जीतपुर घटनामा वडाध्यक्ष गुप्तासहित तीनजना पक्राउ

राधेश्याम पटेल, परवानीपुर, ५ चैत/
फागु पूर्णिमाको राति जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुर बजारमा राति भएको झडप र गोली चलेको घटनामा अभियुक्त तीनजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी गराएका छन् ।

उनले घटनामा वडाध्यक्ष सुनील गुप्ता र गोली चलाउने गिरी परिवारका परशुराम गिरीका नातिद्वय किसन र कुणाल गिरीलाई पक्राउ गरी फागुन ४ गते सोमवार अदालतको आदेशमा सात दिनको म्याद लिएर अनुसन्धान शुरू गरिएको बताए । यो घटनामा गिरी परिवारले वडाध्यक्ष गुप्तासहितका व्यक्तिहरू र विन्देश्वर गुप्ताले परशुराम गिरीसहित निजका छोरा राजेश र राजा तथा पक्राउ परेका नातिद्वय किसन र कुणालविरुद्ध जाहेरी दिएका छन् ।

प्रवक्ता पण्डितले दुवै पक्षबाट परेका जाहेरीमा एक दर्जन बढी नामहरू रहेको र अहिलेसम्म प्रहरीले तीनजनालाई पक्राउ गरेको बताए । उनले बाँकी अभियुक्त फरार रहेका र उनीहरूको खोजी कार्य भइरहेको बताए ।

यो घटनामा गिरी पक्षले वडाध्यक्षले दलबलसहित आफ्नो घरमा आएर कुटपिट शुरू गरेको र आत्मरक्षाका लागि लाइसेन्सधारी बन्दुकबाट हवाई फायर गरेर ज्यान जोगाएको बताएको छ भने वडाध्यक्ष पक्षले गिरी परिवारले सोही बन्दुकबाट गोली चलाएर ज्यान लिने प्रयास गरेको आरोप लगाएको छ । प्रहरी प्रवक्ता पण्डितले दुवैतर्फको जाहेरी परेको र यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्