प्रस, पर्सागढी, ११ पुस/
पर्सागढी नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंको आयोजनामा पर्सागढी नपा–४ बर्वाटाँडीमा बिहीवारदेखि तीन दिने निश्शुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन भएको छ ।
पर्सागढी नपाको आयोजना र तिलगङ्गाको सहकार्यमा यस अघि नपाका नौवटै वडामा निश्शुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा १६०० जनाले आँखा जाँच गराएकामा ७०० जनामा मोतीबिन्दु फेला परेको शिविरका सहयोगी महेशसिंह धामीले बताए ।
उनले तीन दिने शिविरमा ७०० जनाको मोतीबिन्दुको निश्शुल्क शल्यक्रिया गरिने बताए । बिहीवार २३० जनाको नाम दर्ता भएको र उनीहरूको शल्यक्रिया गरिने जानकारी दिए ।
नेरामावि, बर्वाछटौलीमा आयोजित निश्शुल्क शल्यक्रियामा डा सागर रोहित, डा एलिना घलान, डा दीक्षा विष्टले शल्यक्रिया गरेको र सोको सहजीकरण चन्द्रकला राईले गर्दै आएको सहयोगी धामीले बताए ।