नरेश यादव, पर्सागढी, ४ पुस/
बहुदरमाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयका विद्यार्थीहरूले दोस्रो त्रैमासिक परीक्षामा विलम्ब भएको भन्दै बिहीवार आन्दोलन गरेका छन् ।
प्रत्येक तीन महीनामा लिइनुपर्ने परीक्षा अहिले दोस्रो त्रैमासिक परीक्षा नलिएको भन्दै उनीहरूले आज प्रदर्शन गरेका हुन् । बहुदरमाई नपामा १८ वटा सामुदायिक विद्यालय छन् । ११ वटा प्रावि, एउटा निमावि र छवटा मावि विद्यालय रहेको यो नपामा अहिले एउटा मात्र विद्यालयले दोस्रो त्रैमासिक परीक्षाको सूची प्रकाशन गरेको छ ।
नगरप्रमुख सिंगासन साह तेलीले एउटा विद्यालयले परीक्षा तालिका प्रकाशन गरेको र अरू विद्यालयले पनि क्रमशः निकाल्दै जाने बताए । उनले त्यसका लागि पहल भइरहेको जानकारी गराएका छन् । तर शिक्षा प्रमुख प्रमोद यादवले पालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरूले साउनदेखि अहिलेसम्म तलब नपाएका र विद्यालयमा अतिरिक्त क्रियाकलापको लागि छुट्टै बजेट नभएको कारण परीक्षामा विलम्ब भएको बताए । उनले केही विद्यालयले आन्तरिक स्रोतबाट परीक्षा सम्पन्न गर्नेगरी तयारी गरेको तर अधिकांश विद्यालयलाई पालिकाबाट सहयोग नहुँदा परीक्षा प्रभावित भएको बताए ।
बहुदरमाई नपामा नगरसभा सम्पन्न भइसकेको छ । तर नगरप्रमुख र उपप्रमुखबीचको मनमुटावले खाता सञ्चालनमा आउन सकेको छैन । नगरप्रमुखले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा नगरसभा सम्पन्न भएको विवरण नपठाएका कारण अहिलेसम्म नपाको खाता सञ्चालनमा आउन नसकेको हो । यो पालिकामा कर्मचारी भर्नासम्बन्धी विवाद भएर नगरप्रमुखले विवरण नपठाएका हुन् ।
स्वास्थ्यकर्मी नियुक्तिको विषयलाई लिएर नगरप्रमुखले असहमति जनाउँदै आएको र यही विषयलाई लिएर खाता सञ्चालनमा आउन नसकेको बताइन्छ । सामाजिक सुरक्षा भत्ताबाहेक अन्य खाता सञ्चालन नहुँदा नपाको आर्थिक कारोबार ठप्प छ ।
कर्मचारीहरूले तलब पाएका छैनन्, ठेकेदारहरूले भुक्तानी पाएका छैनन् र नगरको विकास पूर्णरूपमा ठप्प छ ।