वैधनाथ ठाकुर

केटाकेटीदेखि नै मेरो मन स्वास्थ्यकर्मी बन्ने थियो। २०३५ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेपछि विश्वविद्यालयतर्फको पढाइको लागि वीरगंज आइयो। प्रवेश परीक्षा त्यति बेला दिनुपर्दथ्यो पढ्नको लागि। हेटौंडमा वनविज्ञान, परवानीपुरमा जेटिए तथा वीरगंजमा अहेब तथा शिक्षा सङ्कायतर्फ प्रवेश परीक्षा दिइयो। परीक्षाको नतीजा प्रकाशित हुँदा जेटिएको लागि पक्लिहवा क्याम्पस, वनविज्ञानको लागि हेटौंडा र शिक्षा सङ्कायमा वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा नाम निस्कियो। वनविज्ञानको लागि क्याम्पसमैं छात्रावासमा बसेर पढ्नुपर्ने व्यवस्था भएकोले आर्थिक अभावले त्यहाँ पढ्न गइएन। पक्लिहवामा जेटिए गर्न टाढा पर्ने तथा आर्थिक समस्याले त्यहाँ पनि गइएन। अहेबमा नाम नै निस्केन र इच्छा नहुँदा–नहुँदै जबरजस्ती ठाकुर राम बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र पढ्नुप–यो। नचाहेर पनि आइएड, बिएड तथा एमए ठाराब क्याम्पसबाटै गरें। यदि म शिक्षक नबनेको भए मेरो जीवनशैली पक्कै पनि आजको जस्तो हुने थिएन।
त्यसैले भन्ने गरिन्छ– सोचेजस्तो हुँदैन, चरीले जून छुँदैन। अर्थात् पखेटा छ भन्दैमा, उड्न आउँछ भन्दैमा, कुनै पनि चरीले जून छुन सक्दैन। मानिसहरू विद्यमान भौतिक वातावरण हेरेर अनेक किसिमका योजना र सोचाइ बनाउँछन्। तर भौतिक वातावरण बदलिन कति पनि बेर लाग्दैन र उसको सम्पूर्ण योजना समाप्त हुन्छ। घाम हेरेर बिस्कुन सुकाउनु उचित नै हो तर एकै छिनमा बादल आएर पानी पारिदिन्छ र बिस्कुनलाई सत्यानाश गरिदिन्छ।
मानिसको जीवन पनि यस्तै घामछायाको मेल हो। कतिखेर घाम लाग्ने हो र कतिखेर छाया पर्ने हो, कसैले भन्न सक्दैन। हुनत हिजोआज विज्ञानको आविष्कारले जलवायुको बारेमा अग्रिम घोषणा गर्न सकिन्छ तर वैज्ञानिक चमत्कार मानव सृजित समस्यामा प्रायः फेल नै हुने गरेको छ। भौतिकरूपमा विज्ञानलाई कुनै प्राकृतिक वस्तुको बारेमा बुझ्न जति सजिलो हुन्छ, त्यति नै गा–हो मनोवैज्ञानिकरूपमा मानिसलाई बुझ्न र व्याख्या गर्न कठिन हुन्छ।
आजभन्दा लगभग तीन वर्ष पहिले झन्डै दुई तिहाइको वाम सरकार पाएर जनता निकै खुशी थियो। खासगरी झुपडीमा बस्ने, आधा पेट खाने गरीबगुरुवा, निम्न मध्यम र मध्यम वर्गका जनता निकै खुशी थिए। बिचराहरू खुशी पनि किन नहोऊन्। उनीहरूलाई लाग्थ्यो हाम्रFे बहुमतको सरकार नभएकोले नै हामी गरीब छौं। हाम्रFे सामुदायिक विद्यालय, निजी विद्यालयभन्दा खराब छ। हाम्रFे अस्पतालहरू निजी अस्पतालभन्दा खराब अवस्थामा छन्। बजार दलाल, पूँजीपति तथा कालोबजारियाहरूको नियन्त्रणमा छ। जग्गाको असमान वितरण गरिएको छ। ठूलाबडा मानिसहरूले गरीबलाई गुलाम ठान्ने गर्छन् आदि इत्यादि।
बिचरा जनतालाई के थाहा जसजसलाई उनीहरू आफ्नो मुक्तिदाता ठान्छ, वास्तवमा तिनीहरू विस्तारवादका दलालहरू हुन्। जनताले इतिहासमा कहिले कथित कम्युनिस्टहरूको यस्तो चरित्र, प्रवृत्ति तथा व्यवहार देखेकै थिएन। यसको ठीक उल्टो हिजोको भूमिगतकालमा यिनै नेताहरूले माओत्से तुड्ढो लाल किताब पल्टाइपल्टाइ पढाउने गर्दथे। उनीहरूको मिशन नै थियो वर्गीय प्रेम र वर्गीय घृणा। वर्ग मित्र को हुन् र शत्रु को हुन्। कमरेड भनेको यस्तो साथी हो जो एकअर्काको लागि, मुक्तिको लागि ज्यान दिने गर्छन्। हामीले एकअर्कालाई माया गर्नुपर्छ, विशेष ख्याल गर्नुपर्छ। यस्तो स्कूलिङ थियो त्यति बेला।
यसैको लागि हजारौं योद्धा शहीद भए। तर जब वामहरूको बलियो सरकार बन्यो अनि बिस्तारै सरकारी विद्यालय झन्झन् कमजोर हुँदै गयो। विद्यालयमा पठनपाठन कम राजनीतिक झोला बोक्नेहरूको चाकडीमा मस्त रहेर नपढाउनेहरूको जमात बढ्दै गयो र शिक्षा सम्पूर्णरूपले तहसनहसको अवस्थामा पुग्यो। सामुदायिक विद्यालयमा जहाँ गरीबका छोराछोरी पढ्ने गर्छन्, त्यहाँ पढाइ हुनै छाड्यो। हुँदाहुँदा सरकारले नै प्राथमिकस्तरसम्म कुनै विद्यार्थीलाई फेल गर्न नपाउने भनेपछि शिक्षकहरूलाई ‘के खोज्छस् कानो आँखा’ जस्तै हुन गयो।
सामुदायिक विद्यालयमा एकातिर पढाइलेखाइको गुणस्तर ओरालो लाग्दै गयो भने अर्कोतिर शैक्षिक भ्रष्टाचार अत्यधिक बढेर गयो। प्रधानाध्यापक बन्न तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न ठूला खेलहरू खेलिन थालियो, जो अझै कायम नै छ। विद्यालयमा शैक्षिक सुधारको नाममा आउने विभिन्न शीर्षकको रकम भ्रष्टाचारको निशानामा पर्न थाल्यो। अवस्था यो छ कि अख्तियार दुरुपयोगमा सबैभन्दा बढी उजूरी शिक्षा क्षेत्रबाटै छ।
जनताको अपेक्षा स्वास्थ्यमा पनि पूरा भएन। सरकारी अस्पतालमा भन्दा बढी रुचि चिकित्सकहरूले निजी अस्पताल र आफ्नो क्लिनिकमैं राख्ने प्रवृत्ति झन्झन् बढ्दो छ। यसले गर्दा आम मानिसमा कम्युनिस्टहरू आएपछि शिक्षा, स्वास्थ्यभित्रको लापरवाही र बेथिति सुध्रिन्छ भन्ने आस सबै समाप्त भए। भ्रष्टाचार कम हुनुको साटो बढ्दै गयो। विभिन्न आपराधिक घटनाका दोषीसमेत सरकारले पत्ता लगाउन सकेन। हुँदाहुँदा पुस ५ गते अचानक सत्ताधारी दलभित्रको पदीय भागबन्डाको झगडाले संसद् नै विघटन हुन पुग्यो।
हिजोसम्म कमरेड व्यवहार, वर्ग मित्र र वर्ग शत्रुको कक्षा सञ्चालन गर्ने धुरन्धर महान् प्रशिक्षकहरू नै एकअर्कालाई सार्वजनिकरूपमैं गाली गर्नमा योजना बनाएर व्यस्त भएको देखिन्छ।
छिमेकी देश भारतमा एउटा मोदीले तहल्का मचाएका छन्। देशमा विभिन्न सुधार गर्न दिनरात लागिपरेका छन्। तर हामीकहाँ दर्जनौं मोदी भएर पनि कसैलाई देश र जनताको चिन्ता भएको देखिंदैन। सबैलाई सबै कुरा आफैंलाई चाहिएको छ। आफूबाट बढी भएपछि आफ्नो परिवारलाई चाहिएको छ। यस्तो बेलामा जनताले दश वर्षे युद्धको बेलामा सोचेका देखेका सपनाहरू कता पुगेका छन् ? छाती चौडा गरेर, शिर ठाडो पारेर हिजो महान् भनिएका हाम्रF कामरेडहरू, मुक्तिदाता भनिएका महानायकहरू के साँच्चै उनीहरू जनताको परीक्षामा पास भए ?
अहिले देशमा देशको लागि, जनताको लागि, विकास र समृद्धिको लागि सोच्ने नेताको खाँचो छ, न कि हिजोको कपटी राजा र आजका जालझेली नेता जस्तो। आन्दोलनले नेता र नेतृत्व जन्माउँछ। अब हेर्नु छ कुन चाहिं आन्दोलनले देशमुखी नेता, विकासमुखी नेतृत्व जन्माउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here