प्रस, वीरगंज, ७ माघ/
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले कृषि विकास बैंकले नामजस्तै किसानहरूको लागि कार्य गरेको बताएका छन् ।
कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा सोमवार मधेस प्रदेश कार्यालय, वीरगंजले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै बैंकले किसानलाई लक्षित गर्दै ल्याउने योजना र अनुदानलाई अझै फराकिलो पार्नुपर्ने सुझाए । उनले किसानलाई दिने अनुदानलाई निरन्तरता दिएर कृषकमैत्री कार्यक्रम बैंकले ल्याउनुपर्ने बताए । उनले किसानहरूका साथै बैंकले निजी क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताए । उनले निजी क्षेत्रमा लगानीको वातावरण रहेको बताउँदै बैंकले लगानी विस्तार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्ने बताए ।
कृषि विकास बैंक मधेस प्रदेश, वीरगंजका प्रबन्धक रामप्रसाद गजुरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल १३ नं गण वीरगंजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वरिष्ठ अधिवक्ता देवेन्द्र सिंह, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, पर्साका अध्यक्ष सञ्जयकुमार गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।