बलिराम शुक्ला, बडनिहार, १५ पुस/
पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिकामा गत आव २०८०/८१ मा विभिन्न कार्य गरेका फर्महरूको करीब रु ६० लाख बढी मूल्य अभिवृद्धि कर गाउँपालिकाले कट्टा गरेको तर आन्तरिक राजस्व कार्यालयमा दाखिला नगरेको व्यापारिक फर्महरूले गुनासो गरेका छन् ।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह र तत्कालीन लेखापाल सोनुकुमार सोनी सरुवा भएपछि मूअकर दाखिला नभएको जनाइएको छ ।

प्रप्रअ साहको पटेर्वासुगौलीबाट पकाहामैनपुर गाउँपालिकामा सरुवा भएको र लेखापाल सोनुकुमार सोनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विभिन्न मुद्दामा आरोपित हुँदा निलम्बनमा परेपछि मूअकर दाखिला हुन नसकेको पालिका कार्यालयले जनाएको छ ।

मूअकर दाखिला नगर्दा करीब २५ भन्दा बढी फर्मले करचुक्ता प्रमाणपत्र पाउन सकेका छैनन् । हाल बहालमा रहेका लेखाप्रमुख धनञ्जय दाससँग सोध्दा तत्कालीन प्रप्रअ साह र निलम्बित लेखापाल सोनीले कुन कुन फर्मको के कति मूअकर काटेको र सो कर रकम किन दाखिला नगरेको सन्दर्भमा आवश्यक कागजातहरू प्रमाणित गरेर नदिएका कारण कर रकम दाखिला हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

गाउँपालिका स्रोतका अनुसार मूअकर रकम गत आवमा नतिरेपछि त्यस शीर्षक अन्तर्गतका बजेट फ्रीज भएको छ । हाल गाउँपालिकाले मूअकर काट्ने बित्तिकै दाखिला गर्नुपर्ने प्रावधान छ । आन्तरिक राजस्व कार्यालय, वीरगंजले मूअकर असुली गर्न ताकेता गरे पनि गापाले चासो नदिएको स्रोतले जनाएको छ ।

गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहतासँग यस विषयमा बुझ्दा उक्त राजस्व रकम गाउँपालिकाले छुट्याएर मात्रै तिर्ने र सोको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएका छन् । गाउँपालिकाले भुक्तानी गर्दा मूअकर रकमको ३० प्रतिशत कट्टा गरी आन्तरिक राजस्व कार्यालयमा जम्मा गर्नुपर्ने प्रावधान रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here