दक्षिण कोरिया, १४ पुस/योन्हाप
दक्षिण कोरियाको मुआनमा १८१ यात्री बोकेको विमान दुर्घटना भएको छ । बैंककबाट फर्कंदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए ।

जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा दुईजनाबाहेक अन्य यात्री जीवित रहेको हुन सक्ने सम्भावना क्षीण देखिएको छ ।

पर्खालमा ठोक्किएपछि विमानमा आगलागी भएको थियो । अहिलेसम्म ९४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक चालक दलका सदस्य र एक यात्रीलाई जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।

सियोलबाट करीब २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किंदा दुर्घटना भएको हो । दुर्घटनाबाट उद्धार गरिएका दुईजनाबाहेक सबै यात्रुको मृत्यु भएको अनुमान गरिएको अग्निनियन्त्रक अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले दुर्घटनामा परी अहिलेसम्म ९४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । “विमान भित्तामा ठोक्किएपछि यात्रीलाई विमानबाट बाहिर निकालिएको थियो । जीवित उद्धार भएका दुर्ई यात्रीको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ,” अग्निनियन्त्रक निकायका एक अधिकारीले भने ।

“विमान लगभग पूर्णरूपमा ध्वस्त भइसकेको छ र मृतकको पहिचान गर्न कठिन छ,” ती अधिकारीले भने ।

उनले भने, “अहिले हामी जलेका मृत शरीर निकाल्ने प्रक्रियामा छौं, यसका लागि केही समय लाग्नेछ ।”

दुर्घटनालगत्तै एक यात्री र चालक दलका एक सदस्यलाई उद्धार गरी मोक्पोको एक अस्पतालमा उपचार भइरहेको छ ।

विमानमा सवारमध्ये दुईजना थाई नागरिकबाहेक अधिकांश कोरियाली नागरिक थिए । स्थानीय टिभी स्टेशनहरूले प्रसारण गरेको भिडिओमा विमानले आफ्नो ल्यान्डिङ गियरविना नै अवतरण कोशिश गरेको देखाइएको छ । विमान भुइँमा चिप्लिंदा कङ्क्रिटको पर्खालमा ठोक्किएर विस्फोट भएको र त्यसबाट एक्कासि आगोको ज्वाला निस्किएको थियो ।

अधिकारीहरूका अनुसार चरासँग ठोक्किएका कारण ल्यान्डिङ गियर फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारणबारे थप विवरण पत्ता लगाउन स्थलगत अनुसन्धान शुरू भएको छ ।

दक्षिण जिओलका अधिकारीहरूले उच्चस्तरमा आपत्कालीन निकायहरूलाई सक्रिय पारेका छन् र सबै उपलब्ध उद्धार र प्रहरी कर्मचारीहरूलाई दुर्घटनास्थलमा तैनाथ गरेका छन् ।

कार्यवाहक राष्ट्रपति चोइ साङ–मोक मध्याह्नतिर दुर्घटनास्थलमा पुगी घटनास्थलको निरीक्षण गरेका थिए । उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै अधिकारीहरूलाई उद्धार कार्यका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here