प्रस, वीरगंज, ४ पुस/
वीरगंज महानगरपालिका–१९ विन्ध्यवासिनी टोल हुँदै नहर निस्कने बाटो निर्माणका लागि सडक क्षेत्रको जग्गा छुट्याइएको छ । आगामी बुधवारबाट महानगरपालिकाले सडक निर्माण हुने क्षेत्रको जग्गा नापजाँच गरेर छुट्याएको छ ।
६५० मिटर लामो नालासहित कालोपत्र सडक निर्माणको लागि शमा/विनोद साह जेभी निर्माण कम्पनीले रु ११ करोड ४५ लाखमा ठेक्का सकार गरेको छ ।
सडक निर्माणका लागि साइट क्लियरेन्स गर्न महानगरपालिकाको सार्वजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजकसमेत रहेका वडाध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा अमीनसहितको टोली खटेकोे थियो । वडा नं १९ का अध्यक्ष मुकेश चौरसियाको रोहबरमा नक्शा अनुसार सडकका दुवै किनारातर्फको क्षेत्र छुट्याइएको टोलीमा खटिएका महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेलले बताएका छन् ।
सडकको काम चाँडो टुङ्गो लगाउन सार्वजनिक अतिक्रमण नियन्त्रण समिति टोलीसहित सडक अतिक्रमण हटाउन विन्ध्यवासिनी पुगेको थियो । अतिक्रमण हटाएर सीमा क्षेत्र छुट्याएसँगै निर्माण कम्पनीले निर्माण सामग्री झारेर निर्माण कार्य शुरू गरेको छ ।