प्रस, रौतहट, २१ माघ/
जिल्ला अदालत रौतहटका न्यायाधीश मनोज केसीविरुद्ध सोमवार यमुनामाई गाउ“पालिकावासीले अदालतको मूलद्वारमा प्रदर्शन गरेका छन् ।
कर्तव्य ज्यान मुद्दामा वादी राजनकुमार गुप्ताको जाहेरीमा नेपाल सरकारले छजनाविरुद्ध मुद्दा दर्ता गरी कारबाई प्रक्रियामा रहेकोमा हिजो आइतवार अभियोग दाबी नपुगेको भनी न्यायाधीश केसीको इजलासबाट आदेश भएको विरोधमा आज स्थानीयले न्यायाधीश केसीविरुद्ध नाराबाजी गर्दै उनको राजीनामा माग गरेका हुन् ।
२०७६ असार ६ गते रामविनोद साह किरानापसलमा बसिरहेको अवस्थामा उधारोमा गुटका लिन गएका युवाहरूलाई गुटका नदिएको कारण साह कुटिनुपरेको थियो । युवाहरूको कुटपिटबाट साहको मृत्यु भएको थियो । युवाहरूको कुटपिटबाट घाइते साहको उपचारको क्रममा असार १० गते मृत्यु भएको थियो ।
घटनापछि संलग्न युवाहरूविरुद्ध प्रहरीमा जाहेरी परेको र उनीहरूविरुद्ध जिल्ला अदालत रौतहटमा साढे चार वर्ष अघि परेको मुद्दामा हिजो फैसला भएको थियो । फैसलामा वादी पक्षको मागदाबी नपुगेको ठहर गर्दै अदालतले छजनालाई उन्मुक्ति दिएको विरोधमा आज यमुनामाई गापावासीले अदालतको मूलद्वारमा नाराबाजी गर्दै न्यायाधीश केसीको राजीनामा माग गरेका हुन् ।