प्रस, वीरगंज, १२ पुस/
रक्तसञ्चार केन्द्र, वीरगंजमा रगतको अभाव भएको छ । प्रत्येक वर्ष अत्यधिक गर्मी, जाडो र चाडपर्वहरूमा रगतदान कार्यक्रम कम हुने र रगतको माग बढी हुने हुँदा केन्द्रमा रगत अभाव हुने गरेको छ ।
रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बिहीवारसम्म केन्द्रमा सबै समूहको रगत अभाव रहेको बताए । उनले दैनिक ६० देखि ७० पिन्ट रगतको माग रहेको तर रक्तदान कार्यक्रम कम भएको तथा भएका रक्तदान कार्यक्रममा पनि आशाप्रदरूपमा रगत सङ्कलन नहुँदा माग धान्न नसकिएको बताए ।
यसैबीच, शुक्रवार वीरगंजका दुई र रौतहटमा एक गरी तीन स्थानमा भएको रक्तदान कार्यक्रममा २२१ जनाले रक्तदान गरेका छन् । वीरगंज महानगर–१० आदर्शनगरस्थित प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्टले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित १०४ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा रश्मि श्रेष्ठ, प्रीति पटेल, मङ्गीता कुमारी, खुश्बू गुप्ता, सञ्जयदास थारू, बडेलाल चौधरी, अजयकुमार चौधरी, विजय चौधरी थारू, देवनारायण चौधरी, अमरकुमार गुप्ता, स्वागतम चौधरी, रञ्जयकुमार गुप्ता, रोहित पासवान, ओमप्रकाश कर्ण, सरोजकुमार सिंह, उपेन्द्र प्रसादलगायतले रक्तदान गरेका रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख पाण्डेयले बताए । कार्यक्रम ट्रस्टका अध्यक्ष पुष्पादेवी खण्डेलवालको अध्यक्षतामा भएको थियो ।
यसैगरी, सिद्धार्थ बैंक, वीरगंज शाखाले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा दुई महिलासहित ६३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक मनीष गुप्ताले बताए ।
कार्यक्रममा रितेशकुमार रमण, नीतेश खड्की, गोपीराम महतो, इन्द्रदेव साह, दीपम गोयल, धना आले, शिवा सिंहलगायतले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेयले जानकारी दिए । बैंकका मधेस प्रदेश प्रमुख सुदीप ताम्राकारको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसैगरी, आजै रौतहटको चन्द्रपुरस्थित चन्द्रकान्ता बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ५४ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।