प्रस, जनकपुर, २ पुस/
धनुषा जिल्ला विदेह नगरपालिका–५ निवासी ४० वर्षीया रामपरिदेवी ठाकुरको हत्यामा संलग्न एकजनालाई पक्राउ गरी मङ्गलवार जिल्ला प्रहरी कार्यालय, धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

गत मङ्सिर १८ गते रामपरिदेवी घाँस काट्न गएकी थिइन् । त्यसको भोलिपल्ट शहीद नगरपालिका–७ स्थित शिवनारायण मण्डलको धान खेतमा उनको टाउको र शरीर अलग भएको अवस्थामा शव बरामद भएको थियो ।

रामपरिदेवीको हत्यामा संलग्न रहेको आरोपमा विदेह नगरपालिका–५ मुरिबाकी निवासी ५० वर्षीय सगमलाल पासवानलाई पक्राउ गरिएको जिप्रका, धनुषाले जनाएको छ ।

पक्राउ परेका सगमलालको घर खानतलाशी गर्दा सुटकेशमा लुकाइएको नीलो पाइन्ट, हरियो भेस्ट, पहेंलो ज्याकेटलगायत सामग्री बरामद भएको प्रहरी उपरीक भुवनेश्वर तिवारीले बताए । उनले मृतक रामपरिदेवीसँग हत्या अघि सगमलालको फोन सम्पर्क हुने गरेको पाइएपछि यसबारेमा अनुसन्धान अगाडि बढाइएको र घर खानतलाशी गर्दा प्रमाण फेला परेपछि पक्राउ गरिएको बताए । घटनाबारे अनुसन्धान जारी रहेको प्रउ तिवारीले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here