प्रस, सप्तरी, २६ पुस/
सप्तरी जिल्लाको रूपनी गाउँँपालिका वडानं. ६ तेरहौतास्थित शनिदेव मन्दिरनेपाल तथा भारतीय पर्याटकको लागि गन्तव्यको रूपमा विकास हुँदै छ। चुरे पहाडको जङ्गलमा अवस्थित शनिदेव मन्दिर धार्मिक स्थल एवं पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहको आगन्तुकहरूको संख्यले नै पुष्टि गर्छ।
जिल्लाको उत्तरतर्फ विकट स्थानमा रहेको शनिदेव मन्दिरमा हरेक शनिवार ४/५ हजारको संख्यामा श्रद्धालु भक्तजनहरू पुग्ने गरेका छन्। राम्रो र मनोरम तथा प्रकृतिक रूपमा सुन्दर शान्त स्थानको खोजी गर्नेहरू पनि उक्त स्थानमा पुग्ने गरेका छन्। शनिदेव मन्दिर धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकसित भइरहेको रूपनी गाउँपालिका जनप्रतिनीधिहरूले पनि महसुस गरेका छन् तर उक्त क्षेत्रको विकास एवं संरक्षणका लागि प्रयाप्त बजेटको अभावमा आवश्यक पुर्वाधार तयार गर्न नसकिएको बताइरहेका छन्।
चुरेभावरको काखमा अवस्थित शनिधाममा क्षेत्रको प्रकृतिक दृष्य तथा भौगोलिक अवस्थ पनि मनोरम भएकोले उक्त क्षेत्रमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो तर सो स्थानसम्म पुग्नकालागि भने सडक पुर्वाधारको विकास नभएकाले समस्या छ। शनिवार बाहेक अन्य दिन पनि मन्दिर दर्शन र सो क्षेत्रको दृष्यअवलोकनका लागि आन्तरिक पर्याटकहरू पुग्ने गरेका स्थानीय बासिन्दाले बताएका छन्। तर शनिवार भने बिहानैदेखि निक्कै घुइँचो हुनेगरेको छ।
पूर्व–पश्चिम राजमार्गमा पर्ने वीरेन्द्र बजारदेखि करिब चार किलोमिटरको दुरीमा उत्तरतर्फको चुरे जङ्गलमा मन्दिर क्षेत्र रहेको भएता पनि राजमार्ग देखि शनिदेव धामसम्म पुग्ने भौगोलिक अप्ठ्यारो, सडक पुर्वाधारको विकास नभएको तथा बाटोमा पर्ने खोलाहरूमा पुल नबनेको कारण पर्याटकहरूका लागि असहज बनेको हो। यधपी पछिल्लो समय भारतीय पर्याटकको संख्यामा निक्कै बृद्धि भएको मन्दिर जाने बाटो नजिकै घर भएका स्यामा थापाले बताए।
थापाले भने “कोरोना महामारीमा पनि यहाँ पर्यटकको चहलपहलमा केही कमी देखिएको भए पनि सीमा नाका खुकुलो हुने वितिकै भारतीय पर्याटकहरूको संख्या निक्कै बृद्धि भएको छ।” शनिवार सरकारी बिदा भएकाले मुलुकका विभिन्न स्थानबाट सरकारी कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा सर्वसाधारण शनिदेव मन्दिरमा पूजापाठ गर्न आउने हुँदा उक्त दिन आन्तरिक पर्याटकको संख्या पनि उल्लेखनीय हुने गरेको उनले बताए।
‘शनिधाम’को नामबाट परिचित यस मन्दिरमा आएर सात शनिवारसम्म पूजापाठ गरेमा मनोकाङक्षा पूरा हुने जनविश्वास छ। शनिदेव धाम चर्चामा आएको दुइ दशक भयो। विसं २०५६ चैत महिनामा सपनामा शमीको रूख देखेको र विपनामा सो रूख खोजी गर्ने क्रममा मन्दिर फेला परेको सो मन्दिरका पुजारी सत्यनारायण साह बताउँछन्। सपनाको आधारमा ऐतिहासिक तथा पुरातात्विक महात्वको मन्दिर नै फेला परे पछि यसलाई सत्य र दैवि शक्ति मानेर शनि दशा लागेकाहरूको ग्रहशान्ति गर्न थालिएको पण्डित साहले बताए। मन्दिर स्थलमा शमीको रूखको जराले बेल, मिरचाइ, अमरा, फूल धाप, गजहर, साधानका रूखलाई चारैतिरबाट बेरिएका हुँदा सात वृक्षको सङ्गम भएकोले पनि साँढे सातको शनि दशा लागेकाहरूको ग्रहाशान्ति हुने जनविश्वास छ। कालो पत्थरको शनिदेवको मूलप्रतिमा शमीको रूखमुनी स्थापित छ। पहाडको टाकुरामा रहेको र धेरै पुरानो लाग्ने यस मन्दिर मर्मतसम्भार तथा संरक्षण हुन सकेको छैन। मन्दिरको अस्तित्व सङ्कटमा पर्न थालेपछि तीन वर्षअघि नेपाली सेनाको सहयोगमा जीर्णाेद्वार गरिएको थियो। त्यस पछि याहाँ थप काम हुन सकेको छैन। दैनिक हजारौँ भक्तजनको आवागमन हुने राजमार्ग देखि मन्दिरसम्मको बाटो पनि बन्न सकेको छैन।
सो मन्दिर पुग्न एउटै नदी सात ठाउँमा घुमेर जानुपर्ने भएकाले बाटोमा पर्ने सो नदिमा पुल निर्माण हुन सके अझै पर्यटक तथा भक्तजनलाई सहज हुने मन्दिरका पूजारी भूपेन्द्र यादवले बताएका छन्। मन्दिरलाई अझै व्यवस्थित गर्न सकिए थप पर्यटक भित्रयाएर समग्र जिल्लाको विकास तथा समृद्धिमा टेवा पुग्नसक्ने मन्दिरका पूजारी यादवको भनाई छ।
उक्त मन्दिरको पर्खाल निर्माणका लगि प्रदेश नं २ सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा पक्की पर्खाल बनाउनका लागि रू २५ लाख रकम सहयोग गरेको रूपनी गाउँँपालिकाको कार्यालयले जानकारी गराएको छ। उक्त रकमको काम छिट्टै हुने र थप कामको लागि आउँदो बर्षहरूमा आवश्यकतानुसारको बजेट विनियोजन गर्दै जाने प्रदेश नं. २ सामाजिक विकास मन्त्रलयले जनाएको छ।