प्रस, वीरगंज, ११ पुस/
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयको प्रस्तावमा पर्सा जिल्लाको पोखरिया नगरपालिकामा मेन्टेनेन्स नापी तथा भूमिसुधार तथा मालपोत कार्यालयको सेवाकेन्द्र स्थापना गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले पर्सा जिल्लामा जनसङ्ख्याको चाप, सेवा लिनुपर्ने ठाउँको दूरी तथा समयलगायतका विषयलाई विश्लेषण गर्दै सेवाप्रवाहलाई छिटो, छरितो, प्रभावकारी र नागरिकमैत्री बनाइ समयमैं सेवा उपलब्ध गराउने उद्देश्यले पोखरिया नगरपालिकामा तत्कालको लागि भूमिसुधार तथा मालपोत र मेन्टेनेन्स नापी कार्यालयको सेवाकेन्द्र स्थापना गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको बताए ।

पोखरियालगायत पर्साका ग्रामीण भेगमा बसोबास गर्ने बासिन्दालाई सरकारी सेवामा सहज पहुँच पु¥याउन यो निणयले ठूलो सहयोग पुग्ने मन्त्री गुप्ताले बताए ।

प्रस्तावमाथि मन्त्रिपरिषद् बैठकले छिट्टै निर्णय गर्दै कार्यालय सञ्चालनमा ल्याउने अपेक्षा रहेको उनले बताए । पर्सा जिल्लामा सरकारी कार्यालयहरू मालपोत, नापी र जिल्ला प्रशासन कार्यालयका सेवाकेन्द्र स्थापनाका लागि स्थानीय पालिका, राजनीतिक दलका प्रतिनिधिहरूले लामो समयदेखि पहल गर्दै आएका थिए । राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन समानीले पनि सरकारी सेवाकेन्द्र पोखरियामा स्थापनाका लागि पहल गर्दै आएका थिए ।

पूर्वनगरप्रमुख दीपनारायण रौनियारदेखि हालका नगरप्रमुख प्रद्युम्न चौहानले स्थानीय जनप्रतिनिधिहरूलाई सहभागी गराएर सङ्घ तथा प्रदेश सरकारको यस विषयमा बारम्बार ध्यानाकर्षण गराउने कार्य गरेका थिए ।

गत साता मन्त्रिपरिषद्को बैठकले पोखरिया जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here