प्रस, वीरगंज, १५ पुस/
सखुवाप्रसौनी गाउँपालिकामा हिजो आइतवार आयोजित एमालेको आमसभामा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले आफ्नै पार्टीबाट निर्वाचित गापाध्यक्ष यशवन्त यादवलाई पाखा लगाएको प्रकाशमा आएको छ ।

कार्यक्रम अवधिभरि सहभागी वक्ताहरूले मन्तव्यको क्रममा गापाध्यक्ष यशवन्त यादवको नाम उच्चारण नै गरेनन् । आफ्नै पालिकामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री आएका र आफूलाई कुनै पनि गतिविधिमा सामेल नगराइएकोमा गापाध्यक्ष यादव त दुःखी छन नै उनका समर्थकहरू आक्रोशित बनेका छन् ।

कार्यक्रममा सहभागी अतिथिहरूले मन्तव्यको क्रममा नवप्रवेशी जसपा नेपालबाट निर्वाचित पूर्वगापाध्यक्ष प्रदीप जयसवाल र उनका दाइ स्वतन्त्र उम्मेदवारबाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रमोद जयसवालको नाम रटान गरे । नेकपा एमाले पर्साले आयोजना गरेको कार्यक्रममा आफूलाई कुनै क्रियाकलापमा सहभागी नगराउँदा उनी दुःख मनाउ गर्दैछन् । उनले पार्टी पङ्क्तिबाट आफूलाई नियतवश होच्याउने काम भएको भनी दुःखेसो पोखेका छन् । उनले पार्टी सङ्गठनको कुरा भएकोले यसको छिनोफानो पार्टीको बैठकमा गर्ने बताएका छन् ।

सखुवाप्रसौनी गापामा अध्यक्ष यादव र पूर्व गापाध्यक्ष जयसवालबीच लामो समयदेखि राजनीतिक प्रतिस्पर्धा रहँदै आएको छ । २०७४ को स्थानीय निर्वाचनमा यादव तमलोपाबाट लडेका थिए भने जयसवाल जसपा नेपालबाट । जयसवाल एमालेका नीलराज गिरीसँग झिनो मतान्तरले विजयी भएका थिए । यादव तेस्रो नम्बरमा थिए । २०७९ को स्थानीय निर्वाचनमा यशवन्त यादव एमालेबाट लडेर जसपा नेपालका प्रदीप जयसवाललाई पराजित गरेका थिए । शुरूदेखि प्रतिस्पर्धी भूमिकामा रहेका यादव र जयसवाल अहिले एकै पार्टीमा रहँदा पनि विवाद कायम नै छ । हिजो प्रम ओलीलाई स्वागत गर्ने क्रममा पनि दुईवटा हेलिप्याड बनेको थियो । गापा कार्यालयले बनाएको हेलिप्याडविरुद्ध जयसवालले पनि अर्काे हेलिप्याड बनाएको तर सुरक्षा समितिले गापाको हेलिप्याडलाई वैधानिकता दिएर सोही स्थानमा प्रम ओली चढेको हेलिकप्टर अवतरण भएको थियो ।

अहिले जयसवाल एमालेमा प्रवेश गर्दाको अवस्थामा यादव आगामी निर्वाचनमा आफूले टिकट नपाउने हो कि भन्ने आशङ्का पालेर पार्टीको कार्यक्रममा उत्साहजनक सहभागिता नजनाएको एमाले पर्साका अध्यक्ष डा विश्वम्भर शर्मा बताउँछन । उनले पर्साबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख, गापाध्यक्ष र उपाध्यक्षहरूलाई मञ्चमा आसन ग्रहण गराइएको तर गापाध्यक्ष यादव एकैछिन बसेर बाहिरिएको बताए । उनले गापाध्यक्ष यादवलाई पार्टीबाट पाखा नलगाएको र यादवले आफ्नो गापामा प्रम ओलीलाई हेलिप्याडमा स्वागत गरेर मञ्चसम्म पु¥याएर आफू पनि आसन ग्रहण गरेको बताए । एमाले पर्साका इन्चार्ज एवं सांसद प्रभु हजराले पनि गापाध्यक्ष यादवलाई पाखा नलगाइएको बताए । उनले प्रमको कार्यक्रम केन्द्रबाट तय भएको र सो तालिकामा गापाध्यक्षले राखेको सडक उद्घाटन कार्यक्रम समय अभावले हुन नसक्दा उनले खल्लो मानेको हुन सक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here