प्रस, वीरगंज, २५ पुस/
वीरगंज महानगरपालिकाले सिंचाइको लागि बनाएको नहरलाई पुरेर सडक बनाउन थालेपछि स्थानीयहरू विरोधमा उत्रेका छन् । महानगरले नहर पुरी कालोपत्र सडक बनाएमा हजारौं किसानका खेत सिंचाइबाट वञ्चित हुने स्थानीयको भनाइ छ ।
नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगंजको नाममा नहरको जग्गा छ । वीमनपा–१९ (तत्कालीन अवस्थामा बर्वागोग टोल–६)स्थित टर्सरीको कित्ता नम्बर २८६ को जग्गा सिंचाइ कार्यालयको नाममा रहेको ट्रेस नक्शाले देखाएको छ । महानगरले सिंचाइ कार्यालयबाट आधिकारिक अनुमतिपत्रसमेत नलिई आफूखुशी नहर पुरेर सडक बनाउन लागेको भन्दै सिंचाइ कार्यालयले पनि आपत्ति जनाएको छ ।
सिंचाइ कार्यालयका प्रमुख मनोज पटेलका अनुसार स्थानीयहरूको खेत सिंचाइको लागि नेपाल सरकारले उक्त नहर बनाएको थियो । अहिले पनि नहर भएको क्षेत्र वरपरका खेतमा सोही नहरबाट सिंचाइ हँुदै आएको प्रमुख पटेलले बताए । उनले आप्mनो कार्यालयलाई जानकारी समेत नदिई महानगरले आफूखुशी सडक बनाउनु गलत कार्य भएको बताए । सिंचाइको लागि बनाइएको नहरलाई महानगरले रातारात पुरेर बाटो बनाउन थालेको भन्दै स्थानीय बृजकिशोर यादवलगायत २० जनाको हस्ताक्षर भएको निवेदन आएपछि आफूलाई थाहा भएको प्रमुख पटेलले बताए ।
यस विषयमा आफूसहित विन्ध्यवासिनीका किसानसहितको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर घटनाबारे जानकारी गराएको बताए ।
गण्डक नहर ब्लक नं ५ अन्तर्गत मूल नहरबाट बहुअरी, भौराटार, विश्रामपुर हुँदै केहुनियासम्म पुग्ने करीब एक किलोमिटर नहरलाई महानगरले पुरी सडक बनाउन थालेको हो । महानगरले करीब एक करोड रुपैयाँको लागतमा सडक बनाउने बताइन्छ ।
पानीको अभावमा खेतीपाती गरिरहेका पर्साका किसानहरू स्थानीय सरकारले नहर पुरेर बाटो बनाउन थालेपछि थप मर्कामा परेका छन् ।
यस विषयमा प्रजिअ गणेश अर्यालले किसानहरूको माग जायज भएको बताए । उनले महानगरले हाल गरिरहेको काम रोक्न प्रहरीलाई आदेश दिइसकेको बताए ।