प्रस, पोखरिया, २ पुस/
जीराभवानी गाउँपालिकास्थित नेरामावि पटकुइया, वसन्तपुरमा अध्ययनरत बालविकासदेखि कक्षा चारसम्मका विद्यार्थीहरू चीसोमा पनि भुइँमा बसेर अध्ययन गर्न बाध्य छन् ।

४९ वर्ष पुरानो यो विद्यालय आगामी वर्ष ५० वर्ष पूरा गरी स्वर्णजयन्ती मनाउने तयारीमा छ । शुरूका दिनमा बालविकासदेखि कक्षा चारसम्मका विद्यार्थीहरूका लागि भवन अभावले रूखमुनि बसेर अध्यापन गराइन्थ्यो ।

करीब दुई वर्ष अघि गाउँपालिकाले बालविकासदेखि कक्षा चारसम्मका विद्यार्थीका लागि चार कोठे भवन निर्माण गरेको छ । तर सो भवन अहिलेसम्म अधूरो नै छ । प्लास्टर भएको छैन । बिजुलीबत्ती जडान छैन र झ्यालढोका पनि जडान गरिएको छैन ।

विद्यार्थीहरू फर्निचर अभावमा भुइँमा बसेर चीसोमा अध्ययन गरिरहेका छन् । सो विद्यालयको तथ्याङ्क अनुसार बालविकासदेखि कक्षा चारसम्म १५६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरूले घरबाटै बोरा ल्याउँछन् र बिछ्याएर अध्ययन गर्छन् । गर्मीमा खासै समस्या नभए पनि जाडोको मौसममा भुइँमा बसेर अध्ययन गर्दा खुला झ्याल र ढोकाबाट चीसो हावाका कारण चीसोले विद्यार्थीहरू समस्यामा छन् ।

कक्षा पाँचदेखि १० सम्मका विद्यार्थीहरूलाई भने सुविधासम्पन्न डेस्क–बेन्चसहितको कक्षा कोठामा अध्ययन गराइन्छ ।

विद्यालयका प्रधानाध्यापक कृपासिन्धुप्रसाद पटवारीले पालिकालाई यसबारेमा अवगत गराएको बताए । उनले पालिकाले बजेट अभाव देखाएको र बजेट आउनासाथ निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here