• विश्वराज अधिकारी

कुनै पनि देशमा आर्थिक विकासको गतिले तीव्रता पाउनका लागि त्यस देशमा सरकार छिटोछिटो परिवर्तन हुनुहुँदैन । छिटोछिटो सरकार परिवर्तन हुनु अस्थिरताको प्रतीक हो । त्यस्तो अस्थिरताले आर्थिक विकास सम्भव हुँदैन । आर्थिक विकास त परको कुरा, आर्थिक मन्दीको स्थिति आउन सक्छ । रोजगारको स्तरमा ठूलो कमी आउन सक्छ । व्यक्ति र परिवारको आयमा ठूलो कमी आउन सक्छ । देशमा गरीबी अभूतपूर्व किसिमले बढेर जनताको जीवन कठिन हुन पुग्छ ।

कुनै पनि देशको सन्दर्भमा, सरकार स्थिर नभएसम्म देशको आर्थिक विकास सम्भव हुँदैन । राष्ट्रिय आर्थिक विकासका लागि स्थिर सरकार पूर्व शर्त हो । विश्वको आर्थिक विकासको इतिहासले यही दर्शाउँछ । सरकार शीघ्र परिवर्तन भएर अस्थिरता भोगिरहेका देशहरू गरीबीको कुचक्रबाट बाहिर आउन नसकेको र त्यहाँ जनता रोजगारका लागि अर्को देश पुगेको, शरणार्थी भएको, उदाहरण थुप्रै छन् ।

अहिले, वर्तमानको, नेका (नेपाली काङ्ग्रेस) र एमाले (नेपाल कम्युनिस्ट पार्टी) को सत्ता समीकरणले देशलाई स्थिर सरकार दिएको छ । आर्थिक विकासको लागि देशभित्र स्थिरताको स्थिति निर्माण गरेको छ । नेपालको आर्थिक विकासको लागि यो सुखद स्थिति हो । यी दुई दलभित्रका केही नेताहरू स्वार्थी हुन सक्छन् । सत्ता र शक्तिमुखी हुन सक्छन्, त्यो भिन्न कुरा हो । राष्ट्रको आर्थिक विकासका लागि यी दुई ठूला दलहरू मिलेर कार्य गर्न सहमत हुनु राष्ट्रको आर्थिक विकासको लागि महŒवपूर्ण कुरा हो । प्रधानमन्त्री (केपी ओली) फेर्ने स्थिति हुन सक्छ । मन्त्रीहरू फेर्ने स्थिति हुन सक्छ । तर यो समीकरण फेरिनुहुन्न । यो समीकरणमा परिवर्तन आउनुहुँदैन । राष्ट्रको आर्थिक विकासको लागि यी दुई दलबीच सहकार्य अति आवश्यक छ ।

वर्तमानमा प्रम केपी ओलीको राजीनामा माग भइरहेको छ । यो सरकार खसाल्ने कुरा भइरहेको छ । केही क्षणका लागि मानौं ओलीको स्थानमा नेका वा एमालेबाट अन्य कुनै व्यक्ति प्रम हुने स्थिति हुन सक्छ । आवश्यक परेमा त्यस्तो गर्नु उपयुक्त पनि हुनेछ । तर ओलीको विकल्पमा आउने को ? को प्रम हुने ? ओलीको विकल्पमा आउने व्यक्ति के विवादरहित हुन सक्ला ? विकल्पमा देखिएकाहरू के स्वच्छ छवि भएका हुन सक्छन् ? विकल्प छनोट गर्दा जहिले पनि, भएको भन्दा आउने विकल्प असल हुनुपर्छ । तर यदि उही पुरानो वा खराब विकल्प आउने हो, अक्षम व्यक्ति आउने हो भने ओलीको विकल्प खोज्नुको के अर्थ रहन जान्छ ? फेरि पुष्पकमल दहाल नै प्रधानमन्त्री हुने भए के त्यो प्रभावकारी विकल्प हुन सक्छ ?

नेपालको आर्थिक विकासको लागि यी दुई ठूला दलहरू– नेका र एमालेले मिलेर कार्य गर्ने हो भने राष्ट्रिय आर्थिक विकासको गतिले तीव्रता पाउने राम्रो सम्भावना छ । अहिले यी दुई दलहरूले सहमति गरेर स्थिर सरकार दिन सकेका छन् । देशमा शान्ति र स्थिरताको स्थिति देखिएको छ। यो स्थितिको विकल्प खोज्नु वा यो स्थितिमा खलल पु¥याउनु भनेको आर्थिक विकासको गति अवरुद्ध पार्नु हो ।

नेका र एमालेबीच सहमतिको स्थितिमा वर्तमान ओली सरकारले निरन्तरता पाउनु र यो सरकारले नै २०८४ सालको निर्वाचन गराउनु देशको आर्थिक विकासको लागि उत्तम हुनेछ । नेपालको आर्थिक स्थितिले अब कुनै पनि किसिमको अस्थिरता (छिटोछिटो सरकार परिवर्तन) सहन गर्न सक्तैन । कुनै पनि किसिमको द्वन्द्व वा सङ्घर्ष सहन गर्न सक्तैन । नेपालको आर्थिक विकासको लागि स्थिरता आवश्यक छ । र त्यो स्थिरता नेका र एमालेको सत्ता सहकार्यले दिएको छ ।

सत्ता बाहिर रहेका दल र तिनका नेताहरूको माग अनुसार नेका र एमालेको सरकार पतन गराएर, एमालेलाई सत्ता बाहिर पठाएर, सानासाना दलहरू र नेकाको गठबन्धनमा अर्को सरकार निर्माण हुने हो भने के त्यो सरकारको आयु लामो होला ? त्यो सरकारले स्थिरता देला ? अर्को स्थितिमा, यदि सानासाना दल र एमालेको गठबन्धनमा नयाँ सरकार निर्माण हुने हो भने के त्यो सरकारको आयु लामो हुन सक्ला ? वर्तमान सत्ता समीकरण टुटेर अर्को सरकार निर्माण हुने हो वा नेका र एमालेबीच फुट आउने हो भने देशमा झन् ठूलो अस्थिरता आउने छ, अनिश्चितता आउने छ । त्यो स्थिति आर्थिक विकासको लागि कदापि हितकर हुनेछैन ।

देशको आर्थिक विकासको गति अवरुद्ध हुन नदिने हो भने एमाले र नेकाको यो सहकार्यलाई हामी सबैले जनस्तरबाट सहयोग गर्नुपर्छ भन्नु अतिशयोक्ति हुने छैन । यस्तो भन्नुका केही कारण पनि छन् । जस्तै नेका र एमालेको सहकार्यविना निर्माण हुने सरकार लामो समयसम्म टिक्ने स्थिति छैन । एमाले र नेका सम्मिलित नभएको सरकारले आर्थिक विकासको क्षेत्रमा कुनै नयाँ योजना दिने र कार्यान्वयन गर्न सक्ने सम्भावना छैन । तर नेका र एमाले मिलेर कार्य गर्ने हो भने सरकार स्थिर त हुन्छ नै, सरकारले ल्याउने आर्थिक योजना तथा कार्यक्रमहरू सहजै कार्यान्वयन हुनेछन् । कार्य सम्पादनमा प्रभावकारित पनि आउने छ ।

वर्तमान राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गर्ने हो भने अन्य दल र तिनका नेताहरूको सत्तालोलुप प्रवृत्तिको गहिरो मूल्याङ्कन गर्ने हो भने वर्तमान एमाले र नेका सहकार्य उचित देखिन्छ । यदि सत्ता बाहिर रहेका दल र तिनका नेताहरूमा पद र सत्तालोलुपता नभएको भए उनीहरूले नेका र एमाले मिलिजुली सरकारको राम्रो विकल्प दिने सक्ने स्थिति हुने थियो । उनीहरूलाई सत्तामा ल्याउनु उचित हुने थियो ।

देशको आर्थिक विकासको लागि सरकार परिवर्तन उपयुक्त उपाय होइन । देशको आर्थिक विकासका लागि सरकार परिवर्तन होइन, नेताहरूको प्रवृत्तिमा परिवर्तन ल्याउन आवश्यक छ । उनीहरूलाई राष्ट्रको आर्थिक विकासको लागि जिम्मेवार बनाउन आवश्यक छ । राष्ट्रको आर्थिक विकासको लागि नेका र एमाललेका नेताहरूलाई जिम्मेवार बनाउनु आवश्यक छ । नेका र एमालेको सहमतिको सरकारको विकल्प खोज्नुको सट्टा यी दुई ठूला दलहरूलाई जनहितमा कार्य गर्न दबाब दिन आवश्यक छ ।

अब केही विश्व आर्थिक स्थिति वर्तमानमा विश्वको आर्थिक स्थिति राम्रो छैन । अहिले विश्व दुई समूहमा नराम्ररी विभाजित छ । एउटा समूहको नेतृत्व संयुक्त राज्य अमेरिकाले गरिरहेको छ भने अर्को समूहको नेतृत्व प्रत्यक्षरूपमा रूसले र परोक्षरूपमा चीनले गरिरहेको छ । विश्व दुई समूहमा विभाजित भएको यो विषम स्थितिले विश्व अर्थ व्यवस्थमा अति नराम्रो प्रभाव परेको छ । यही स्थितिले सिरियाको आर्थिक स्थिति नाजुक पारेको हो । यही स्थितिले युक्रेनको आर्थिक स्थिति नराम्रो पारेको हो । यही स्थितिले यमनको सङ्घर्ष चर्काएको हो । यो स्थितिले विश्वका थप राष्ट्रहरूलाई गरीब पार्ने खतरा बढेर गएको छ । यदि चमत्कार भएर युक्रेन–रूस युद्ध समाप्त भयो भने इजराइल–फिलिस्तिन युद्ध समाप्त भयो भने विश्व अर्थ व्यवस्थामा केही सुधार आउन सक्ने सम्भावना देखिन्छ । विश्व अर्थ व्यवस्थामा सुधार ल्याउनका लागि इरानको शक्ति–विस्तार नीतिमा पनि परिवर्तन आउन आवश्यक छ । यसैगरी धार्मिक कट्टरता, जातीय हिंसा आदिमा पनि कमी आउन आवश्यक छ ।

विश्वको आर्थिक अवस्था कमजोर भएको स्थितिमा नेपालमा सरकार स्थिर हुनु झनै आवश्यक छ । विश्व अर्थ व्यवस्था अनिश्चित रहेको अवस्थामा नेपालमा अस्थिरता हुनु, छिटोछिटो सरकार परिवर्तन हुनु, नेपालको आर्थिक विकासका लागि कुनै पनि किसिमले उपयुक्त हुन सक्तैन । यो तथ्यलाई नेपालका सम्पूर्ण दल र तिनका नेताहरूले बुझ्न आवश्यक छ । देशमा गरीबी व्यापक किसिमले वृद्धि भएमा दलहरूकै भविष्य जोखिममा पर्नेछ । देशमा अनिश्चितता आउने छ । देश नचिताएको दिशातर्फ उन्मुख हुनेछ । त्यसकारण सरकार बाहिर रहेका दल र तिनका नेताहरूले यो सरकार ढाल्नुको सट्टा विपक्षमा रहेर राम्रो विपक्षी भूमिका निर्वाह गर्न आवश्यक छ । राष्ट्रको आर्थिक विकासमा समर्पित हुन आवश्यक छ । देश र जनताको लागि इमानदार बन्न आवश्यक छ ।

अहिले सत्ता परिवर्तन होइन, हाम्रो मनोविज्ञान परिवर्तन गर्न आवश्यक छ । दल र तिनका नेताहरूले आप्mनो स्वार्थी प्रवृत्तिमा परिवर्तन ल्याउन आवश्यक छ । सबै दल र तिनका नेताहरूमा त्यागको भावना हुनु आवश्यक छ । नेताहरूमा त्याग–भाव जागृत हुने हो भने नेपालको आर्थिक भाग्य चम्किन लामो सयम लाग्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here