माधव तिमिल्सीना, ठोरी, १३ पुस/
कहिले हात्तीको आतङ्क अनि कहिले बाघबाट ज्यान जोगाउन धौधौ हुने ठोरीवासीको पीडा नै हो । खोरमा झम्टिएर बाघले बाख्रा नै लैजाने गरेको त हिसाबकिताब नै हुन छाडिसक्यो ठोरीमा । ठोरीवासीलाई जङ्गली जनावरबाट ज्यान मात्र जोगाएर पुग्दैन, वर्षभरि खानुपर्ने अन्नबाली पनि जोगाउनुपर्ने ठूलो चुनौती छ ।

जाडोयाम शुरू भएसँगै ठोरीमा जङ्गली जनावरको आतङ्कले किसानले भोग्नुपर्ने हैरानी पनि हरेक वर्ष बढ्दै जान थालेको छ । जङ्गल किनारका खेतबारीमा लगाइएका तोरी, गहुँ, आलु, कोदोलगायतका हिउँदेबाली मात्र होइन पछिल्लो समय जनावरकै आतङ्कबाट बच्न लगाइएको सुर्तीबालीमा समेत जनावरले क्षति पु¥याउन थालेका छन् । जङ्गल किनारमा लगाइएका तारबारसमेत नाघेर खेतबारीमा जङ्गली जनावरले रजाइँ गर्न थालेपछि ठोरीका किसानको चिन्ता थपिएको छ ।

ठोरीका अधिकांश खेतबारीमा फाटेका लत्ताकपडा टाँगेर मान्छेजस्तै पुतला बनाएर पनि कुनै उपाय नलागेको किसानले बताएका छन् । घरभरि भएका थोत्रा कपडा लगेर खेतबारीमा झुन्ड्याउँदा पनि जनावरले दुःख दिन नछोडेको ठोरी–४ का किसान हरि तिमिल्सिनाले बताए । पर्सा राष्ट्रिय निकुञ्जबाट करीब दुई किमी दक्षिणतर्फ रहेको गाउँसँगै जोडिएको आफ्नो तोरीबालीमा जङ्गली जनावर ओहोरदोहोर गरेर ठूलो नोक्सानी पु¥याएको उनले बताए । जनावरकै कारण तोरी र गहुँ बालीमा क्षति पुगेको ठोरी–२ बुद्धनगरका किसान जीवनाथ ढुङ्गेलले बताए । ८० वर्षीय ढुङ्गेलले आफ्नो जीवनकालमा यसभन्दा अघि यतिधेरै जनावरले दुःख कहिल्यै नदिएको स्मरण गर्दै बताए । अध्यात्ममा विश्वास राख्ने ढुङ्गेलले कलियुगमा जनावरहरू खेतबारीमा छाडा भएर चर्ने कुरा आफूले शास्त्रमा पढेको बताउँदै शायद कलियुग यही भएको भनेर चित्त बुझाएको बताए ।

विद्युत् सुविधा पुगेका खेतबारीमा किसानले जनावर धपाउनकै लागि रङ्गीन बत्ती जडान गरेका छन् । रातभरि खेतमा बिजुली महसूल तिरेर भएपनि किसानले रङ्गीचङ्गी बत्ती बाल्छन् तर कतिबेला जनावर चर्न आइपुग्छ, किसानले पत्तो पाउन सकेका छैनन् । बत्ती बालेर राखेर पनि राति हरिण, नीलगाई, बँदेल जस्ता जनावरहरूले दुःख दिने गरेको किसानहरू बताउँछन् ।

पुराना बोरा र सेता प्लास्टिक खेतबारीमा झुन्ड्याउँदा पनि जनावरको आतङ्क भने नघटेको ठोरी–४ का किसान जयबहादुर पाख्रिनको गुनासो छ । ठोरीका कतिपय किसान त बाली जोगाउनकै लागि राति घरबाहिर खेतमा नै सुत्ने गरेका छन् । पहरा दिएर बस्दा पनि बाली जोगाउन नसकिएको सोही वडाका किसान मानबहादुर तामाङले बताए ।

पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको सिमानामा पर्ने वाल्मीकि टाइगर परियोजना अन्तर्गतको जङ्गलले तीनतिरबाट घेरिएको ठोरीका पाँचवटै वडा जङ्गली जनावरबाट प्रताडित छन् । पालिकाले जङ्गली जनावर नियन्त्रणका योजना ल्याउनुपर्ने यस क्षेत्रका किसानको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here