बाराका प्रजिअलाई कारबाई गर्न चिकित्सक सङ्घको माग

प्रस, वीरगंज, २३ पुस/
प्रादेशिक अस्पताल, कलैयामा पुस २१ गते आइतवार बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निरीक्षणको क्रममा चिकित्सकहरूलाई अभद्रशैलीमा अपशब्द प्रयोग गरेको भन्दै नेपाल चिकित्सक सङ्घ, नारायणी वीरगंजले भत्र्सना गरेको छ ।

सङ्घका अध्यक्ष डा मनोजकुमार गुप्ता, सचिव डा नौसाद हकले विज्ञप्ति प्रकाशित गर्दै प्रजिअ अधिकारीमाथि कारबाईको माग गरेका छन् । उपचारमा खटेका चिकित्सकहरूको मानमर्दन हुनेगरी बिरामीको अगाडि अपशब्द प्रयोग गरिनु पदीय जिम्मेवारी वहन गरेकालाई सुहाउँदो नभएको भन्दै प्रजिअविरुद्ध अविलम्ब कारबाई गर्न माग गरिएको छ ।

विज्ञप्तिमा कारबाई नभएको खण्डमा देशभरिकै शाखाहरूसँग समन्वय गरेर सङ्घर्षमा उत्रने चेतावनी पनि दिइएको छ । पुस २१ गते दिउँसो १२ बजे प्रजिअ अधिकारीसहितको टोलीले अनुगमन गरेको थियो । अनुगमनको क्रममा प्रादेशिक अस्पताल कलैयामा चिकित्सकहरू ठूलो सङ्ख्यामा अनुपस्थित रहेका र बिरामीहरू सेवाबाट वञ्चित भएको नगरप्रमुख विनोद साहले बताए । उनले कलैया अस्पतालमा कार्यरत चिकित्सकहरूको लापरवाहीबारे दिनरात आफूलाई पनि गुनासो आइरहेको र सोही क्रममा प्रजिअले अनुगमन गरेको बताए । उनले चिकित्सकसँग कुनै पनि दुव्र्यवहार नगरिएको र सेवामा नखटेका चिकित्सकहरूलाई कारबाई गर्ने चेतावनी दिइएको बताए ।

चिकित्सक सङ्घले भने पुस २१ गतेको घटनाबारे २२ गते सङ्घको टोलीले स्थलगतरूपमा अनुगमन गरेको र प्रजिअले चिकित्सकसँग दुव्र्यवहार गरेको ठहर भएपछि विज्ञप्ति जारी गरेको जनाएको छ ।