प्रस, वीरगंज, २० पुस/
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका–२२ जगरनाथपुरमा हरेन्द्र यादवको साढे तीन बिघामा उब्जिएको धानबालीको बोझामा भएको आगजनी घटनामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले अहिलेसम्म २२ जनासँग सोधपूछ गरिएको तर वास्तविक दोषी फेला पर्न नसकेको बताए । उनले संलग्न व्यक्तिको पहिचान नखुलेको कारण सोसम्बन्धी जाहेरी दर्ता नगरिएको बताए ।

पुस ६ गते जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेन्द्र यादवको जग्गामा अभिमुखीकरण गरेर गएपछि सोही दिन राति उनको साढे तीन बिघाको धानबालीमा आगजनी भएको थियो । पीडित यादवले जसपा नेपालको कार्यक्रम आफ्नो जग्गामा गर्न नदिनका लागि दबाब परेको र सोही दिन आगजनी भएको बताएका थिए ।

जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले घटनाको तीन दिनपछि पत्रकार सम्मेलन गर्दै आगजनी खानेपानीमन्त्री एवं जसपाका नेता प्रदीप यादवको इशारामा भएको आरोप लगाएका थिए । पुस १० गते जसपाका नगर अध्यक्ष ईश्वरचन्द्र यादवले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएर मन्त्री यादवलाई अनावश्यक विवादमा तान्ने काम भएको भन्दै घटनाका दोषीलाई कारबाही गर्न माग गरेका थिए । त्यसपछि जसपा नेपालले वीरगंजमा प्रदर्शन गर्दै आगजनीमा संलग्नहरूलाई कारबाहीको माग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here