प्रस, रौतहट, ४ माघ/
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान २०८१ जिल्लास्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीसँगको अभिमुखीकरण बैठक शुक्रवार सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय, रौतहटले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान माघ २२ गतेदेखि देशभरि शुरू भई फागुन ६ गते सम्पन्न हुने जनाएको छ।
यो खोप खासगरी कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई लगाउने तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका बालिकाहरूलाई लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय, रौतहट प्रमुख राजेश सिंहले बताए।
नेपालमा पाठेघरको मुखको क्यान्सरको समस्या बढ्दै गएको अवस्थामा नेपाल सरकारले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिकाहरूलाई अभियान सञ्चालन गरी खोप लगाउने हुँदा सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रमुख सिंहले जिल्लामा दुई सय जनशक्तिलाई खोपबारे तालीम दिइसकेको बताए।जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या यादवको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी, प्रहरी उपरीक्षक दिलीप घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभिनय सिंह, नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जयकुमार कार्की, पूर्वअध्यक्ष प्रेमचन्द्र झा, प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरसहित स्वास्थ्यकर्मीहरू तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको खोप निरीक्षक अनिल कर्णले बताए।