पहेंलो तोरी फुल्ने मौसमले कृषकका लागि आशा र भरोसा जगाउँछ । तोरीखेती नेपालको ग्रामीण अर्थतन्त्र र कृषिमा आत्मनिर्भरता कायम गर्न सक्ने बलियो आधार हो । मुलुकमा भइरहेको तोरीखेतीले नेपालका माग र आवश्यकता पूरा गर्न भने सकेको छैन । तोरीखेती मुलुकको तराईदेखि पहाडसम्मका भूभागमा गरिन्छ । यसका प्रमुख उत्पादक जिल्ला चितवन, बारा, पर्सा, झापा, मोरङ, रूपन्देही, कपिलवस्तु, महोत्तरी, कैलाली र बाँके हुन् । यी क्षेत्रमा तोरीखेती गर्ने परम्परागत अभ्यास, उर्वरभूमि र अनुकूल हावापानीले उत्पादन सहज छ । नेपालमा करीब ६५ हजार हेक्टर क्षेत्रफलमा मात्रै तोरीखेती हुन्छ । यो क्षेत्रफल तोरीखेतीका लागि मुलुकमा सम्भावित क्षेत्रको केवल २५ प्रतिशत मात्र हो । खेती हुन सक्ने जमीन भएपनि तोरीखेतीको विस्तार हुन सकेको छैन । किसानहरूमा जागरूकताको कमी, आधुनिक प्रविधिको अभाव र बजारमा उचित मूल्य नपाउने समस्या प्रमुख हुन् । मुलुकमा वार्षिक करीब दुई लाख टन तोरी उत्पादन हुन्छ । तर यसको उत्पादकत्व राष्ट्रिय आवश्यकता धान्न पर्याप्त छैन । नेपालको वार्षिक खानेतेलको माग करीब दुई लाख ५० हजार टन छ । तर तोरीबाट उत्पादित तेलले केवल ३० प्रतिशत मात्रै योगदान दिन सकेको छ । बाँकी ७० प्रतिशत तेल भारत, मलेशिया र अन्य मुलुकहरूबाट आयात गरिंदै आएको छ ।
खानेतेल आयातका लागि वार्षिक ३५ अर्ब रुपैयाँभन्दा बढी मुद्रा खर्च हुने गरेको तथ्यले आयात निर्भरता ठूलो छ भन्ने देखाउँछ । यस्तो अवस्था कृषिमा आधारित देशका लागि निराशाजनक हो । तोरीखेतीलाई प्राथमिकतामा राख्न सकियो भने मुलुकले धेरै फाइदा लिन सक्छ । तोरीखेती विस्तार गरे तेल आयात घट्नेछ, जसले देशको व्यापार घाटा कम गर्न सहयोग पु¥याउँछ । त्यसैगरी, तोरीखेतीले किसानहरूलाई रोजगार र आम्दानीको स्रोत उपलब्ध गराउँछ । तोरी पेलिसकेपछि बाँकी रहेको खली जनावरको आहारका लागि उपयोगी पौष्टिक आहार पनि हो । तोरीखेतीले जमीनको उर्वराशक्ति बढाउन र पर्यावरणीय सन्तुलन कायम गर्न सहयोग पु¥याउँछ । तोरीखेतीलाई प्रभावकारी बनाउन केही ठोस रणनीतिहरू अपनाउनु जरुरी छ, तोरीखेतीका लागि उन्नत जातको बीउ विकास गर्न सरकारले अनुसन्धानमा लगानी गर्नुपर्छ ।
किसानलाई उन्नत बीउ, मल र सिंचाइमा पहुँच उपलब्ध गराउन स्थानीय सरकारले पहल गर्नुपर्छ । यस खेती प्रविधिका नयाँ विधिहरूमा किसानलाई प्रशिक्षण दिनु अत्यावश्यक छ । यसका साथै किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था गर्न सरकारीस्तरबाट बजार व्यवस्थापन आवश्यक छ । तोरीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेर किसानलाई घाटा हुने अवस्था रोक्नुपर्छ । तोरीखेतीका लागि सरकारले अनुदान, सुलभ कर्जा र बीमा योजना ल्याउनु आवश्यक छ । हाम्रो मुलुकमा तोरीखेती गर्न सकिने धेरै क्षेत्र बाँझो छन् । यी क्षेत्रलाई खेतीयोग्य बनाउन नीतिगत कदम चाल्न सक्नुपर्छ । अतः तोरीखेतीले नेपाललाई आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अग्रसर गराउन सहयोग पु¥याउँछ । यसका लागि दीर्घकालीन योजना, सरकारको प्रभावकारी नीतिगत हस्तक्षेप र किसानको सक्रिय सहभागिता अपरिहार्य छ । तोरीखेती विस्तार गरेर तेल आयातमा निर्भरता घटाउनुका साथै किसानको आयस्तर र ग्रामीण अर्थतन्त्र सुधार्न सकिन्छ । तोरीको फूल नेपालका गाउँले क्षेत्रको पहिचान हो । यसले देशको उज्ज्वल आर्थिक भविष्यको लागि महŒवपूर्ण योगदान दिन सक्छ ।