम्बन्धमा मेरो भन्नुपर्ने कुरा यो छ कि हाम्रा धर्मग्रन्थहरू अकाट्य त हुँदै होइनन्, यदि अकाट्य भएका भए ती विषयक अनेकौं टीकाग्रन्थको रचना नै हुने थिएन । अर्कोतिर, वेद भनेको शास्त्र नै होइन । वेद कुनै एक व्यक्तिको रचना होइन– विद्वान्हरू भन्ने गर्दछन् । अतः वेदको आलोचना गर्नु विद्वत्वर्गको पाण्डित्यको प्रदर्शन नै हो जस्तो मलाई लाग्दछ ।
    अगाडि डा. यादव लेख्नुहुन्छ– “हिजो त ती सबै ठीक थिए । अतः आजको सन्दर्भमा पृथ्वीनारायण शाह कसरी अब्बल साबित हुन्छन् ? …पृथ्वीनारायण शाह पनि हिजोको सन्दर्भमा ठीक होलान् तर आजको सन्दर्भमा ठीक नहुन सक्छन् ।” यस सम्बन्धमा मेरो भन्नुपर्ने कुरा यो छ कि हिजो पनि सबै कुरा ठीक थिएन । हिजो धेरै कुरा बेठीक पनि थिए । यो ठीक र बेठीक भन्ने कुरा देश, काल र परिस्थिति सापेक्ष हुने गर्दछ । आज पनि कुनै कुरा एक पक्षका लागि ठीक हुन्छ भने अर्को पक्षका लागि बेठीक हुने गर्दछ । अर्को कुरो, पृथ्वीनारायण शाहलाई मेरो लेखमा अब्बल साबित गरिएकै छैन, अपितु उनमा रहेका केही गुणबारे चर्चा मात्र गरिएको छ ।
    यस्तै अगाडि डा. यादव लेख्नुहुन्छ–  “भनिन्छ, इतिहासमा मितिबाहेक सारा कुरा बकवास हुन्छ ।” यसमा मेरो भन्नु यतिमात्र छ कि इतिहास विषयबारे अध्ययन, अनुसन्धान र अध्यापन कार्यमा पहिलेदेखि आजसम्म विश्वका सयकडौं विश्वविद्यालय र विद्वान्वर्गको संलग्नता रहेको छ । यसलाई यदि बकवास भनिन्छ भने यस्तो भन्ने व्यक्तिको इतिहास–विषयक ज्ञानको प्रशंसा नै गर्नुपर्छ ।
    डा. शिवशङ्कर यादव अगाडि लेख्नुहुन्छ– “पृथ्वीनारायण शाहले हेमकर्ण सेन जिउँदै रहेका बेला आक्रमण गरेनन् भन्ने कुराको मतलब के हो ? हेमकर्ण सेनको आदर गरेकाले हो र ? त्यस बेला फुच्चे भएकाले मात्र हो । तर जब उनीभित्र हिंसा उन्माद चढ्यो, तब आक्रमण मात्र गरेनन्, सालोको छाला काढेर मारे । त्यति बेला हेमकर्ण सेन जिउँदा भएको भए उनको पनि छाला काढिन्थ्यो ।” यस विषयमा मेरो भन्नु यो छ कि हेमकर्ण सेन पृथ्वीनारायण शाहका ससुरा थिए, यो उनीहरूबीचको नाता–सम्बन्ध थियो । परन्तु, कुनै पनि राज्यले अर्को राज्यमाथि आक्रमण गर्दा नाता–सम्बन्धभन्दा तत्कालीन रणनीतिक परिस्थितिबारे विचार पु¥याएको हुन्छ भन्ने कुरा इतिहासको अध्ययनबाट थाहा हुन्छ । यसको एउटा उदाहरण काठमाडौं उपत्यकामाथि गोरखालीको नियन्त्रण भएको सन्दर्भबाट पनि पाइन्छ । कान्तिपुर र ललितपुरमाथि नियन्त्रण कायम भइसकेर पनि भक्तपुरमाथि नियन्त्रण कायम गर्न एक वर्ष प्रतीक्षा गर्नुपरेको थियो । अर्कोतिर, भक्तपुरका राजा रणजीत मल्ल पृथ्वीनारायण शाहका मितबुबा पनि थिए । यस्तै, जहाँसम्म राजा, महाराजा र बादशाहहरूमा हिंसा उन्माद चढ्ने प्रश्न छ, यसबाट सम्राट् अशोकदेखि औरङ्गजेब, नेपोलियन र हिटलरसम्म — सबै प्रभावित रहेको कुरा इतिहासको अध्ययनबाट थाहा पाइन्छ, जसले विश्व–इतिहासको रूपरेखा निर्धारणमा योगदान गरेको थियो ।
    डा. शिवशङ्कर यादव लेख्नुहुन्छ– “कसैकसैले भन्छ कि यस्तो विशाल राष्ट्र बनाएर उनले हामीलाई दिए । बिल्कुल भूmट कुरा हो ।” यसमा मेरो भन्नु यो छ कि पृथ्वीनारायण शाहले विशाल राष्ट्र बनाएर हामीलाई दिए भन्ने कुरा मेरो लेखको विषय नै थिएन र यो सत्य पनि होइन, जस्तो कि स्वयम् डा. यादवले लेख्नुभएकै छ । अन्त्यमा, मेरो लेखप्रति अत्यन्त सराहनीय र विचारणीय प्रतिक्रिया व्यक्त गर्नुभएकोमा म डा. शिवशङ्कर यादवप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here