प्रस, वीरगंज, २३ पुस/
पर्सा जिल्ला अदालतमा हुने विकृति, विसङ्गति, अनियमितता, बिचौलियाबाट न्याय सम्पादन र न्याय प्रशासनमा प्रभाव परेको भन्दै सो न्यूनीकरणका लागि वरिष्ठ अधिवक्ता दीपक राजभण्डारीको संयोजकत्वमा पहिचान समिति गठन गरिएको छ ।

यही पुस १९ गते पर्सा जिल्ला अदालतका न्यायाधीशहरू, बार एशोसिएशनका पदाधिकारी सदस्यहरू र जिल्ला न्यायाधिवक्तासमेतको सहभागितामा बैठक बसेर अदालतमा बढेका विकृति, विसङ्गति, अनियमितता र बिचौलिया न्यूनीकरणका लागि वरिष्ठ अधिवक्ता राजभण्डारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको पर्सा बारका अध्यक्ष कमलमोहन पोखरेलले बताए ।

समितिका सदस्यहरूमा अधिवक्ता पन्नालाल गुप्ता, तहसिलदार सुदीप पोखरेल, सहायक जिल्ला न्यायाधिवक्ता उमेश विजश्री थारू र अधिवक्ता कमलमोहन पोखरेल छन् । समितिले बिचौलियाहरूको पहिचान गर्ने र उनीहरूमाथि कसूर अनुसारको कारबाई सिफारिश गर्ने निर्णय गरेको छ ।

यसैगरी, सो कार्यलाई मूर्तरूप दिन जिल्ला न्यायाधीश दीपक खनालको संयोजकत्वमा कार्यान्वयन समिति पनि गठन भएको अधिवक्ता पोखरेलले बताए । कार्यान्वयन समितिमा जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौला, पहिचान समितिका पाँचैजना सदस्य, श्रेस्तेदार धनेन्द्र अधिकारी, नेपाल बार एशोसिएशनका अध्यक्ष सुधीर कर्ण रहेका छन् ।

न्यायपालिकामा विद्यमान विकृति, विसङ्गतिविरुद्ध यस अघि न्यायाधीश हरिकृष्ण अधिकारीको संयोजकत्वमा गठित समितिले सर्वोच्च अदालतमा बुझाएको प्रतिवेदन अनुसार पर्सा जिल्लामा पहिलोपटक यस्तो समिति गठन भएको पर्सा बारका अध्यक्ष कर्णले बताए । उनले न्यायाधीश अधिकारीको प्रतिवेदन कार्यान्वयनको लागि देशभरमा अहिलेसम्म यस प्रकारको समिति गठन नभएको र पर्सा जिल्लाले सुरुआत गरेको भन्दै अनियमित कार्यमा संलग्न जोसुकैलाई पनि समितिले कारबाई गर्ने अठोट लिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here