प्रस, सिम्रौनगढ, २० पुस/
बाराको मटिअर्वासँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र घोडासहनबाट एक क्विन्टल नौ किलो ५०० ग्राम गाँजासहित एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
सूचनाको आधारमा आदापुर थाना प्रहरी र एसएसबीको संयुक्त टोलीले शुक्रवार नेपालबाट भारततर्फ लग्न लागेको सो परिणामको गाँजासहित एकजनालाई पक्राउ गरिएको भारतीय प्रहरीले जानकारी गराएको छ । आदापुर थाना क्षेत्रको लहरा गाउँको सैनिक टोलबाट प्रमोद साहलाई पक्राउ गरिएको र अन्य तस्कर समूह भने भाग्न सफल भएका थिए ।
हिजो बिहान लागेको कुहिरोको फाइदा उठाएर तस्करहरू एक क्विन्टल नौ किलो ५०० ग्राम गाँजा फ्याँकेर भाग्न खोजेका र त्यसमध्ये साहलाई मात्र पक्राउ गर्न सकिएको प्रहरीले जनाएको छ ।
टोलीमा अनुमण्डल पुलिस पदाधिकारी रक्सौलका धीरेन्द्र कुमार, एसएसबीका निरीक्षक राजकुमार शील, आदापुर थानाका धर्मवीरकुमार चौधरी, कन्हैयालाल सिंह, नूतन कुमारीलगायत सहभागी थिए । बरामद गाँजा र मानिसलाई आवश्यक कारबाहीको लागि मोतिहारी जिल्ला पठाइएको छ ।