प्रस, वीरगंज, ५ चैत/
मधेस प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रक्रियामा सहभागी नहुने भएको छ ।
मुख्यमन्त्री सतीशकुमार सिंहले मङ्गलवार प्रदेशको राजधानी जनकपुरमा पत्रकार सम्मेलन गर्दै पर्सि चैत ७ गतेदेखि हुन गइरहेको एसइईमा प्रदेश सरकार सहभागी नहुने घोषणा गरे ।
परीक्षालाई निष्पक्ष र मर्यादित बनाउन गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति र परीक्षामा भेटिने मोबाइल जफ्त गर्ने प्रदेश सरकारको निर्णय परीक्षा समन्वय समितिहरूले नमानेका कारण एसइईबाट मधेस प्रदेश सरकार अलग हुने घोषणा गरिएको उनले बताए ।
उनले भने– “विगतका परीक्षामा धेरै चलखेल सेटिङ हुने गरेको, चोरी चल्ने गरेको कसैबाट लुकेको छैन । यसले शिक्षाको गुणस्तर कमजोर हुँदै गएको छ । त्यस कारण यसपटक गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन र परीक्षामा फेला पर्ने मोबाइलहरू जफत गर्ने हाम्रो निर्णय कार्यान्वयन भएन । त्यस कारण अनैतिक क्रियाकलापको हामी साक्षी बस्न सक्दैनौं ।” गत फागुन २६ मा मधेस सरकारले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन र परीक्षामा फेला पर्ने मोबाइलहरू जफत गर्ने निर्णय गरेको थियो ।
तर प्रदेश सरकारको यो निर्णयविपरीत जिल्ला परीक्षा समन्वय समितिहरूले केन्द्र भएका विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रक्रिया अघि बढाएकाले एसइईमा प्रदेश सरकारको सहभागिता नरहने मुख्यमन्त्री सिंहले बताए ।