सिम्रौनगढमा भेटिए प्राचीन खपडाहरू

प्रस, सिम्रौनगढ, २९ माघ/

बाराको सिम्रौनगढ–२ अमृतगंजस्थित रानीवास रामजानकी मन्दिरनजीक  घरको छानोमा प्रयोग हुने प्राचीनकालीन खाँचायुक्त खपडाहरू भेटिएका छन्। प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढ नगरपालिकामा सधैं कुनै न कुनै ऐतिहासिक, धार्मिक वस्तुसित सम्बन्ध राख्ने ऐतिहासिक अवशेषहरू पाइँदै आइएको छ। यसै सिलसिलामा सिम्रौनगढ नगरपालिकाको आयोजनामा तयार भइरहेको फूल वाटिका (पार्क) निर्माण गर्ने क्रममा सो प्राचीनकालीन खपडाहरू भेटिएका हुन्। यी खपडाहरू लगभग २० हजारको सङ्ख्यामा भेटिए तापनि यसमध्ये ४० प्रतिशत जति नष्ट भएका छन्।

यी खपडाहरूको सम्बन्धमा स्थानीय समाजसेवी डा परमानन्द मुखियाले रामजानकी मन्दिर बन्नुभन्दा पहिले यस स्थानमा काठको मन्दिर रहेको बताए। जङ्गबहादुर राणाका छोरा जगतजङ्गले सो मन्दिरको ठाउँमा अर्काे ठूलो पक्की मन्दिर विसं १९३३ मा बनाएको उनले बताए। सोही समयका यी खपडाहरू रहेको उनको दाबी छ।