“मेरो कथा पनि अचम्मको छ । मानिस विदेशमा आएर रमाएर बस्छन् । मलाई विदेशको बास पटक्कै मन परेको छैन । म अमेरिका आएको २० वर्ष भयो तर यो २० वर्षमा म कहिले पनि यहाँ रमाउन सकिनँ । हरेक दिन मात्र होइन, हरेक पल आजै नेपाल फर्किन पाए हुन्थ्यो जस्तो सोच आइरहन्छ । यति साधनसम्पन्न, सुविधायुक्त जीवन पाएर पनि किन विदेशमा म रमाउन नसके होला ?”
मेरो यो भनाइमा थप्दै काकाले भन्नुभयो, “तपाईंलाई जति स्वदेशको माया लाग्छ, त्योभन्दा कम मलाई पनि लाग्दैन । म त झनै हरपल नेपाल नामको माला जपेर बसेको छु ।”
काकाको त्यो कुराले मलाई अलि उत्साहित तुल्यायो । मैले भनें, “हो नि काका १ चाडबाड आयो कि नेपालको यादले सताउन थाल्छ । विदेशमा बस्दा न दशैं आएको थाहा हुन्छ, न तिहार आएको । न फागु आएको थाहा हुन्छ, न त शिवरात्रि नै । जहिले पनि कोठामा एक्लो भएर बस्नुपर्ने । एक्लै दिन काट्नुपर्ने । परिवारमा हामी दुईजना छौं । मेरो वाइफको रात्रिको ड्युटी छ, मेरो दिउँसोको छ । दुवैजना सँगै बस्ने दिन हप्तामा एक/दुई दिन मात्र हुन्छ । के बाँच्नु यस्तो एकाकी जीवन १ म बसेको शहरमा त हामीबाहेक अर्काे एउटा पनि नेपाली परिवार छैन । कहिलेकाहीं वाइफको पाँच दिन लगालग काम पर्दा नेपाली न बोलेको मात्र होइन, कसैसँग कुरा नगरेको पनि पाँच दिन हुन्छ किनभने मैले पनि कहिलेकाही हप्ताभरि घरमा नै बसेर अनलाइन काम गर्नुपर्ने हुन्छ ।”
मेरो भनाइमा काकाले यसरी थप्नुभयो, “के बस्नु यहाँ जेलको कैदी जस्तो भएर । दुई छाक ढुक्कसँग खान र सुविधयुक्त जीवन बिताउन आफ्नो देश नै त्याग्ने स्थिति मलाई पटक्कै मन परेको छैन । दुई छाक ढुक्कसँग खानका लागि आफ्नो समाज त्यागेर, चन्द्रमामा गएर, एक्लै बसेको स्थिति छ हाम्रो । मैले त मेरो वाइफलाई प्रस्ट गरी भनिदिएको छु, अब दुई वर्ष मात्र अमेरिका बस्ने हो । त्यसपछि अमेरिका त्यागेर, सुविधायुक्त जीवन नै भएपनि यो जीवन त्यागेर, नेपाल जाने हो । होइन, किन नेपालीहरू भेडाको बथान जस्तो, एउटा भेडा अगाडि हिंडेपछि बाँकी सबै भेडा पछिपछि हिंडे जस्तो ? बाँकीका भेडाले उचित बाटो नखोजेर अगाडिको भेडा खाल्डोमा खस्दा पनि बाँकी भेडा सोच्दै न सोची पहिलो भेडा खसेको ठाउँमा खसे जस्तो ? होइन, नेपालीहरू किन यसरी भेडा जस्तो खाल्डोमा खसेका होलान् ? किन विदेश स्वर्ग नै हो जस्तो गरेर यसभित्र पसेका होलान् ?”
काकाको कुरा सुनेपछि, विदेशको एकाकी जीवनबाट काका पनि मजस्तै विरक्तिएको मलाई विश्वास भयो । मेरो र काकाको विचार मिलेको पाएर मलाई खुशी लाग्यो पनि । एउटा दुःखीले अर्काे दुःखीको दुःख सुनेर आफ्नो दुःख कम भएको महसूस गरेझैं मैले पनि मेरो दुःख केही कम भएको महसूस गरें ।
हामी लुजियाना राज्यको बेटनरूज शहरमा बस्ने एक नेपाली, जीवन लामाको घरमा दशैं मनाउन भेला भएका थियौं । दशैंको भोजको आयोजना जीवन लामाले गरेका थिए । मेरो घनिष्ठ मित्र जीवन लामाको निम्तो मान्न म ओक्लहोमा सिटीबाट बेटनरूज पुगेको थिएँ । सन् २०१९ को दशैं मङ्गलवारका दिन परे तापनि विकडेजमा सबैको काम पर्ने हुनाले विकइन्डमा, शनिवारका दिन, दशैं मनाउने निर्णय जीवनले गरेका थिए । त्यो दशैं भोजमा बेटनरूज र बाहिरका गरी ५० जना जति नेपाली र केही भारतीयहरूको उपस्थिति थियो । त्यो भोजमा नै जीवनले काकासँग मेरो परिचय गराइदिएका थिए । काका बेटनरूजमा बस्थे । त्यहाँ उपस्थित सबैले उनलाई काका, काका भनेको हुनाले मैले पनि काका नै भनेर सम्बोधन गरेको थिएँ । काकाको पूरा नाम भने महेन्द्रबहादुर कार्की थियो । उमेरले ६० काटेको देखिन्थ्ये ।
काका र मबीच हुने कुराकानीमा जीवन निरन्तर सामेल नभए तापनि बेलाबेलामा हामीबीच भइरहेको गफ सुन्ने काम भने जीवनले गरिरहेका थिए । उनी बेलाबेलामा हामीनजीक आउँथे ।
एकपटक जीवनले मलाई भनेका थिए, “काकाको कुरा सुन, विश्वास । रमाइलो कुरा गर्नुहुन्छ, काकाले ।”
पत्नी र आफू गरी दुईजनाको परिवार लिएर काका बेटनरूजमा बसेको १०/१५्र वर्ष भएको रहेछ । काकाका परिवारका अन्य सदस्यहरू नेपालमा नै रहेछन् । काका र काकीको स्थानीय रेस्टुरेन्टको कमाइले जिन्दगी राम्रो नै चलेको थियो । दुवैले कूकको काम गरेका रहेछन् । स्वदेशमा हुँदा काका नेपालको पश्चिमी जिल्लाको एक विद्यालयमा प्रधानाध्यापक थिए । काकासँगको कुराकानीको क्रममा मैले उनको बारेमा थाहा पाएको यति थियो । काका अति नै स्वदेशप्रेमी रहेको भन्ने उनको कुराकानीबाट थाहा पाएको थिएँ । त्यस कारण पनि म उनीसँग कुराकानी गर्न थप उत्साहित भएको थिएँ ।
“के गर्नुहुन्छ ? नेपालबाट आउनुभएको कति भयो ?” काकाले मलाई सोध्नुभएको यो प्रश्नले मेरो दुःखको पेटारो खोल्ने सही मौका बल्ल मिलेको अनुभव मलाई बलियो गरी भयो ।
मैले भनें, “काका म नेपालबाट आएको २० वर्ष भयो । सन् १९९९ मा म अमेरिका आएको हो । नेपालमा हुँदा नै मैले मैथमेटिक्समा मास्टर गरेको थिएँ । अमेरिकामा आएर फेरि मेथमेटिक्समा मास्टर गरें । मास्टर गरेपछि ओक्लहोमा राज्यको एक विश्वविद्यालयबाट मैथमेटिक्समा नै पिएचडी पनि गरें । त्यसपछि ओक्लहोमाकै अर्को एक विश्वविद्यालयबाट फेरि आइटीमा मास्टर्स गरें । अहिले म ओक्लहोमा राज्यको एक स्थानीय बैंकको आइटी डिपार्टमेन्टमा काम गर्छु ।”
“म मैथमेटिक्सको मान्छे, आइटीमा मैले काम गरेको मलाई नै पटक्कै मन परेको छैन । तर के गर्ने ? पाएको जागीर त गर्नै प¥यो । बाँच्नु त प¥यो नि … होइन र ? तर मेरो इच्छा भने कलेजमा टिचिङ गर्ने थियो र छ, अहिले पनि छ,” मैले थपें ।
“तपाईं जस्तो अति क्वालिफाइड मान्छे किन अमेरिकामा बसेको होला ? नेपाल जानुहोस् । नेपाल जानुभयो भने कम्तीमा पनि, यो समयमा, महीनाको एक लाख रुपियाँ पाउने जागीर तत्काल पाउनुहुन्छ, तपाईंले । के भन्ठान्नुभएको छ ? नेपाल अब पहिले जस्तो छैन । नेपाल, अब पहिलेको नेपाल रहेन । धेरै विकास भएको छ । नेपालको अहिलेको स्थिति देखेर मजस्तो सामान्य मान्छे त नेपाल फर्किने दृढ विचारमा छु,” मेरो कुरा पूरा हुन नदिइकन नै काकाले भन्नुभयो ।
मैले भनें, “ठीक भन्नुभयो काका । म विदेशको एकाकी जीवनबाट दिक्दार भइसकेको छु । आफ्नो रहनसहन, आफ्नो परम्परा, समाज त्यागेर पैसाको लागि विदेशमा कति बिताउनु रविन्सन क्रुसोको जिन्दगी ? पाएको एउटा ७०/८० वर्षे जीवन पनि विदेशमा बिताएर किन बर्बाद गर्ने ? अब त लाग्छ आफू जन्मे हुर्केको ठाउँमा, खेले बढेको ठाउँमा, जीवन बिताउन पाउनु ठूलो कुरा रहेछ । भाग्यमा लेखिनुपर्ने रहेछ, यो त । होइन र ? मान्छेहरू खुश भएर कसरी बस्न सकेका छन् विदेशमा ? आफ्नो नाता, कुटुम्बलाई कसरी छाड्न सकेका छन्, स्वदेशमा ? नाता, कुटुम्ब त्यागेर नेपालीहरू कसरी विदेशमा रमाएर बस्न सकेका छन् भन्ने विषयमा मलाई थप अर्काे पिएचडी गर्न मन लागेको छ ।”
“हेर्नुस्, आफ्नो समाज भनेको आफ्नै समाज हो । आफ्नो समाजमा बस्दा दुईजनाबीच कुरा हुँदा सन्दर्भ मिल्छ, कुरा अगाडि बढ्छ । सुख, दुःख, हर्ष, विस्मातका कुराहरू हुन्छन् । विदेशमा त कुरा गर्दा पनि गा¥हो । यहाँका रैथानेसँग कुरा गर्दा कुराको सन्दर्भ नै मिल्दैन । रैथानेहरूको जीवनशैली एक थरीको छ भने हाम्रो जीवनशैली अर्को थरीको । अनि यसरी दुई थरी भएपछि कसरी सन्दर्भ मिल्छ ? अनि कसरी कुराकानी अगाडि बढ्न सक्छ ? त्यस कारण यहाँका रैथानेहरूसँग हाम्रो कुरा हुँदा केवल औपचारिक कुराहरू मात्र हुन्छन् । केवल कारोबारी कुराहरू मात्र हुन्छन् ? होइन त काका ?” मैले भनाइलाई निरन्तरता दिएँ ।
“कस्तो अचम्म १ यहाँ बसेको २० वर्ष भयो, यो २० वर्षमा, आफू बसेको यो ठाउँ कहिले आफ्नो ठाउँ जस्तो लागेन ? यहाँको सडक, पार्क, भवन, बस्ती, हावा, पानी कहिले आफ्नो जस्तो लागेन । किन यस्तो भएको होला ? कहिले म आफू किन यस्तो भएको होला भनेर आफैसँग प्रश्न गर्छु । म किन यति राष्ट्रवादी भएको होला भनेर अचम्म पनि लाग्छ । मेरो मनोविज्ञान त्यस्तो किन भएको होला । मलाई किन यस्तो लागेको होला, काका ?” मैले भनें ।
काकाले भन्नुभयो, “मलाई पनि ठ्याक्कै तपाईं जस्तो लाग्छ, यो विदेशको बसाइ ।” यति भनेर काकाले मतिर एकछिनसम्म हेर्नुभयो पनि ।
जीवनले केहीबेर पहिलेदेखि हाम्रो कुराकानी परबाट तर निकै ध्यान दिएर सुनेको मैल अनुभव गरें । तर मैले कुरा गर्न उनलाई इशारा गर्नुपूर्व नै उनी डाइनिङ रूमतिर पसे । मैले जीवनसँग कुरा गर्न पाइनँ ।
काकातिर हेर्दै मेलै भनें, “काका, एउटा अचम्मको कुरा भन्छु तपाईंलाई । म छ महीना पहिले काठमाडौं गएको थिएँ, त्यहाँ पुगेर मैले अनौठो अनुभव गरें । अति नै अनौठो र पत्याउन पनि कठिन छ मेरो त्यो अनुभव ।”
काकाले हत्तारिंदै भन्नुभयो, “के त्यस्तो अनुभव गर्नुभयो, काठमाडौं पुगेर ?”
मैले भनें, “काठमाडौं एयरपोर्टमा झरेपछि इमिग्रेशन, भन्सारको झन्झट सक्याएर टेक्सी समात्न गएँ । टेक्सी ड्राइभरहरूले मेरो टेक्सीमा चढ्नुहोस्, मेरो टेक्सीमा चढ्नुहोस् भन्दै मेरो हात नै तान्न थाले । त्यहाँ मेरो हात तानातान भयो । तर टेक्सी ड्राइभरहरूले त्यसरी मेरो हात तानातान गर्दा मलाई पटक्कै नरमाइलो लागेन । रिस पनि उठेन । काठमाडौं पुगेको दिनको साँझ, आफ्नो डेरा जडीबुटीबाट बस चढेर नयाँ सडक पुगें । बसमा खुट्टा राख्ने ठाउँ थिएन । जति मान्छे सीटमा बसेका थिए, त्योभन्दा बढी उभिएका थिए । बसभित्र अति नै भीड थियो । सासै थुनिएला जस्तो भएर बल्लबल्ल म नयाँ सडक पुगें । तर मलाई त्यस्तो अवस्थामा पनि, बसभित्र पटक्कै नरमाइलो लागेन । धेरै वर्षपछि नेपाल गाएको हुनाले इन्द्रचोक, असनतिर गएँ । त्यतातिर हिंड्न पनि गा¥हो थियो, त्यस्तो भीड थियो । भीडमा हिंडिरहेको बेला, कतिपय समयमा, मानिसले मेरो खुट्टा पनि कुल्चिदिए । तर मलाई नराम्रो लागेन । उल्टो, राम्रो नै लाग्यो । किन होला ?”
“किन होला,” काकाले प्रतिप्रश्न गर्नुभयो ।
मैले भनें, “काका, धेरै वर्ष भएको थियो । मैले त्यति धेरै मान्छे एकै ठाउँमा देखेको थिइनँ ? अमेरिकाको एकाकी जीवनमा कहाँ त्यतिधेरै मानिस एकै ठाउँमा देख्न सक्नु ? त्यति मान्छेहरू देखेर मलाई अति नै रमाइलो लागिरहेको थियो । १० वर्ष भएको थियो म नेपाल नगएको, भीडभाड नदेखेको । त्यस कारण म त झन् भीड भएको ठाउँ खोजीखोजी, भीडमा पसिरहेको थिएँ । आफू भीडभित्र हराउँदा औधी आनन्द आइरहेको थियो । कति आनन्द आएको थियो भन्ने कुरा म शब्दमा व्यक्त गर्न सक्तिनँ,” मैले थपें, “म अमेरिकाको एक सानो शहरमा बस्छु । त्यहाँ मानिस सडकमा हिंडेको देखिंदैन । सबैजना केवल कारमा चढेर एक ठाउँबाट अर्काे ठाउँ पुग्छन् । मान्छेहरू भेट्ने भनेको केवल पसलहरूमा मात्र हो । काकालाई आश्चर्य लाग्ला, म बसेको शहरमा, कतिपय ठाउँमा केवल गाडी गुड्ने पिच सडक मात्र छ । मान्छे हिंड्ने फूटपाथ छैन । मान्छेहरू हिंड्दैनन्, केवल कारमा मात्र चढेर ओहोरदोहोर गर्छन् भन्ने सोचेर होला मान्छे हिंड्ने फूटपाथ बनाइएको छैन । त्यस कारण सडकमा केवल गाडीहरू दौडिएका देखिन्छन् । मान्छेहरू हिंडेको पटक्कै देखिंदैन । कस्तो अचम्म !”
“तपाईंको अनुभव पनि गज्जब रहेछ । राष्ट्रभक्ति पनि गज्जबको रहेछ । तपाईंको कुरा सुनेर मलाई त झन् एक वर्षभित्रमा नै नेपाल जाउँजाउँ जस्तो लाग्यो ।” यति भनेर काका रेस्टरूमतिर पस्नुभयो । काका रेस्टरूमतिर पस्नु र जीवन मनजीक आउनु एकैपटक भयो । यो संयोग जस्तो मलाई लागेन । बरु लाग्यो कुन बेला काका रेस्टरूमतिर जालान् र म एक्लो रहुँला र मसँग कुरा गर्न सजिलो होला भन्ने दाउ जीवनले पर्खे जस्तो ।
जीवन मनजीक आए अनि मेरो काँधमा हात राख्दै भने, “यो काकाको कुरा नपत्याउनु है साथी । यिनी दिमाग चाट्ने मानिस हुन् । अरूको दिमाग भुट्नमा खप्पिस छन् । यिनी नेपाल कहिले जानेवाला छैनन् । आउन त यिनी १० वटा दिमाग लगाएर अमेरिका आएका हुन् । अनि कसरी जान्छन् होला ? यिनको राष्ट्रवाद पनि हात्तीको देखाउन दाँत जस्तो हो । तर अरूलाई आफू राष्ट्रवादी हो भन्छन्, नेपाल फर्किने कुरा गर्छन् ।”
“हो र,” मैले आश्चर्य मान्दै भनें ।
जीवनले भने, “यी काका एक विद्यालयमा प्रधानाध्यापक थिए । तर माओवादी सङ्घर्षको बेला विद्यालयको काममा कम माओवादी आन्दोलनमा बढी लागेका थिए । मान्छेहरूले भने अनुसार यिनी माओवादीको जिल्लास्तरीय नेता थिए रे । माओवादी भएर ठूलै फाइदा उठाएका थिए । पछि २०६३ सालमा माओवादी मूलधारको राजनीतिमा आएपछि यिनी काठमाडौंमा नै बस्न थाले । कताबाट के दाउ लगाए कुन्नि, यी काका टुरिस्ट भिसामा अमेरिका आए । अमेरिका आएर माओवादीपीडित हुँ भन्दै शरणार्थीको दर्जा पाउन निवेदन हाले । अहिले यिनी शरणार्थी बनेर अमेरिकामा बसेका छन् । सुने अनुसार यिनले ग्रीनकार्ड पनि पाइसकेका छन्, रे । काकाको बारेमा त्यस्तै यस्तै मैले सुनेको छु ।”
“यी काका चालू छन् । यिनको कुरा सुनेर कुनै ठोस निर्णय नलिनु, है,” जीवनले थपे ।
जीवनको मुहारतिर हेर्दै मैले आश्चर्य मानेर भने, “जीवन, हो र … ।”
जीवनले पनि लेघ्रो तानेर मसँग आँखामा आँखा जुधाउँदै भने, “हो नि … ।”
काका रेस्टरूमबाट हामीतिर आउँदै गरेको देखेपछि जीवन अन्यत्र लाग्ने तरखरमा लागेको मलाई लाग्यो । तर काका हामीतिर आएनन् । कता हराए । म काकालाई खोज्नतिर लागें । काका लिभिङ रूमको एउटा कुनामा १०/१५ जनाबीच हुनुहुनथ्यो। छेउछाउका मान्छेहरूलाई केही भन्दै हुनुहुन्थ्यो । म अलि पर भएकोले उहाँका सबै कुरा सुन्न त मैले पाइनँ । “देशभक्ति त मर्दैन चुथ्यै देश भएपनि,” काकाले जोडजोडले भनेको राम्ररी सुनें । हालः अमेरिका साभारः समकालीन साहित्य