जबसम्म मनुष्यको चित्त शुद्ध हुँदैन, तबसम्म उसले जसको चिन्तन गर्न चाहन्छ, गर्न सक्दैन र जसको गर्न चाहँदैन, उसको चिन्तन गरिरहन्छ। जुन काम उसले गर्नुपर्छ, त्यो गर्न सक्दैन र जुन गर्न चाहँदैन, त्यही गर्छ।
यसैले साधकलाई चाहियो कि जुन समय जे काम उसलाई कर्तव्यरूपमा प्राप्त हुन्छ, त्यसलाई गर्न आफ्नो विवेकशक्ति र क्रियाशक्तिलाई पूर्णरूपले लगाएर पूर्ण धैर्य, उत्साह र सावधानीका साथ जुन ढङ्गले गर्नुपर्छ, त्यसरी नै गर्नुपर्छ। त्यो गर्नमा अल्छी गर्नुहुँदैन र हतार पनि गर्नुहुँदैन। हर एक प्रवृत्तिको आरम्भमा यो विचार गर्नुपर्छ कि जुन काम म गर्न चाहन्छु, त्यसबाट कसैको अधिकारको अपहरण त भइरहेको छैन ? त्यो कसैको अहितको कारण त बनिरहेको छैन ? यही सोचेर आफ्नो प्रभुको सेवाको नाताले त्यस कामलाई कुशलतापूर्वक गर्नुपर्छ। यस्तो कुनै काम गर्नुहुँदैन, जसमा भगवान्सँग सम्बन्ध छैन, जुन भगवान्को आज्ञा र प्रेरणाविरुद्ध हुन्छ।
प्रकृतिपछि निवृत्ति आउनु अनिवार्य हुन्छ। अतः जुन काम कर्तव्यरूपले प्राप्त हुन्छ, त्यसलाई उपर्युक्त प्रकारबाट पूरा गर्दा निवृत्तिकालमा साधकको चित्तको स्थिरता र आफ्नो प्रेमास्पदमा प्रेमको लालसाको जागृति अवश्य हुन्छ। अनावश्यक सङ्कल्प र व्यर्थ चिन्तन स्वतः शान्त हुन्छ।
कुनै पनि काम सानो–ठूलो हुँदैन। जुन कामलाई मानिसले साधारण र छोटो भन्छ, त्यो कुशलतापूर्वक ठीक त्यस्तै, जुन भावले गर्नुपर्ने हो, त्यसरी नै गर्दा त्यो साधकको लागि कुनै पनि उत्तमभन्दा उत्तम लाग्ने कामभन्दा कम रहँदैन, किनभने कर्म गर्ने आवश्यकता कुनै प्रकारको फलको कामनाको
लागि होइन, तर कर्तामा जुन क्रियाशक्तिको वेग हुन्छ, त्यो पूरा गर्नको लागि हो।
उक्त भावले कर्म गर्दा कर्तापन र भोक्तापन आफैंमा विलीन हुन्छ। जुन उद्देश्य ठूलठूला साधनबाट कठिनाइका साथ धेरै कालमा पूरा हुँदैन, त्यसको सिद्धि अनायस थोरै समयमा आफैं हुन्छ।
कर्मको रहस्यलाई नबुझेको कारण साधारण मनुष्य, जे काम जुन समयमा गर्नुपर्छ, त्यसलाई समयमा गर्दैन, एवं जब गर्छ, त्यसलाई बोझ सम्झेर, जसोतसो पूरा गर्ने भावले गर्छ। पूरै शक्ति लगाएर गर्दैन। अतः उसको राग नष्ट हुँदैन। यसबाट जुन कालमा ऊ त्यो कर्मबाट निवृत्त हुन्छ, त्यस कालमा पनि उसको अन्तःकरणमा नाना प्रकारका व्यर्थ सङ्कल्पको स्फुरणा भइरहन्छ, किनभने उसमा क्रियाशक्तिको वेग बनिरहन्छ अथवा काल आलस्य वा निद्रामा जान्छ।
मनुष्यजीवनको समय सबै अमूल्य हुन्छ, अतः त्यसको एक क्षण पनि व्यर्थ जानुहुँदैन। उसमा जुन पनि निवृत्तिकाल हुन्छ, जुन समय मनुष्यको अगाडि कुनै योग्य कर्म रहँदैन, त्यो समय त खासरूपमा आफ्नो परम प्रेमास्पद प्रभुको स्मरण–चिन्तन गर्दै उनको प्रेममा डुबिरहनु नै हो। यस्तो मौकामा यदि साधकको चित्तमा अनावश्यक सङ्कल्प र व्यर्थ चिन्तन आइरहन्छ वा तमोगुणको वृद्धि भएर त्यो समय जडतामा व्यतीत हुन्छ भने यसभन्दा ठूलो दुःख दिने भूल अरू के हुन सक्छ ? यसैले साधकलाई जुन कर्म कर्तव्यरूपले प्राप्त हुन्छ, त्यसलाई भगवान्को नाता, उनको आज्ञा र प्रेरणा अनुसार उनले दिएको शक्तिको कुशलतापूर्वक प्रयोग गरेर गर्दै जानुपर्छ। जसरी–जसरी साधक प्राप्त कर्तव्यलाई ठीकठाक पूरा गरिरहन्छ, त्यसरी नै उसको समस्त प्रवृत्ति निवृत्तिमा परिणत हुन्छ।
जुन काम जसरी गर्नुपर्छ, त्यस प्रकार धैर्य र उत्साहपूर्वक सावधानीले गरिएन भने त्यसको परिणाम स्वास्थ्यको लागि तथा समाज र देशको लागि पनि हितकर हुँदैन। यस दृष्टिले साधकले हरेक काम, चाहे त्यो खानपानसम्बन्धी साधारण होस्, चाहे परिवार, समाज, देशसँग सम्बन्धित होस्– सही ढङ्गले गर्नुपर्छ।
जुन समय साधक कर्मविना रहन सक्छ अर्थात् उसलाई न त कुनै काम कर्तव्यरूपले प्राप्त होस् र न कुनै काम गर्नको लागि कुनै प्रकारको क्रियाशक्तिको वेग रहोस्, त्यस समय कर्म गर्नु आवश्यक छैन। कर्म गर्ने कुरा त त्यसै समयको लागि भनिन्छ, जब साधकलाई कर्म गर्न आवश्यक हुन्छ।
सही प्रवृत्ति भएपछि सहज निवृत्ति स्वतः प्राप्त हुन्छ। सहज निवृत्ति जसरी स्थायी र स्थिर हुँदै जान्छ, त्यसरी नै मनमा स्थिरता, हृदयमा प्रीति र विचारको उदय आफैंमा हुन्छ, जुन कि मानवको माग हो।