प्रस, परवानीपुर, ९ पुस/
वीरगंजमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को महŒवाकाङ्क्षी कार्यक्रम वुमन्स क्रियो फेस्टिभल मङ्गलवार सम्पन्न भएको छ । नेपाल क्रिकेट सङ्घको सहयोग एवं पर्सा क्यानको आयोजनामा नारायणी क्रिकेट मैदानमा आयोजित कार्यक्रममा वीरगंजका करीब २५० जना छात्रालाई क्रिकेटसम्बन्धी प्रशिक्षण दिइएको थियो ।
कार्यक्रम नेपालका ७७ जिल्लामध्ये १० वटा जिल्लामा मात्रै आयोजना हुने जनाइएको छ । मधेस प्रदेशका पर्सा र धनुषामा यो कार्यक्रम आयोजना हुने क्यानका उपाध्यक्ष रोशन सिंहले बताए । कार्यक्रमको उद्घाटन मधेस प्रदेश सरकारका खेलकूदमन्त्री प्रमोद जयसवालले गरेका थिए ।
उनले नेपालमा क्रिकेटको भविष्य राम्रो रहेको बताउँदै मधेस प्रदेशबाट पनि प्रतिभावान् क्रिकेटरहरू राष्ट्रिय टोलीबाट खेलिरहेको बताए । उनले मधेस प्रदेश सरकार खेल विकासको लागि आफ्नो तहबाट काम गरिरहेको बताए । मन्त्री जयसवालले वीरगंजको नारायणी क्रिकेट मैदानमा चाँडै एलिट कप र मधेस प्रिमियर लिग आयोजना भइरहेकाले मधेसमा क्रिकेटर उत्पादनमा सघाउने बताए ।
कार्यक्रममा राष्ट्रिय अन्डर–१९ महिला टोलीकी कप्तान पूजा महतो र ओपनिङ ब्याटर साना परवीणलगायतले क्रिकेटबारेमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पर्साका सामुदायिक तथा निजी विद्यालयका करीब २५० जना छात्राहरूलाई आठवटा समूहमा विभाजन गरी क्रिकेटको कला सिकाइएको थियो ।
कार्यक्रमबाट क्रिकेट खेलप्रति छात्रालाई उत्प्रेरित गर्न र पर्सा क्यानको महिला टीम बनाउन मदत पुग्ने नेपाल क्यानका अप्रेशन म्यानेजर विनोद दासले बताए ।
क्यान पर्साका अध्यक्ष मनीष सिंहको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका सेलेक्टर मुर्तुजा हवारी, पर्सा क्रियो कार्यक्रमका संयोजक वासुदेवलाल कर्ण, क्यानका पूर्वकेस दाउद अन्सारी, पर्साका सचिव घनश्याम गुप्तालगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण ट्यालेन्ट हन्ट पर्साका संयोजक अमित आलोकले गरेका थिए ।