प्रस, वीरगंज, ८ माघ/
वीरगंज महानगर अन्तर्गत ३२ वटै वडाका साना तथा ठूला नालाहरूको सफाइ कार्य भइरहेको छ ।

लामखुट्टेको प्रकोप घटाउन र आउँदो वर्षामा पानीको बहाव बढाउनका लागि महानगरपालिकाले साना तथा ठूला नालाको सफाइ कार्य शुरू गरेको हो । वीरगंज महानगरको साझेदार संस्था एके इन्टरनेशनलमार्फत वडा नं १ देखि ३२ सम्म साना नालाहरूको सफाइ कार्य भइरहेको छ भने महानगरपालिकाको सरसफाइ महाशाखाद्वारा १० फिटका ठूला नालाको सफाइ कार्य भइरहेको सरसफाइ प्रमुख सर्फुद्दीन मियाँले बताए ।

पहिलो चरणमा वडा नं १ देखि १६ सम्मका साना नालाहरूको सफाइ कार्य भइरहेको एके इन्टरनेशनलका शिव गुप्ताले बताए । उनले साना नालाहरूको सफाइ गर्दा नालामा पानीको बहावभन्दा माटोको मात्रा बढी भएको बताए । उनले नगरपालिका अन्तर्गत बनेका नाला तथा मझौला शहर एकीकृत वातावरण सुधार योजना तथा सघन शहरी कार्यक्रम अन्तर्गत निर्माण गरिएका नालाहरूमा काठको मात्रा बढी भेटिएको बताए ।

नाला निर्माण गर्दा स्ल्याब बनाउने ठाउँहरूमा काठको प्रयोग भएको र काम सकिएपछि सो काठ ननिकालिएको हुँदा अहिले नाला जाम भएको र ठूलो परिमाणमा काठ निस्किएको गुप्ताले बताए । महानगरका ८० प्रतिशतभन्दा बढी साना नालाहरू माटोले पुरिएको अवस्थामा भेटिएको र ठूलो सङ्ख्यामा मानिस तथा एक्साभेटर प्रयोग गरेर नाला सफाइ कार्य भइरहेको उनले बताए ।

३२ वटै वडाका साना नालाहरूको सफाइ कार्य हुने र अहिले १६ वटा वडालाई लक्षित गरेर पहिलो चरणको कार्य भइरहेको उनले बताए ।

यता, महानगरको सरसफाइ महाशाखाले जिल्ला प्रशासन कार्यालय, पर्सादेखि श्रीसिया नदीसम्म रहेको विश्व बैंकले निर्माण गरेको १० फिटे नाला सफाइ कार्य भइरहेको सरसफाइ महाशाखा प्रमुख मियाँले बताए । उनले एक्साभेटर पुग्ने ठाउँमा एक्साभेटरबाट र नपुग्ने ठाउँमा मानिसहरू खटाएर सफाइ कार्य भइरहेको बताए । नाला जाम भएको कारण लामखुट्टे वृद्धि हुने गरेको र वर्षायाममा पानीको बहाव पनि प्रभावित हुने हुँदा वर्षालाई लक्षित गरेर पनि अहिलेदेखि पूर्वतयारी गरिरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here