प्रस, वीरगंज, १ पुस/
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससहित पक्राउ परेका एकजना नायब सुब्बाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय, महोत्तरीका नायब सुब्बा अशोककुमार यादवविरुद्ध अख्तियारले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सवारी ज्यान कसूर मुद्दामा मृतकको नजीकको हकदारले पाउनुपर्ने काजकिरिया खर्च तथा क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी घूस मागेको अभियोगमा अख्तियारको टोलीले यादवलाई रु २० हजारसहित रङ्गेहात पक्राउ गरेको थियो । उनले सेवाग्राहीबाट २० हजार घूस लिएको पुष्टि भएकाले कानूनबमोजिम कैद सजाय गरी बिगोबमोजिम जरिवाना सजाय गर्न मागदाबी लिई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी गराएका छन् ।