नेपालमा विगतमा भन्दा हरिया तरकारी तथा फलफूलको उत्पादन र उपभोग दुवैमा वृद्धि भएपनि विषादी प्रयोगमा सचेत हुन सकेको छैन । यो क्षेत्र विषादी प्रयोगका कारण गम्भीर स्वास्थ्य र पर्यावरणीय समस्याको स्रोत बन्दै आएको छ । हालै धनुषाको ढल्केबरमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरियो, यो स्वागतयोग्य पहल हो । तर यसरी एक/दुई स्थानमा प्रयोगशाला स्थापनाले मात्र विषादीको भयावह समस्यालाई न्यूनीकरण गर्न पर्याप्त हुँदैन । स्वस्थ उपभोग्य वस्तु उपभोग गर्न पाउनुपर्ने उपभोक्ताको अधिकार हो । यस्ता प्रयोगशाला हरेक तरकारी बजारमा हुनुपर्छ । लगानी लाग्ला, एउटा प्रयोगशाला स्थापना गर्दा ४० लाख रुपैयाँ लागेको छ । विषादीयुक्त तरकारी तथा फलफूलको उपभोगबाट सृजित घातक रोगहरूका कारण वार्षिक अर्बौं रुपैयाँको क्षति छ । सङ्घ वा प्रदेश सरकारको मुख ताक्ने होइन, हरेक पालिकामा त्यहाँको पालिका सरकारले विषादी प्रयोगशाला स्थापना गर्नुपर्छ । पालिकावासीको स्वास्थ्यभन्दा ठूलो चीज अरू के हुन सक्छ ? हरिया तरकारी र फलफूल उत्पादनमा अत्यधिक विषादीको प्रयोग भइरहेको छ ।

तरकारी, फलफूलमा प्रयोग भएका विषादी सेवनका कारण क्यान्सर, मिर्गौलासम्बन्धी रोग, पेटको समस्या र मानसिक स्वास्थ्यमा असरलगायतका स्वास्थ्य समस्या निम्तिने गरेको छ । विषादीका अवशेषले मानवको स्वास्थ्य प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्छ । विषादी प्रयोग गर्नै नहुने भन्ने कुरा होइन । विषादी प्रयोगको मात्रा र अवधिले फरक पर्छ । उपभोक्ताले विषादी प्रयोगको समय र मात्राबारे जानकारी नपाउँदा विषादीयुक्त तरकारी र फलफूल उपभोग गरिरहेका छन् । अधिकांश नेपाली कृषकले विषादी प्रयोग गर्छन् । विषादी प्रयोगपछि उपभोग्य अवधि नहुँदै तरकारी तथा फलफूल बजारमा पु¥याउने कृषक पनि धेरै छन् । यसले स्थिति झन् भयावह बनाएको छ । सङ्घीय सरकारको पहलमा ढल्केबरमा स्थापना भएको प्रयोगशालाको सहीरूपमा प्रयोग हुन सके सो क्षेत्रका उपभोक्तालाई प्रत्यक्ष फाइदा पुग्नेछ । तर उपभोक्ता र विक्रेता दुवैको अचेतनपनका कारण प्रयोगशाला पूर्णरूपले प्रयोगमा आउने कुरामा पनि शङ्का छ । ३५ प्रतिशतभन्दा कम विषादी भएका कृषिउपज खानयोग्य हुन्छन् । यो तथ्य कृषक, उपभोक्ता र विक्रेताले जान्न जरुरी छ ।

कृषकलाई विषादी छर्ने समय, मात्रा र त्यसपछि उत्पादन कति दिनपछि टिप्न मिल्छ भन्नेबारे जानकारी गराउनुपर्छ । यो प्रयोगशालाको स्थापनाले अब त्यस क्षेत्रका कृषक, विक्रेता र उपभोक्तामा यी जानकारी सञ्चार हुनेछन् । प्रयोगशाला स्थापनालाई विषादीको समस्या समाधानतर्फ पहिलो कदम मान्नुपर्ने हुन्छ । बाँकी कुरा यसपछिका हुन् । अटेर गरी उपभोग्य मात्राभन्दा बढी विषादी प्रयोग गर्ने वा उपभोग्य मिति नहुँदै बजारमा ल्याउने कृषक तथा विक्रेतालाई गरिने कारबाईका कुराहरू यसपछि होला । भारतबाट आयात हुने तरकारी र फलफूल झन् विषादीयुक्त छन् । परीक्षणविना नै बजारमा पुग्ने गरेका छन् । यसले उपभोक्ता स्वास्थ्यमा झन् ठूलो जोखिम थपेको छ । सीमानाकामा विषादी परीक्षण प्रयोगशाला नहुँदा भारतीय उत्पादनले नेपाली बजारमा निर्बाधरूपले उपभोक्ता पाएका छन् । भारतीय तरकारीमा विषादीको स्तरबारे भारतमैं कुरा उठिरहँदा पनि नेपाली उपभोक्तालाई जानकारी छैन । यसर्थ पनि हरेक नाकामा प्रयोगशाला स्थापना आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here