गौर राइस मिल : छानबीन गर्न सरकारसँग माग

प्रस, रौतहट, ५ चैत/
गौर राइस मिलको जग्गा गौर नगरपालिकाका जनप्रतिनिधिहरूले बिक्री गर्न लागेको विरोधमा मङ्गलवार गौर नपा–२ दुर्गा भगवतीमा विरोध प्रदर्शन, सभा गरिएको छ ।

गौर नगरपालिकाका विभिन्न वडाहरूमा जनजागरण अभियान सञ्चालन गर्दै आएको सङ्घर्ष समितिले आज वडा नं २ दुर्गा भगवतीमा आयोजना गरेको विरोधसभामा एमालेका केन्द्रीय सदस्य एवं पूर्वनगरप्रमुख अजयकुमार गुप्ताले गौर राइस मिलको जग्गा बिक्री गर्न लागेका जनप्रतिनिधिमाथि छानबीन गरी कारबाई गर्न प्रदेश र सङ्घ सरकारसँग माग गरे ।

उनले भूमाफियाहरूले मिलको करीब छ बिघा जग्गा हडपेर बिक्री वितरणको तारतम्य मिलाएको योे कार्यमा नगरप्रमुख शम्भु साहलगायत केही वडाध्यक्षहरूको संलग्नता रहेको आरोप लगाए । उनले बिक्री प्रयोजनका लागि भूमिसुधार तथा मालपोत कार्यालय, गौरमा पत्र पठाइएको आरोप पनि लगाए ।

पूर्वउपप्रमुख किरण ठाकुर, नेपाली काङ्ग्रेसका प्रतिनिधि मोहन यादव, नेता श्यामसुन्दर पटेल, वडाध्यक्ष जनार्दन साह, पूर्ववडाध्यक्ष मोहन सिंह, राकेश झा, समाजसेवी भूषण सिंहलगायतका वक्ताहरूले मिलको जग्गा कुनै हालतमा बिक्री गर्न नदिइने बताए । उनीहरूले जनताको सम्पति भूमाफियालाई भोग गर्न नदिन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्