प्रस, निजगढ, ५ माघ/
बारा, निजगढ नगरपालिका–१ भरतगंजसिगौल र जीतपुरसिमरा उपमहा नगरपालिका–१६ को टाँगियाबस्ती काठ चोरी तस्करीको अखडा बन्दै गइरहेको छ। बारा निजगढ, मकवानपुरसँग सीमा जोडिएको धन्सार खोलापारि रौतहटको भुलनटार, इपिलघारी आसपासको वनक्षेत्रमा चोर तस्कर समूहले दिनदहाडै हरियो सालको रूख ढाल्ने गरेको छ। ढालिएका रूखको गोलाइलाई निजगढ नपा–१ भरतगंजसिगौल बजार टोल आसपासका भित्री बस्तीका घर, आँगन, खेतबारीमा चिरान गर्ने गरेका छन्। यसरी चिरान गरिएका काठ निजगढ, सिमरा, जीतपुर, वीरगंज, हेटौंडा, चन्द्रनिगाहपुर, वाग्मतीलगायतका स्थानमा लुकाइछिपाइ बिक्री गर्ने गरेको बुझिएको छ। रौतहटको वनजङ्गलमा हानिनोक्सानी गरी तयार पारिएका चिरान काठ बोलेरो जीप, पिकअप भ्यानलगायतका साना सवारीसाधन र ट्रकमा समेत ओसारपोसार गर्ने गरेको स्थानीय स्रोतको दाबी छ। यसरी अवैधरूपमा ल्याइएका ४ थान सालको गोलिया र केही थान चिरान काठ तीन दिनअघि निजगढ सबडिभिजन वन कार्यालय भमराको सशस्त्र वनरक्षक जमदार मङ्गल साहको टोलीले नियन्त्रणमा लिएको थियो। लकडाउनयता त्यस वनक्षेत्र र बस्ती आसपासबाट पटक–पटक गरी १५० सय क्यूफिटभन्दा बढी काठ नियन्त्रणमा लिएको सबडिभिजन वन कार्यालय निजगढका प्रमुख एवं सहायक वन अधिकृत रघुनाथ दासले बताए। भरतगंजसिगौलबाट निजगढतर्फ ल्याउँदै गरेको ६४.०४ क्यूफिट अवैध चिरान काठ लोडसहित चालक नियन्त्रणमा लिएको एक महीना पनि नबित्दै तीन दिनअघि मात्रै ४ थान सालको गोलिया, कर्मा र सालको चिरान काठ गरी २९.८९ क्यूफिट सो बस्तीबाट नियन्त्रणमा लिएको सवअ दासले भने। बारा र रौतहटको सिमानामा पर्ने वनक्षेत्र भएकोले चोरी तस्करीका लागि काटिएका सालका गोलिया, चिरान काठ गरी एक डेढ महीनायता मात्रै करीब १५० क्यूफिट काठ धन्सार सबडिभिजन वन कार्यालय रौतहटले नियन्त्रणमा लिएको सहायक वन अधिकृत नवनीत मिश्रले बताए। त्यस क्षेत्रबाट डेढ वर्षयता मात्रै १ हजार क्यूफिट सालको गोलिया, चिरान काठ नियन्त्रणमा लिएको रेकर्डमा रहेको सवअ मिश्रले भने।
त्यसैगरी, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ को टागियाँबस्ती काठ चोरी तस्करी गर्ने मुख्य अखडाको रूपमा रहेको छ। एक महीनायता मात्रै टाँगियाबस्ती वनक्षेत्र आसपासबाट २ क्यूफिट सालको हरियो गोलिया बरामद भएको छ। तत्कालीन जिल्ला वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मनबहादुर खड्का रहँदा टाँगियाबस्तीमा छापामारी १० हजार क्यूफिट सालको गोलिया, चिरान काठ बरामद गरेका थिए। घर र खेतबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा काठ बरामद भएसँगै त्यस बस्तीका एक दर्जन स्थानीयलाई पक्राउ पुर्जी जारी गरी मुद्दा चलाएका थिए। त्यसपछि काठ चोरी तस्करीमा केही समय सन्नाटा छाए पनि पछिल्लो ४/५ वर्ष यताबाट पुरानै धन्दा गर्न चोरी तस्कर समूह सक्रिय भइरहेका छन्। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भन्दै सरकारले विमानस्थल निर्माण गर्नुपूर्व तयारीका कामहरू धमाधम शुरू गरेसँगै काठ चोरी तस्करीको धन्दा मौलाएको छ। त्यस बस्तीलाई डिभिजन वन कार्यालयले निगरानीमा राख्दै वन गस्ती गरिरहेको डिएफओ मन्जुर अहमदले बताए।