रामेश्वर मेहता, सिम्रौनगढ, ८ पुस/
हरिया तरकारीको लागि चर्चित बाराको सिम्रौनगढ, पचरौता नगरपालिकालगायत क्षेत्रमा अहिले हरिया तरकारीहरू सस्ता हुँदैछन् ।
पर्सा, बारा, रौतहट, मकवानपुर, काठमाडौंसम्म निर्यात हुने यहाँका हरिया तरकारीहरूको मूल्य असोज ११ र १२ गतेको बाढीपछि बढेको थियो । त्यसपछि गढीमाई मेलामा हरिया तरकारीको मूल्य झनै आकाशियो । मङ्सिर २४ गते बलिदान सकिएसँगै अहिले हरिया तरकारीको मूल्य घट्न शुरू भएको छ ।
गढीमाई मेलामा रु १५० किलोसम्म पुगेको काउली अहिले रु ५० प्रतिकिलोमा झरेको छ । बन्दाकोभी भने रु १० महँगो भएको छ । रु ४० मा पाउने बन्दाकोभी अहिले रु ५० मा बिक्री भइरहेको छ । गोलभेंडा पहिलेको तुलनामा प्रतिकिलो रु ५० घटेको छ । बाढी र मेलाको समयमा रु १३० प्रतिकिलोसम्म पुगेको गोलभेंडा अहिले रु ८० प्रतिकिलोमा बिक्री भइरहेको छ । हरियो केराउको मूल्य पनि घटेको छ । रु २४० पुगेको हरियो केराउ अहिले रु १३० मा झरेको छ । रु ८० पर्ने लौका अहिले रु ६० मा झरेको छ भने आलुको मूल्य यथावत् छ । रु ६० प्रतिकिलोमा आलु बिक्री भइरहेको छ । करैलाको मूल्यमा वृद्धि भएको छ । रु १०० प्रतिकिलोमा पाइने करैला अहिले रु १३० पुगेको छ । मूला रु ४० बाट झरेर रु १५ भएको छ ।
हरियो सागको मूल्य पनि घट्दो छ । बथुवाको साग रु ४०० बाट अहिले प्रतिकिलो रु १०० मा झरेको छ । पालक, मेथी, चमसुर, रायो साग प्रतिपुला रु १० मा बिक्री भइरहेको छ ।