प्रस, पोखरिया, ६ पुस/
पर्सा जिल्लामा अहिलेसम्म परम्परागतरूपमै खेती हुँदै आएको छ र यसको आधुनिकीकरण हुन सकेको छैन ।

कृषिमा आधुनिकीकरणको लागि सरकारले ठूलो लगानी गर्दै त्यसको सहजीकरणको लागि जिल्लास्तरमा कृषि ज्ञान केन्द्र कार्यालय स्थापना गरेको छ तर यो कार्यालयले अहिलेसम्म कृषि आधुनिकीकरणको नाममा जिल्लाका कृषकलाई परामर्श दिनेबाहेक अन्य काम गर्न सकेको छैन । जसले गर्दा यहाँका कृषकहरू अहिलेसम्म पराम्परागत खेती गर्दै आएका छन् ।

डेढ दशकदेखि पर्सा जिल्लामा यन्त्रबाट धान रोपाइँको प्रदर्शन मात्र भइरहेको छ । प्रत्येक वर्ष धान दिवसको दिन असार १५ गते पर्सा जिल्लाको विभिन्न पालिकामा यन्त्रबाट धान रोपाइँ प्रदर्शनी मात्र गरिएको छ । अहिलेसम्म कुनै पनि किसानले यन्त्रबाट धान रोप्ने कार्य गरेका छैनन् ।

कृषि ज्ञान केन्द्र, पर्साका बाली संरक्षण अधिकृत उमेश थापा यो कुरा स्वीकार गर्दछन् । उनले धानखेतीको लागि यन्त्रबाट बीउ रोपेर प्रदर्शन गर्नेबाहेक काम नभएको बताए । उनले लामो समयदेखि यन्त्रबाट धान रोप्दा सजिलो भएको कुरा किसानलाई अवगत गराउँदै आएको तर अहिलेसम्म कुनै पनि पालिकामा किसानले यन्त्रबाट रोपाइँ नगरेको बताए ।

बाली संरक्षण अधिकृत थापाले पर्सा जिल्लामा धान, गहुँ कटानीमा प्रविधिको प्रयोग देखिएको बताएका छन् । उनले हार्भेस्टर, रिपरबाट किसानहरूले धान, गहुँबाली कटानी गरेको बताए । उनले सिंचाइमा परम्परागत नहर, कुलो र पम्पसेटबाट सिंचाइ गर्दै आएकोमा विगत केही वर्षदेखि बोरिङ जडान गर्ने, मोटरको प्रयोग र कृषि मिटरबाट सिंचाइ गर्ने काम गर्दै आएको बताए ।

कीटनाशक औषधि स्प्रे गर्नेबाहेक पर्सा जिल्लाले कृषि आधुनिकीकरणको क्षेत्रमा कुनै फड्को नमाारेको बताएका छन् । पर्सा जिल्लामा मुख्यतः धान, मकै, गहुँ, जौ, आलु, उखु, तोरी, दलहन, हरियो तरकारी, आँप, केरा, अदुवा, बेसार आदिको खेती गरिन्छ । यी सबै खेती परम्परागत ढाँचामैं हुँदै आएको छ र यसले आधुनिकता पाउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here