प्रस, वीरगंज, ११ पुस/
जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले गत शनिवार पुस ६ गते पार्टी अध्यक्ष उपेन्द्र यादवले वीरगंज महानगर–२६ जगरनाथपुरस्थित हरेन्द्र यादवको जग्गामा आमसभा गरेको विषयलाई लिएर निजको तीन बिघामा लगाइको धानबाली आगो लगाएर नष्ट गरिएको आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पत्रकार सम्मेलन गर्दै उनले उनले जसपा (प्रदीप यादव) समर्थक नरेश यादव, उमेश साह तेलीलगायत चारजनाले हरेन्द्र यादवलाई कार्यक्रम गर्न नदिन दबाब दिएको, कार्यक्रम गरे पनि मन्त्री प्रदीप यादवविरुद्ध विरोधाभासपूर्ण भाषण नगर्न चेतावनी दिएको र पछि कार्यक्रम सकिएलगत्तै त्यसै राति तीन बिघा धानबालीमा पेट्रोल छर्केर आगो लगाएको आरोप लगाए ।
अध्यक्ष यादवले प्रदीप यादव समर्थकहरूले ह्वाट्सएपबाट दिएको धम्कीको प्रमाण सुरक्षित रहेको र यसबारेमा प्रहरीमा उजूरी गर्दा प्रहरीले सुनवाइ नगरेको आरोप लगाए । कार्यक्रम गर्न नदिने, गरेपछि आगजनी गर्नेजस्ता गैरराजनीतिक चरित्र प्रदर्शन गरेर गुण्डागर्दीशैलीमा प्रस्तुत भएको आरोप लगाए ।